Comments Add Comment

भारतमा पीपीई अभावबारे बोल्ने चिकित्सक मानसिक अस्पताल भर्ना

९ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरसबाट बच्न स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पीपीईको अभावबारे आवाज उठाउने एक चिकित्सकलाई मानसिक अस्पतालमा भर्ना गरिएको छ ।

२० वर्षको अनुभव बटुलेका एनेस्थियाका विशेषज्ञ डाक्टर सुधाकर राओलाई मानसिक अस्पतालमा भर्ना गरिएको हो । यससँगै उनी पछिल्लो दुई महिनामा दोस्रोपटक चर्चामा आएका छन् ।

भारतको दक्षिणी सहर विशाखापटनमका सडकमा उनको प्रहरीसँगको विवाद भएका भिडियोहरू भाइरल भइरहेका थिए ।
यसै क्रममा अधिकारीहरूले उनलाई मानसिक अस्पतालमा पठाइएको बताएका हुन् । सुधाकरले भारतीय अस्पतालमा पीपीई र तयारीको अभाव रहेको आवाज उठाइरहेको अवस्थामा यस किसिमको समाचार आएको हो ।

सुधाकरलाई के भएको थियो ?

गत शनिबारदेखि सामाजिक सञ्जालमा व्यापक मात्रामा सेयर भएको एक भिडियोमा केही अस्पष्ट घटनाक्रम देखिएको थियो । उक्त भिडियोमा डाक्टर सुधाकर नाङ्गै सडकको छेउमा आफ्नो कारभित्र बसिरहेका देखिन्छन् र प्रहरीलाई कराइरहेका देखिन्छन् ।

अर्को भिडियोमा उनी सडकमा बसिरहेका देखिन्छन् र उनको हात पछाडि लगेर बाँधिएको देखिन्छ र उनलाई प्रहरीले कुटपिट गरिरहेको देखिन्छ ।

प्रहरीका अनुसार उनलाई कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरिएको छ र घटनाबारे अनुसन्धान भइरहेको छ ।

अन्तिम एक भिडियोमा प्रहरीहरूले राओलाई जबर्जस्ती अटोरिक्सामा हाल्छन् । उनको वरिपरि धेरै मानिसहरू झुम्मिएको देखिन्छ । उनलाई प्रहरीले लैजानुअघि स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले केही कुरा बोलेका छन् ।

घटना के हो भनेर बुझ्न पुगेका पत्रकारसँग कुरा गर्दै सुधाकरले आफूलाई प्रहरीले रोकेर जबर्जस्ती कारबाट बाहिर निकालेको र उनीहरूले आफ्नो फोन र पर्स पनि खोसेको आरोप लगाएका छन् । साथै, प्रहरीले आफूलाई कुटपिट गरेको दुखेसो गरेका छन् ।

सुधाकरको पक्राउ भारतमा सबैभन्दा ठूलो विवादको विषय बन्न पुग्यो । सामाजिक सञ्जालमा राज्य सरकारको कदमको चर्को विरोध भयो । विपक्षी पार्टीका नेताहरूले पनि यस विषयमा आवाज उठाए ।

प्रहरीले अनावश्यक बल प्रयोग गरेको विपक्षीको आरोप छ । डाक्टर राओको मुद्दा निकै विवादास्पद पनि छ । किनकि उनी त्यसअघि नै निलम्बन परिसकेका थिए ।

उनलाई किन निलम्बन गरियो ?

सरकारी अस्पतालमा काम गर्ने सुधाकरले अपि्रल ३ मा सञ्चारमाध्यममा कोरोना भाइरसविरुद्ध लड्न आफूहरूलाई पर्याप्त मात्रामा पीपीई, मास्कलगायतका सामग्रीको अभाव रहेको बताएका थिए ।

उनले अधिकारीहरूसँगको बैठकमा पनि यो कुरा उठाएको बताएका थिए । उनले आफूहरूले एउटै मास्क १५ दिनसम्म लगाएपछि मात्र नयाँ मास्क आउने गरेको उल्लेख गरेका थिए । ‘यस्तो अवस्थामा आफ्नो ज्यान जोखिममा राखेर हामीले कसरी बिरामीको उपचार गर्न सक्छौँ ?’ उनले भनेका थिए ।

सरकारले यस विषयमा सोधपुछ गर्न निर्देशन दियो । साथै, उनलाई निलम्बन पनि गर्ने निर्णय गर्‍यो । उनले प्रक्रियागतरुपमा आफ्नो कुरा राख्नुको सट्टामा सञ्चामाध्यममा गएर यो कुरालाई उचाल्ने प्रयास गरेको आरोपमा उनलाई निलम्बन गरिएको सरकारले बताएको छ । उनले अन्य स्वास्थ्यकर्मीहरूले पालना गरिरहेको प्रणालीलाई नै अवज्ञा गरेको सरकारको निष्कर्ष छ ।
त्यसको केही दिनपछि राओले एक भिडियो सार्वजनिक गरेर आफ्नो गल्तीका लागि माफी मागेर निलम्बन फुकुवा गर्न आग्रह गरेका थिए । तर, सरकारको त्यसलाई पूर्णरुपमा बेवास्ता गर्‍यो ।

सुधाकरले के भने ?

सुधाकर र उनका परिवारले कोभिड-१९ को सुरक्षाको लागि पीपीई अभाव रहेको गुनासो गरेदेखि नै उनलाई यातना दिने काम भइरहेको आरोप लगाउँदै आएका छन् । शनिबार राओले आफूलाई केही दिनयता मानिसहरूले फोन गरेर धम्क्याइरहेको बताएका थिए । सुधाकरकी आमालाई कुनै किसिमको मानसिक समस्या नरहेको बताउँछिन् ।

‘ऊ एक प्रतिष्ठित डाक्टर हो । तर, यसले उक्त कुराहरू उठाएसँगै दुव्र्यवहारको सामना गरिरहेको छ’ उनले भनिन् । उनले छोरालाई उक्त दिनदेखि सधैं तनावमा देखेको बताएकी छिन् ।

सरकारको आधिकारिक भनाइ के छ ?

विशाखाखपटनमका प्रहरी अधिकारी आरके मीनाले मुख्य सडकमा एक व्यक्तिले मदिरा खाएर अनुचित व्यवहार गरिरहेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको बताए । उक्त स्थानमा पुग्दासम्म आफूहरूलाई त्यो मानिस राओ भन्ने थाहा नभएको उनको भनाइ छ । प्रहरीले सडकमा भएको अवरोध हटाउने प्रयास गरेको थियो । राओलाई त्यहाँ जम्मा भएका मानिसहरूले प्रहरी पुग्नुभन्दा अगाडि हात बाँधेर राखेका थिए ।

उनीहरूले डाक्टरविरुद्ध प्रहरीलाई अवरोध गरेको र नोक्सानी पुर्‍याएको भन्दै मुद्दा दायर गरेको प्रहरीको भनाइ छ । यद्यपि उजुरी दिने मानिसको पहिचान भने खुलाइएको छैन ।

प्रहरीसँग डाक्टरले निकै रुखो व्यवहार गरेको प्रहरीको भनाइ छ । सञ्चारकर्मीसँगको कुराकानीमा मीनाले ती डाक्टर मानसिक बिरामीबाट ग्रसित रहेको बताए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment