
८ जेठ, काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धार गर्दा खाडी मुलुकमा रहेकाहरू पहिलो प्राथमिकतामा पर्ने सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बताएका छन् । त्यसरी उद्धार गरिएकाहरूलाई राख्न होटल तथा रिसोर्टलाई क्वारेन्टाइन बनाउने तयारी भइरहेकाे उनले जानकारी दिए ।
बिहीबार सहरी विकास मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले घर फिर्ती चाहेका नेपालीको उद्धारका लागि तिनको वर्गीकरण गर्न लागेकाे बताए । वर्गीकरणमा खाडीमा कार्यरत नेपालीलाई पहिलो प्राथमिकतामा राखिने उनकाे भनाइ छ ।
‘विपदमा फसेका नेपालीबारे सरकार चिन्तित छ,’ बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले भने, ‘तिनको वर्गीकरण गरेर उद्धार थाल्छौं । त्यसरी उद्धार गर्दा खाडीमा रहेका पहिलो प्राथमिकतामा रहनेछन् ।’
रिसोर्टलाई क्वारेन्टाइन बनाउने तयारी
विदेशबाट उद्धार गरिएकालाई क्वारेन्टाइनमा राखेर आवश्यक स्वास्थ्य परीक्षणपछि मात्रै घर पठाउने योजना सरकारको छ ।
मन्त्री मानन्धरका अनुसार, उद्धार गरिएका नेपालीलाई राख्नका लागि होटल तथा रिसोर्टलाई क्वारेन्टाइन बनाउने तयारी पनि सरकारले सँगसँगै अगाडि बढाएको छ ।
‘व्यवस्थित ढंगले देशभर चलेका होटल तथा रिसोर्टहरूलाई क्वारेन्टाइन बनाउनेबारे आवश्यक परामर्श थालिसकेका छौं,’ मन्त्री मानन्धरले भने । त्यसरी प्रयोगमा ल्याइने निजी होटल तथा रिसोर्टलाई उपभोगबापत निश्चित रकम उपलब्ध गराउने मन्त्री मानन्धरले जानकारी दिए ।
प्रतिक्रिया 4