Comments Add Comment

कस्तो अवस्थामा व्यायाम हानिकारक हुनसक्छ

शरीरलाई लचिलो बनाउन, फुर्तिलो बनाउन, बलियो बनाउन, तन्दुरुस्त बनाउन, जवान बनाउन, स्वस्थ बनाउन के गर्ने ? सर्वोत्तम विकल्प हो व्यायाम । व्यायामका अनेक लाभ छन् । कतिपय रोगबाट मुक्त गर्ने मात्र होइन, रोग लाग्नै नदिनका लागि व्यायाम अपरिहार्य एवं अनिवार्य मानिन्छ । तर, त्यही व्यायाम कतिपय अवस्थामा भने लाभदायक होइन, बरु हानिकारक हुनसक्छ ।

कस्तो अवस्थामा व्यायामले हानि गर्छ त ?

खासमा समुचित ढंगले व्यायाम गर्नुपर्छ । व्यायामको आफ्नै नियम र विधि छन् । समय र सीमा छन् । शर्तहरू छन् । उचित ढंगले गरिने व्यायामबाट शरीर लाभान्वित हुन्छ । तर, जथाभावी गरिने व्यायाम स्वास्थ्यका लागि हानिकारक छ ।

नेपालीमा उखान छ– धेरै खायो भने औषधि पनि विष हुन्छ । चिनी पनि तीतो हुन्छ । व्यायाम पनि जथाभावी र अधिक मात्रामा गर्नु उचित हुँदैन ।

कति समय गर्ने व्यायाम ?

व्यायाम दिनमा दुई पटकसम्म गर्न सकिन्छ । खासगरी दैनिक ४५ मिनेट व्यायाम गर्नु उचित मानिन्छ । यदि धेरै समय व्यायाम गर्ने हो भने त्यसले फाइदा होइन, हानि गर्नसक्छ ।

कुन समय उचित ?

व्यायामको लागि सर्वोत्तम समय भनेकै बिहान हो । खाली पेटमा वा दिसा पिसाब गरिसकेपछिको समय नै व्यायाम गर्नका लागि उचित हुन्छ । साँझमा पनि कतिपयले व्यायाम गर्छन् । खाना खानासाथ भने व्यायाम गर्न हुँदैन वा व्यायाम गरेलगत्तै पनि खाना खाने र नुहाउने काम उचित मानिँदैन ।

पोषणमा ध्यान

नियमित व्यायाम गरेपछि खानपानमा ध्यान दिनैपर्छ । पोषणको सन्तुलन मिलाउनैपर्छ । यदि खानपान सन्तुलित भएन वा शरीरलाई पोषण पुगेन भने त्यसबाट नराम्रो असर पुग्छ ।

प्रजनन क्षमतामा समस्या

अधिक समय गरिने व्यायामले प्रजनन क्षमतामा समेत असर गर्ने पाइन्छ । खासगरी महिलाहरूको मासिक स्राब र गर्भाधारणमा समस्या निम्त्याउन सक्छ । यसैगरी पुरुषको शुक्राणुको संख्या पनि घट्छ ।

तर, समुचित ढंगले गरिने व्यायाम अति लाभदायक छ । यसले शरीरलाई सधैं तन्दुरुस्त र स्वस्थ राख्न मद्दत गर्छ ।

१. मुटुको स्वास्थ्यमा सुधार

हाम्रो मुटुको स्वास्थ्य सिधै हाम्रो शारीरिक सक्रियतासँग जोडिएको हुन्छ । हामी जति शारीरिक रुपले जति त्यति नै मुटु स्वस्थ हुन्छ । जो मानिसहरू दैनिक शारीरिक रुपले धेरै सक्रिय हुँदैनन्। उनीहरूलाई मुटुसँग जोडिएका विभिन्न रोगहरू लाग्नसक्छ ।

२. राम्रो निद्रा आउने

विभिन्न अध्ययनहरूबाट नियमित अभ्यास गर्ने मानिसहरूलाई रातमा निन्द्रा पनि राम्रो आउने प्रमाणित भएको छ । यस्तो यसकारण हुन्छ किनभने व्यायामको कारणले हाम्रो शरीरका सर्केडियन रिदम मजबुत हुन्छ जसले हामीलाई सक्रिय राख्न मद्दत गर्छ । यसै कारणले रातमा राम्रो निन्द्रा आउँछ ।

३. शारीरिक ऊर्जा बढ्छ

हामीमध्ये कैयौं मानिसहरूको मनमा व्यायामलाई लिएर कैयौं किसिमको भ्रमहरू हुन्छन् । जस्तै, व्यायामले हाम्रो शरीरको सबै ऊर्जा सोस्छ र तपाईं दिनभरि कुनै काम गर्न पाउनुहुन्न । खासमा हुने यसको ठिक उल्टो हो ।

व्यायामको कारणले तपाईं दिनभर सक्रिय हुनुहुन्छ । किनभने व्यायामको क्रममा हाम्रो शरीरमा केही खास किसिमका हार्मोनहरू रिलिज हुन्छन् जसले हामीलाई दिनभरि एक्टिभ बनाइराख्न मद्दत गर्छ ।

४. आत्मविश्वास बढाउँछ

नियमित रुपले व्यायाम गरेर तपाईं आफ्नो शरीरलाई त्यो पर्फेक्ट आकारमा ल्याउन सक्नुहुन्छ, जस्तो तपाईं चाहनुहुन्छ । यसले आत्मविश्वास पनि बढ्छ । शरीरको उत्तम बनावट र सकारात्मक सोचका कारण तपाईं आफ्नो घर वा कार्यालयमा पनि पहिलेभन्दा धेरै राम्रो तरिकाले काम गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment