Comments Add Comment

झापामा कसरी थपिए एकै दिन २३ संक्रमित ?

भारतमा रेल चल्दा नेपाली सीमामा चाप, झापामा एकै दिन थपिए २३ संक्रमित

जिल्ला समन्‍वय समितिका संयोजक, प्रमुख जिल्ला अधिकारीसहितको टोली सीमा क्षेत्रको अनुगमन गर्दै ।

८ जेठ, झापा । अघिल्लो सातासम्म कचनकवल गाउँपालिकामा न कोरोना संक्रमित थिए, न क्वारेन्टाइनमा बस्नेहरु । तर, जब भारतमा रेल्वे सेवा सुरु भयो, सीमा जोडिएको यो गाउँपालिकामा घर फर्किने मजदुरहरु आउन थाले ।

यसरी सीमा क्षेत्र नजिकै आइपुगेका ३३ जनालाई स्थानीय जनप्रतिनिधिको रोहबरमा उद्धार गरियो र, पथरिया माविको क्वारेन्टाइनमा राखियो । उनीहरुको थ्रोट स्बाव संकलन गरेर कोरोना परीक्षण गर्दा १० जनाको पोजेटिभ आयो ।

संक्रमितलाई उपचारका लागि बिराटनगरस्थित कोरोना अस्पताल पठाएको पाएको थिएन, अर्को समूह सीमामा आइपुग्यो । त्यसरी आएका ६५ जनालाई लक्ष्मीप्रसाद देवकोटा माविमा राखेको थियो । उनीहरुमध्ये २३ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने बाँकीको रिपोर्ट के भयो, खबर आइपुगेको छैन ।

महेन्द्र माविका राखिएका ९५ जना र अर्को विद्यालयमा रहेका ३० जनाको परीक्षण गर्न बाँकी छ । पीसीआर विधिबाट गरिने कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन चाहिने भाइरस ट्रासपोट मेडियम (भीटीएम) को अभाव छ । यसका लागि प्रदेश र संघीय सरकारसँग हारगुहार गरे पनि अझै आइपुगेको छैन ।

तर, सीमा क्षेत्रमा भने थप नागरिक आइपुगिसकेका छन् र उनीहरु उद्धारको पर्खाइमा छन् । गाउँपालिकाको करिव ४८ किलोमिटर सीमा भारतसँग जोडिएको छ र भारतमा रेल्वे सञ्चालनमा आएसँगै मजदुरीका लागि गएका नेपालीहरु फर्किएर रहेका नागरिकहरु आफ्नो घर भएको ठाउँ नजिक सीमामा जम्मा हुन्छन् ।

‘दशजगाबाट करिव १०/१२ किलोमिटर परै भारतीय (सशस्त्र सीमा बल) एसएसबीले रोक्छन् । नेपालतर्फ पनि ५०० मिटरको दुरीमा सशस्त्र प्रहरी बल खटिएको छ’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद पौडेलले अनलाइनखबरसँग भने, ‘परिवारको सदस्य सीमा क्षेत्रमा आइपुग्यो भने उद्धार गरिदिनुपर्‍यो भनेर अभिभावकहरुले जनप्रतिनिधिलाई भन्नुहुन्छ । र, दुबैतिरका सुरक्षाकर्मीहरुले पालिकालाई नै जिम्मा लगाउने गरेको छ ।’

सीमा क्षेत्रबाट क्वारेन्टाइनस्थल नजिकै भए हिँडाएर, नभए ट्याक्टर वा अन्य सवारी साधानमा ल्याउने गरिएको छ ।

अहिलेसम्म २१२ जना आएका छन् र उनीहरुको सहजै व्यवस्थापन भएको छ । तर, भारतबाट फर्किने क्रम बढेसँगै उनीहरुलाई क्वारेन्टाइन गर्नु र कोरोना परीक्षण गराउनु चुनौतीपूर्ण हुने देखिन्छ । ‘भारतबाट फर्किनेहरुको संख्या करिव १५०० हुने जनप्रतिनिधिहरुको अनुमान छ’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेल भन्छन्, ‘वर्षा लागेको छ । स्वास्थ्यकर्मी पनि कम छन् । त्यसैले यसमा संघ र प्रदेश सरकारले पनि सहयोग गरिदिओस् ।’

उनका अनुसार भारतबाट फर्किनेहरु बढ्दा क्वारेन्टाइन गर्ने मात्र होइन, कसैलाई संक्रमण भयो भने उपचार गराउने अस्पतालको पनि अभाव हुने चिन्ता बढेको छ ।

०००

जिल्लाकै अर्को गाउँपालिका झापामा भारतबाट आउनेको संख्या यो भन्दा फरक छैन ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाका अनुसार पछिल्लो ५/६ दिनमा भारतबाट मानिसहरु समूह समूह बनाउने आउने गरेका छन् । ‘पहिलो एक–दुईजना लुकेर आउँथे । अहिले त २०/२५ जनाको समूूह बनाएर आउँछन् । एउटा समूहमा त ४८ जनासम्म थिए’ उनले भने, ‘सीमामा आएर हारगुहार गरेपछि उद्दार गरेर ल्याउनुको विकल्प भएन ।’

यसरी उद्धार गरिएका मध्ये झापा गाउँपालिकाकै भए आफ्नो क्वारेन्टाइनमा पठाइन्छ । गाउँपालिकाले डिल्लीराज र जनता माविमा २०/२० बेडको क्वारेन्टाइनस्थल बनाएको छ, जसलाई अब बिस्तार गरेर होल्डिङ प्वाइन्ट बनाउने तयारी छ ।

झापाकै अरु स्थानीय तहको नागरिक भए सम्वन्धित स्थानीय तहमा पठाइने छ भने अरु जिल्लाकाहरुलाई मेची क्याम्पसको क्वारेन्टाइनमा पठाउने गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत निरौला भन्छन्, ‘अहिले हाम्रो क्वारेन्टाइनमा १३ जना हुनुहुन्छ । तर, यो संख्या कुनै पनि बेला बढ्न सक्छ ।’

झापा गाउँपालिकाबाट केही हजार मानिस भारतमा रोजगारीका लागि गएको र उनीहरु फर्किएर आउने सम्भावना रहेको स्थानीय जनप्रतिनिधिको विश्लेषण छ ।

०००

भारतसँग सीमा जोडिएको झापाको अर्को गाउँपालिका गौरीगञ्जमा पनि भारतबाट आउने क्रम सुरु भएको छ ।

गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठका अनुसार यसरी आउनेहरुका लागि फत्तेपुरी, अल्टावारी र डाँकुपाडा गरी तीन वटा होल्डिङ प्वाइन्ट तोकिएको छ । र, त्यहाँ जम्मा मध्ये भारतको दिल्ली, अहमदावाद, राजस्थान जस्ता रेडजोडबाट आएकाहरुलाई र्‍यापिड डायग्नोस्टिक टेष्ट (आडीटी) गरेर मात्र क्वारेन्टाइनमा पठाइनेछ भने अरुलाई परीक्षण नगरी क्वारेन्टाइनस्थलमा राखिने छ ।

एउटा खाली भवनमा १०० बेडको क्वारेन्टाइनस्थल बनेको छ भने गौरीगञ्ज क्याम्पसमा तयारी अवस्थामा छ । तेस्रो क्वारेन्टाइन स्थल बनाउने निर्णय भएको छ । ‘भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्छौं र पीसीआर विधिबाट टेष्ट गरेर नेगेटिभ आएकाहरुलाई मात्र घर पठाउँछौं’ श्रेष्ठले भने ।

०००

तीनवटै गाउँपालिका भारतसँग सीमा जोडिएका छन् । तर, भारतबाट आउनेहरु अरु स्थानीय तहमा पनि छन् ।

सरकारी तथ्यांक अनुसार झापा जिल्लाभरका क्वारेन्टाइनमा करिव ५ सय छन् भने करिव ८ सय नेपालीहरु काँकडभिट्टाको सीमापारि पानीट्यांकीमा रोकिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए ।

सीमावर्ती क्षेत्रको क्वारेन्टाइन र होटलमा रहेका जेठ ३ गते नै नेपाल ल्याउने निर्णय भएको थियो, तर भारतीय पक्षले सरकारी पत्र मागेपछि ल्याउन नसकिएको प्रजिअ रानामगरले बताए । ‘ल्याउन सकिन्छ कि भनेर छलफल गरेका हौं, भारतीय पक्षले पत्र माग्यो’ उनले अनलाइनखबरसँग भनेका छन् ।

जिल्लाभरमा जम्मा २९ स्थानका क्वारेन्टाइनमा एक हजार बेड छन् । तीमध्ये आधा भरिइसकेका छन् । भारतबाट आउनेहरुलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्नुको विकल्प पनि छैन । ‘यदि उनीहरुलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्न सकेनौं भने उनीहरु गाउँमा पुगेपछि संक्रमण कुनै पनि बेला फैलिन सक्छ’ जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाई भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment