Comments Add Comment
स्वास्थ्य वार्ता :

‘संक्रमितको सही व्यवस्थापन नभए नेपालमा मृत्युदर बढ्न सक्‍छ’

डा. रामु खरेल यतिबेला जर्जिया राज्यस्थित एटलान्टाको ग्राडी अस्पतालको इमर्जेन्सी डिपार्टमेण्टमा कोरोना संक्रमितको उपचारमा खटिएका छन् । पब्लिक हेल्थमा मास्टर्स र इमर्जेन्सी मेडिसिनमा एमडी गरेका उनले अमेरिकाको ब्राउन युनिभर्सिटी र प्रोजेक्ट होपसँग मिलेर विश्वभरीका चिकित्सकलाई कोभिड इमर्जेन्सी भर्चुअल ट्रेनिङ पनि दिइरहेका छन् । नेपालका पनि ४० जना स्वास्थ्यकर्मीलाई उनले ट्रेनिङ दिएका थिए ।

उनीसँग कोरोना उपचारको अनभुव, त्यहाँको अवस्था र स्वास्थ्यकर्मीले अपनाउनुपर्ने सतर्कताको बारेमा अनलाइनखबरले कुराकानी गरेको छ ।

तपाई कार्यरत अस्पतालमा अहिलेको अवस्था के छ, त्यहाँ संक्रमितलाई क्वारेण्टाइन र आइसोलेसनको व्यवस्था कसरी गरिएको छ ?

हाम्रो अस्पतालमा १५ सय भन्दा बढी मानिसले उपचार गराए । २५ जना भन्दा बढीको उपचारको क्रममा मृत्यु भयो । अहिले हाम्रो अस्पतालमा २ किसिमको आइसोलेसन छ । एउटा लो रिस्क कोभिड वार्ड र अर्को  हाइ रिस्क सेपरेट आइसोलेसन वार्ड । अलि कडा लक्षण भएकाहरुलाई हाइ रिस्क वार्डमा राखिन्छ । अलि कम लक्षण भएकालाई लो रिस्क कोभिड वार्डमा । र, कोभिडको कुनै लक्षण नभएका तर संक्रमितलाई नन कोभिड वार्डमा राखिन्छ ।

कतिपयको अवस्था र भाइरस लोड हेरेर घर पनि पठाइन्छ । घरमै बसेर सावधानी अपनाउन अनुरोध गरिन्छ । त्यस्ता बिरामीहरुले घरमै मास्क लगाउँछन् । दुरी कायम गर्छन् । सबै बिरामीलाई अस्पताल ल्याउनै उपचार गराउनैपर्छ भन्ने हुदैन र त्यो सम्भव पनि छैन ।

तपाईको अस्पतालमा कोभिड १९ को उपचारमा के कस्तो उन्नती भएको छ ? नेपालमा अहिले रेम्डिसिभर लगायत अन्य ४ वटा औषधि क्लिनिकल ट्रायल गरिने भनिएको छ, त्यो औषधि अमेरिकामा ट्रायल भएको छ कि छैन ?

आजसम्म कोभिडको कुनै पनि प्रमाणित औषधि बनेको छैन । धेरै औषधिको परीक्षण अझै पनि चलिरहेको छ । हाइड्रोअक्सिक्लोरोक्विन भन्ने मलेरियाको लागि प्रयोग हुने औषधिको परीक्षण दुनियाँभरी चलेको छ  ।

तर, अहिलेसम्म त्यसको पनि राम्रो नतिजा आएको छैन । एउटा आशालाग्दो औषधि भनेको रेम्डिसिभर हो । अमेरिकामा भएको परीक्षणमा यो औषधिको कारणले भर्ना भएका बिरामीको अस्पताल बसाइ घटाएको छ । तर, मृत्युदरमा कुनै भरपर्दो नतिजा देखाएको छैन ।

त्यही भएर पुरै प्रमाणित हुनको लागि अरु परीक्षण हुन बाँकी छ । अस्पतालमा भर्ना हुने दिन कम भएकाले अमेरिकी सरकारले रेम्डिसिभरलाई गम्भीर बिरामीहरुको लागि आपतकालीन रुपमा प्रयोग गर्न अनुमोदन गरेको छ ।

यो औषधि एकदम गम्भीर अवस्थामा मात्रै प्रयोग हुन्छ र लक्षण नदेखिएका बिरामीहरुको लागि प्रयोग हुदैन । अरु भाइरस जस्तै यो कोरोना भाइरसको मुख्य उपचार भनेको सपोर्टिभ उपचार नै हो । जसमा लक्षणको उपचार गरिन्छ र धेरै जसो केसहरुमा १४ दिन भित्रमा लक्षणमा सुधार आउँछ ।

ज्वरो र शरीर दुखाई जस्ता लक्षणहरुको उपचार पारासिटामोल र आइबुप्रोफेन जस्ता औषधिहरुले गर्न सकिन्छ ।  संक्षिप्तमा भन्नुपर्दा अहिले रेम्डिसिभर औषधिको आशालाग्दो परिणाम देखिएको छ तर अझै परीक्षण जरुरी छ ।

कोभिड १९ को संक्रमणको दरको अनुपात त्यहाँ कस्तो छ, बिरामीहरु अस्पतालमा आउने क्रम कस्तो छ ?

कोभिड १९ ले कुनै ठाउँमा शिखर छोइसक्यो भने कुनै ठाउँमा शिखर छुन बाँकी छ । अहिले अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या दिनहुँ बढ्दै छ । अरु देशको तथ्यांक पनि यस्तै भयावह छ । नेपालमा पनि संक्रमण अझै बढ्न सक्ने उच्च सम्भावना छ । हाम्रो छिमेकी देश भारतमा संक्रमणको दर बढिरहेको छ । सोही कारण पनि हामी खतरामा नै छौं ।

कोरोनाको संक्रमण दर एकपटक मात्र नभएर पटक पटक उच्च हुन पनि सक्छ । अमेरिकामा अहिले त्यस्तो हुने सम्भावना छ ।  किनभने लकडाउन खोलिसकेको छ । सन् १९१८ को स्पेनिस फ्लुको बेलामा पनि मानिसहरु छिटै काममा फर्केकाले स्पेनिस फ्लुको संक्रमण पटक पटक उच्च भएको थियो ।

अर्को जान्नैपर्ने कुरा के हो भने कोरोनाजस्तो भाइरसहरु आफ्नो जिन परिवर्तन गरेर म्युटेड पनि हुन सक्छ। र, बाँच्नको लागि एडप्ट हुन सक्छन् । सोही कारण जुन भाइरस चीनको वुहानमा देखिएको थियो त्यो भाइरस अहिलेसम्म नै त्यही नै प्रकारको हो भन्न सकिन्न । परिवर्तित भाइरसको कारणले संक्रमणको दर उच्च हुन पनि सक्छ । यस्तो विशेषता हामीले वर्षैपिच्छे हुने इन्फ्लुएञ्जा भाइरसमा पनि देखिन्छ ।

अहिले नेपालमा देखिएका अधिकांश संक्रमितमा लक्षण देखिएको छैन्, यस्ता केसहरुले अरुलाई संक्रमण सार्ने सम्भावना कतिको हुन्छ ?

हो, यस्ता केसहरुले पनि संक्रमण सार्न सक्छन् । अहिले विश्वभरि नै ८० प्रतिशत संक्रमित मानिसमा एकदम कम संक्रमण देखिएको छ । संक्रमण देखिएका २० प्रतिशतलाई मात्र गम्भीर समस्या देखिएको छ । अनुसन्धानकर्ताहरुले पनि संक्रमितमध्ये २५ देखि ५० प्रतिशतलाई कुनै लक्षण नै नदेखिएको बताइरहेका छन् ।

लक्षण नभए पनि यो भाइरसले संक्रमित गरेको मानिसको श्वासप्रणालीमा भाइरस बस्न सक्छ र श्वाप्रसवास प्रणालीबाट नै अरुलाई सार्न सक्छ । त्यही भएर संक्रमित मानिससँग कसैको सम्पर्क छ भने धेरै नै सतर्क हुनुपर्छ । त्यही भएर २ मिटरसम्मको भौतिक दुरी कायम गर्नुपर्छ भनेको हो ।

कोभिडले सबैभन्दा बढी मानिस मरेको देशको कोभिड अस्पतालको इमर्जेन्सी डिपार्टमेण्टमा कार्यरत हुनुहुन्छ, कस्ता कस्ता बिरामी आउँछन् ?

 अहिले अमेरिकाका धेरै मानिसहरु कोभिडको कारणले मरिरहेका छन् । मैले १ सय १ वर्षको कोभिड पोजेटिभ देखिएको बिरामीलाई जाँच्ने मौका पाएको थिएँ । १५ देखि १६ वर्ष उमेरका संक्रमित पनि आएका छन् । अधिकांशलाई कोभिडको गम्भीर लक्षण देखिएको थिएन । धेरै उमेर भएका र दीर्घरोगीहरुलाई भने श्वास नलीमा पाइप राख्नुपरेको छ । भेण्टिलेटरमा राखेकै बेलामा धेरैको मृत्यु पनि भएको छ । जवानहरुलाई पनि कोभिडको कारण स्ट्रोक र मुटुको समस्या भएको मैले देखेको छु ।

कोभिड भएका बिरामीहरु त्यहाँ सञ्चो हुन औसतमा कति समय लागेको छ ?

संक्रमितलाई सामान्य मात्रै लक्षण देखिएको छ भने २ हप्ता जतिमा निको भएको छ । अलि गम्भीर लक्षण देखिएका र श्वासप्रस्वासमा समस्या भएकाहरुलाई निको हुन अलि धेरै समय लागिरहेको छ । अक्सिजनको जरुरत पर्ने भयो या भेण्टिलेटरमा राख्नुपर्ने भयो भने निको समय महिनौं लामो समय पनि लाग्न सक्छ । तर, यस्तो अवस्था एकदम थोरै मानिसलाई मात्र हुन्छ ।

नेपालको कोरोना अस्पतालमा काम गर्ने चिकित्सकहरु संक्रमितहरुलाई हेर्न वार्डमा नगएको भन्ने गुनासा आइरहेको छ, खासमा चिकित्सकहरु नै डराउनुपर्ने कारण चाहिँ कुन अवस्थामा हुन सक्छ ?

स्वास्थ्यकर्मीहरु नै तनाव तनावमा छन् भने उपचार गर्ने बेलामा सही ढंगले उपचार नहुन सक्छ । डाक्टर र नर्सहरुको काम सामान्य दिनहरुमा पनि तनावपूर्ण नै हुन्छ । अहिले कोभिडले झन् तनाव थपेको छ ।

धेरै खटिँदा र बिरामीहरु हेर्दाहेर्दै स्वास्थ्यकर्मीहरुलाई तनाव बढ्न सक्छ । जसको कारण निद्रा नलाग्ने पनि हुन्छ । यो बेला साधारण मानिसले  झैं चिकित्सकले पनि आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्नु जरुरी छ । बिरामीको उपचार गर्ने चिकित्सकको मानसिक स्वास्थ्य ठीक भएन भने बिरामीको उपचार पनि ठीक तरिकाले गर्न सकिन्न ।

कोभिडको उपचार गराउने डाक्टर तथा नर्सहरुले ट्रेनिङ लिएको छ र राम्रो पीपीई उपलब्ध छ भने संक्रमितसँग डराउनुपर्दैन।

अहिले नेपालका चिकित्सकहरु र एम्बुलेन्स चालकहरु बिरामीको नजिक नपर्नुका कारण राम्रो ट्रेनिङ नपाएर हो कि जस्तो लाग्छ । नत्र अरु कारण के हुन सक्ला र ? राम्रो पीपीई लगाएको छ भने कोरोना सर्दैन भन्ने ज्ञान त चिकित्कसकलाई हुन्छ नै । कि त नेपालको अस्पतालमा उच्च गुणस्तरको पीपीई नभएर पो हो कि ? चिकित्सकहरुलाई संक्रमणको जोखिम कोभिड नहुदाँ पनि थियो अहिले पनि छ । त्यसैले हो पूर्वतयारी र तालिम चाहिने । पूर्वतयारी तालिम नभएकाले उहाँहरु डराउनु भएको हो कि जस्तो लागिरहेको छ ।

नेपालमा तीन जनाको मृत्यु भएको छ भने संक्रमणको दर ह्वात्तै बढिरहेको छ, राज्यले यत्रो तयारी गर्दा गर्दै पनि संक्रमण बढनुका कारण के होला ? संक्रमण घटाउन के गर्न सकिन्थ्यो ?

कोभिड महामारीका कारणले दुनियाँभरिमा भएको अहिलेसम्म मृत्युदर हेर्ने हो भने देशअनुसार फरक फरक छ । इटालीमा १६ प्रतिशतको मृत्यु भयो भने आइसल्याण्डमा १ प्रतिशत भन्दा कम छ। र, दुनियाँभरि औसतमा ६ प्रतिशतको मृत्युदर देखिएको छ ।

टेस्टको दायरा नबढाइकाले नेपालमा अझै कयौं केस देखिएका छैनन् । नेपालमा देखिएको संक्रमण र मृत्युको सङ्ख्या आश्चर्य लाग्दो होइन । तर, मृत्युको प्रकृति हेर्दा बचाउन सकिन्थ्यो कि भन्ने पनि लाग्छ । यो एकदम दुखद हो ।

सरकारसँग पूर्वतयारी गर्ने र संक्रमितलाई व्यवस्थापन गर्ने अझै समय छ । राज्यले संक्रमितको व्यवस्थापन गर्न सक्यो भने संक्रमण र मृत्युदर ह्वात्तै घट्छ । तर, योजना बनाएर काम सुरु गरिहाल्नुपर्छ ।

अझै पनि सरकारले गतिलो तयारी र संक्रमितको व्यवस्थापन गरेन भने अझै धेरै मृत्युको लागि तयार हुनुपर्छ । किनकी, देशभरका क्वारेण्टाइनस्थल र आइसोलेसन स्थल कस्ता छन् भन्ने कुरा सबैलाई थाहा छ । सम्भावित संक्रमितहरु व्यापक हुँदा पनि सामुदायिक स्तरमा परीक्षण गर्न ढिलो भइरहँदा संक्रमण सर्ने डर उस्तै छ ।

भारतबाट नेपाल छिर्ने नागरिकको व्यवस्थापन गर्न नसक्दा आइपरेको समस्या छुट्टै छ । क्वारेण्टाइनस्थलबाट नै संक्रमण सर्ने जोखिम छ । यो सबै व्यवस्थापन गर्न नसक्ने हो भने त संकमण दर र मृत्युदर स्वभाविक रुपले बढ्छ नि ।

योबेला राज्यले मृत्यु किन भयो, कहाँ गल्ती भयो र के गर्न सकिन्थ्यो भनेर विष्लेषण गर्नुपर्छ । सुत्केरी महिलाको केसमा उहाँलाई लक्षण कहिलेदेखि देखिएको थियो, अस्पताल आउजाउ गर्न कस्तो व्यवस्था मिलाएको थियो, जस्ता कुराको अनुसन्धान गर्नुपर्छ । यो अनुसन्धान अरुलाई दोष दिने ढगंले भन्दा पनि भविष्यको तयारी गर्न सहयोग पुग्ने ढंगले गर्नुपर्छ ।

तपाईले उपचार गराइरहेका बिरामीहरुमा डिप्रेशनको लक्षण पनि देखिए ? कस्ता बिरामीलाई यस्तो लक्षण देखिएको छ ?

बिरामीहरुमा अहिले धेरै नै डर तनाव र चिन्ता पाएको छु । यो एकदम स्वभाविक पनि हो । लाखौं संक्रमित र हजारौं मानिसको मृत्यु भएकाले पनि होला यहाँको मानिसमा धेरै नै डर छ । यस्तो महामारीका बेला मानिसलाई आफ्नो र आफ्नो परिवारको चिन्ता हुन्छ । यस्तोबेला मानिसहरुलाई निद्रा पुग्दैन । धेरै मानिसमा पहिला नै मानसिक रोग हुन्छ । यो अवस्थामा संक्रमित हुँदा झन् रोग बढ्न जान्छ ।

अहिले धेरै बिरामीलाई समान रुपमा देखिएको लक्षण भनेको निद्रा नलाग्ने, खान नरुच्ने र कुनै पनि काममा ध्यान नहुने हो । धेरैजसो मानिसको रोजगार गुमेकाले पनि उनीहरुको चिन्ता अर्कै छ । जीवन निर्वाह गर्न गाह्रो भएको छ । अधिकांश बिरामीहरुले उनीहरुले नसोचेको नभोगेको जीवन भोगिरहेका छन् ।

यो बेला मानसिक तनावलाई कम गर्न बिरामीहरुले घरमै के गर्न सक्छन् ?

तनाव कम गर्न घरबाट नै धेरै काम गर्न सकिन्छ । कामबाट ब्रेक लिनु एकदम महत्वपूर्ण हुन्छ । जहिले पनि सोसल मिडिया प्रयोग गरिरहँदा मानसिक तनाव बढ्न सक्छ । यो बेला मानिसले आफ्नो मनको लागि समय दिनु नै मानसिक तनाव कम गर्ने उत्तम उपाय हो । घरमा बस्दा ध्यान या मेडिटेसन गर्‍यो भने पनि मानिसलाई एकाग्र हुन धेरै मद्दत गर्छ ।

शरीर स्वस्थ भयो भने मात्र मन स्वस्थ हुन्छ । शरीरको ख्याल राख्नका लागि स्वस्थ खाना खान जरुरी मात्र हुँदैन, समयमा सुत्ने र समयमा उठ्ने गर्नुपर्छ । र, घरमै बसेर शारीरिक व्यायाम गर्न सकिन्छ।

त्यसैगरी धुमपान र मद्यपान सेवन गरेन भने पनि मानसिक तनाव कम हुन्छ । किताब पढ्नेदेखि लिएर, म्युजिक सुन्दा पनि एकाग्र हुन मद्दत गर्छ । त्यसैगरी फेक न्यूजबाट पनि टाढै रहने हो भने तनाव कम हुन्छ ।

कोभिडको धेरै बिरामीको उपचार गराइरहेको नाताले नेपालमा कोभिडविरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई के सुझाव दिनुहुन्छ ?

फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुले एकदम सतर्क भएर तालिममा लिएको ज्ञान र सीप प्रयोग गर्नुपर्ने हुन्छ । त्यसका लागि अस्पताल र स्वास्थ्य प्रणालीको योजना र पूर्वतयारी हुनु जरुरी छ । जस्तै-बिरामीलाई कसले अस्पतालसम्म पुर्‍याउँछ ? बिरामीलाई कस्तो कोठामा राखिन्छ ? बिरामी हेर्ने चिकित्सकको व्यवस्थापन कसरी गरिन्छ ?

यो सबै तयारी गरिसकेपछि अस्पतालको प्लानको बारेमा नर्स र डाक्टरहरु अरु मेडिकल स्टाफहरुसँग दैनिक कम्युनिकेसन गर्न जरुरी हुन्छ । कोभिडको बिरामीको उपचारमा खटिने डाक्टरहरु तालिमप्राप्त हुनुपर्छ । यो सबै भइसकेपछि मात्रै स्वास्थ्यकर्मी सुरक्षित हुन्छन् र बिरामीको उपचार गर्न सैद्धान्तिक र मानसिक हिसाबले तयार हुन्छन्  ।

म स्वास्थ्यकर्मीलाई यही सुझाव दिन्छु कि आफ्नो अस्पतालमा कोभिड विरुद्ध लड्ने सबै पूर्वतयारी गर्नुस् । सबै सुरक्षाको सामग्रीको जोहो गर्नुस् । अस्पताल प्रशासनसँग सुरक्षा सामग्रीको पनि माग गर्नुस् । सरकारले तोकेको प्रोटोकलको अनुशरण गर्नुहोस् । यसो भयो भने तपाईं र बिरामी दुवै पक्ष सुरक्षित हुन्छन्।

तपाईले हात धुने विधिको बारेमा धेरै कुराहरु गर्नुहुन्छ, सरुवा रोगको रोकथाममा हात धुनु नै महत्वपुर्ण हो ?

औसतमा एकजना मानिसले आफ्नो अनुहार १ घण्टामा १५ पटक सम्म छुन्छ, हामीले हाप्सा भन्ने संस्था मार्फत २०१३ देखि नै  नेपालमा बच्चाबच्चीहरुलाई हात धुन सिकाउँदै आएका छौं । साबुन र पानीले २० सेकेण्डसम्म धोयो भने लगभग सबै किटाणुहरु हातबाट सफा हुन्छ । हात सफा भएन भने हातले नै विभिन्न ठाउँका किटाणु हाम्रो शरीरमा सार्न सक्छ ।

यदि हामीमा किटाणु छ भने पनि त्यो किटाणु हाम्रो हातबाट अरुमा सजिलै सर्न सक्छ । सोही कारण बारम्बार हात धुन जरुरी हुन्छ । विशेष गरी मुख छुनुभन्दा अगाडि, बाहिरबाट घर छिर्नु अगाडि हात धुनैपर्छ । अहिले हात धुने बानी बसाल्यौं भने पछिसम्म पनि काम लाग्छ ।

 सर्जिकल ग्लोब्सबारे के भन्नु हुन्छ,  के त्यो सबैले लगाउनुपर्छ ?

यदि तपाई स्वास्थ्यकर्मी हुनुहुन्न, बिरामीको ख्याल गर्दै हुनुहुन्न र स्वास्थ्य संस्थाहरुको सरसफाइ कर्मचारी हुनुहुन्न भने पञ्जा लगाउनुपर्दैन । पञ्जाले सुरक्षाको गलत भावना दिन्छ र मुख पनि धेरैपटक छोइन्छ । किटाणु पञ्जाबाट पनि सर्न सक्छ । त्यसैले पन्जा नलगाई हात साबुन  पानीले धोएको नै धेरै राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment