Comments Add Comment

पाकिस्तानको विमान दुर्घटनामा बचेका जुबर भन्छन्– आगोमात्र देखेको थिएँ

विमान दुर्घटनामा आफ्नी ७२ वर्षीय आमा गुमाएका शाहिद अहमद ।

१० जेठ, काठमाडौं । पाकिस्तानमा शुक्रबार कराँचीको विमानस्थलनजिकै भएको विमान दुर्घटनामा ९७ जनाको मृत्युको पुष्टि भएको छ । एयरबसको ए ३२० मोडलको विमान रिहायसी इलाकामा दुर्घटना भएको हो ।

यो विमान दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन । यद्यपि स्थानीय सञ्चारमाध्यमका अनुसार विमान चालकले एक पटक विमान ल्याण्डिङ गर्न असफल भएसँगै विमानमा प्राविधिक खराबी आएको सूचना दिएका थिए । त्यसपछि विमान दुर्घटना हुनुभन्दा ठीक पहिला विपत्तिको संकेतको रुपमा ‘मे डे–मे डे’ भन्ने सूचना पठाएका थिए ।

यो विमान दुर्घटनामा बाँच्न सफल एक व्यक्तिले आफ्नो कहानी यसरी सुनाएका छन् ।

कसरी बच्यो जुबेरको ज्यान ?

फ्लाई पीके ८३०३ ईदको अघिल्लो दिन लाहोरबाट ९१ यात्री लिएर कराँची आएको थियो । यो विमानमा धेरै मानिस परिवारसहित थिए । यो विमान दिउँसो साढे दुई बजे कराँचीको जिन्ना इन्टरनेसनल एयरपोर्टमा ल्याण्डिङ गर्ने प्रयास गरिरहेको थियो ।

त्यतिबेला नै यो विमान दुर्घटना भएको हो । सामान्य चोट लागेर यो दुर्घटनामा बच्न सफल भएका जुबेरका अनुसार यो विमान ल्याण्डिङ गर्ने प्रयास गरिरहेको १० देखि १५ मिनेटपछि यो दुर्घटना भएको हो । उनी भन्छन्, ‘कसैलाई पनि यो विमान दुर्घटना हुँदैछ भन्ने थाहा थिएन । सबै मानिस आरामसँग बसिरहेका थिए ।’

विमान दुर्घटना भएपछि जुबेर बेहोस भए । उनलाई होस आउँदा सबैतिर चिच्याहट थियो । बच्चा र वयस्क मानिसहरु पनि कराइरहेका थिए । जुबेर आफूले भने त्यतिबेला केवल आगो देखेको बताउँछन् ।

‘मैले आफ्नो सिटबेल्ट खोलेँ । त्यसपछि मैले केही पर उज्यालो देखेँ र त्यसैतर्फ दौडिएँ । मलाई सुरक्षित स्थानमा पुग्न १० फिटमाथिबाट हाम फाल्नुपर्‍यो’, जुबेरले भने ।

कसरी भयो दुर्घटना ?

लाहोरबाट कराँची आइपुगेको विमान ल्याण्डिङभन्दा ठीक अगाडि यो विमान रिहाइसी जिन्ना गार्डन मोडल कोलोनीमा खसेको थियो । यो ठाउँ विमानस्थलभन्दा केवल ३.२ किलोमिटर टाढा छ ।

दुर्घटना हुनुपूर्व विमान चालकले इन्जिनमा खराबी आएको भन्दै विपत्तिको संकेत ‘मे डे’ जारी गरेका थिए । पीआईएका मुख्य कार्यकारी अधिकारी एयर वाइस मार्सल अरसदले दुर्घटना भएपछि तत्कालै पाइलटले ट्राफिक कन्ट्रोलमा विमानमा प्राविधिक समस्या आएको सूचना दिएको बताएका थिए ।

पाकिस्तानको समाचार च्यानल दुनिया न्यूजले एयर ट्राफिक कन्ट्रोल र पाइलटको बीचको कुराकानीको रेकर्डिङ सार्वजनिक भएको दाबी गरेको छ । यो रेकर्डिङमा पाइलटले भनेका छन्, ‘विमानका दुवै इन्जिनले काम गर्न छाडेका छन्, … मे डे …मे डे’

प्रत्यक्षदर्शीले के देखे ?

यो दुर्घटनालाई आफ्नै आँखाले देखेका उजैर खानले एक ठूलो विष्फोटको आवाज सुनेर उनी बाहिर निस्किएका थिए । उनका अनुसार यो दुर्घटनाबाट चार घर तत्कालै ध्वस्त भएका थिए । त्यहाँबाट धेरै धुँवा आइरहेको थियो । यी घर उनको छिमेकमा पर्छन् । ‘म तपाईलाई यो कति खतरनाक थियो भन्ने वर्णन गर्न सक्दिनँ’ उनले भने ।

घटनास्थलको नजिकै बस्ने डाक्टर नाजिम दुर्घटनापछि उनी बाहिर निस्किएकी थिइन् । त्यतिबेला सबैतिर धुँवा फैलिएको थियो । दुर्घटनास्थल घरबाट निकै नजिक भएकाले उनले त्यहाँका मानिसहरुको चित्कार सुनिरहेकी थिइन् ।

यो दुर्घटनामा अर्का एक व्यक्ति जफर मसूद पनि जीवित बचेका छन् । मसूद बैंक अफ पञ्जाबका अध्यक्ष हुन् । उनलाई दुर्घटनापछि गुलसन ए जौहर अस्पतालमा भर्ना गरिएको छ । सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहले उनीलाई अस्पतालमा भेटेका छन् ।

स्रोत: बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment