Comments Add Comment

सन्दीप क्षत्री भन्छन्ः मिठाइलालले मधेसीलाई होच्याएको छैन

प्रदेश २ सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले हिजो संघीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई एक पत्र लेखे । सो पत्रमा उनले मधेसी समुदायलाई अपमानित गरेको दाबी गर्दै केही टेलिभिजन कार्यक्रमहरू बन्द गर्न माग गरेका छन् ।

गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग, प्रेस काउन्सिललगायत विभिन्न निकायलाई बोधार्थ दिइएको पत्रमा खासगरी कृषि टेलिभिजनबाट प्रशारित ‘कोरोना बिर्साउने गफगाफ’ प्रति आपत्ति जनाइएको छ । सो कार्यक्रमको गत ६ गते प्रशारित एपिसोडमा प्रयोग भएका शब्द सांकेतिक हाउभाउले मधेसी समुदायको खिल्ली उडाइएको झाले आरोप लगाएका छन् । साथै, उनले ‘ह्वाट द फ्लप, जोगिन्दर बोले प्रणामजीलगायतका कार्यक्रम पनि बन्द गर्नुपर्ने माग गरेका छन् ।

यस विषयमा अनलाइनखबरले ह्वाट द फ्लपका सञ्चालक सन्दीप क्षेत्रीसँग प्रश्न गर्दा उनले आफ्नो चरित्रले मधेसी समुदायको अपमान नगरेको बताए । उनले भने, ‘यो विषय मैले पनि गाइँगुइँ सुनेको छु । मेरो विचारमा कोरोना बिर्साउने कार्यक्रमप्रति उहाँहरूको आपत्ति हुनुपर्छ ।

मैले हेर्दा पनि त्यसमा अलिकति बढी नै देखाइएको पाएँ । त्योसँगै मेरो मिठाइलाल चरित्रलाई पनि मुछिएको रहेछ । तर, मैले चाहिँ मधेसी समुदायलाई अपमानित हुने किसिमले प्रस्तुत गरेको छैन ।’

आफैँ मधेसमा जन्मे-हुर्केकाले मधेसी समुदायलाई अपमानित गर्न नसक्ने उनले बताए । मधेसीजस्तो देखिन सुरुमा अनुहार कालो बनाउने गरे पनि पछि छोडेको उनको भनाइ छ । अहिले उनले ह्वाट त फ्लपमा मिठाइलालको क्यारेक्टर नै गर्न छोडिसकेका छन् ।

‘मलाई कार्यक्रम चलाउञ्जेल मधेसी समुदायबाट निकै सद्भाव र माया मिलेको थियो । मैले मधेसै गएर स्टेज शोमा मिठाइलालको क्यारेक्टर गरेको छु । यसकै डिमान्ड आउँछ । तर, आफैँ मोनोटोनस भएपछि मैले ७-८ महिना अगाडिबाट यो क्यारेक्टर रोकेको छु,’ उनले भने ।

त्यसो त लकडाउनका कारण अहिले ह्वाट द फ्प पनि बन्द अवस्थामा छ । भविष्यमा स्टेज सोमा मिठाइलाल बन्नुहुन्छ कि बन्नुहुन्न भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘कलाकारले समाजका विभिन्न पेसा समुदायका व्यक्तिलाई प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । त्यसो गर्दा त्यस्तै प्रकारको हाउभाउ र रुप बनाउनुपर्छ । भविष्यमा मिठाइलालकै रुपमा नभए पनि म मधेसी समुदायको समस्याहरू आफ्नो कलाकारितामार्फत उजागर गर्ने नै छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment