Comments Add Comment

कोरोना संक्रमित आफैँले सफा गरे नारायणी अस्पताल

११ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीहरू आफैँले अस्पताल हाताभित्र सरसफाइ गरेका छन् । संक्रमितहरूले आफू बस्ने आइसोलेसन वार्ड, बाथरुम र ट्वाइलेट शनिबार सफा गरेका हुन्।

अस्पतालले गाइने वार्डको तीन वटा कोठालाई आइसोलेसन वार्ड बनाएर २३ जना संक्रमितलाई राखेको छ। अस्पतालमा भर्ना भएयता अहिलेसम्म एकपटक पनि आइसोलेसन वार्ड, बाथरुम र ट्वाइलेट सरसफाइ नगर्दा थप संक्रमण हुने डर भएपछि आफूहरूले नै सरसफाइ गरेको एक संक्रमितले बताए ।

‘राम्रोसँग सरसफाइ गरिदिन अस्पताल प्रशासनलाई पटक-पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि हामी आफैँले सफा गर्यौं,’ ती संक्रमितले भने । अर्का संक्रमितले भने, ‘सर्फ र पानी हालेर तीनवटा आइसोलेसन वार्ड, गल्ली, बाथरुम र ट्वाइलेट सफा गर्यौं । सरसफाइको क्रममा कसैले झाडु लगाउने, कसैले पानी हाल्ने, कसैले पोछा लगाउने काम गर्यौं ।’

आफूहरूको यो कामले अस्पताल प्रशासनलाई दबाब पुग्ने उनको विश्वास छ ।

‘वार्डमा रहेको शौचालयको फोहोर र दुर्गन्धले अरू रोगको संक्रमण बढ्ने त्रास संक्रमितहरूमा पर्न गएको छ,’ उनले भने, ‘अस्पतालको अटेरीपनाका कारण केही साथीहरूलाई झाडापखालको समेत समस्या देखियो । आजको हाम्रो कामले अस्पताल प्रशासनलाई दबाब सिर्जना हुन्छ कि भन्ने सोचेका छौं ।’

संक्रमण हुने डरले आइसोलेसन कक्षमा स्वास्थ्यकर्मीदेखि सरसफाइ कर्मचारी प्रवेश गर्दैनन् । संक्रमितमध्येका अर्का व्यक्तिले भने, ‘सरसफाइ त टाढाको कुरा हो । हामीमा ज्वरो आएको छ कि छैन भनेर जाँच्नसमेत चिकित्सकको टोली आउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment