Comments Add Comment

‘विषाक्त व्यवहार’ रोक्न विकिपेडियाको नयाँ नियम

इन्टरनेट दुनियाँको बृहत् ज्ञानकोषको रूपमा रहेको विकिपेडियाले आफ्ना स्वयंसेवी लेखक/सम्पादकहरूको ‘असभ्य तथा आपत्तिजनक’ व्यवहार रोक्नका लागि नयाँ आचारसंहिता लागू गर्ने भएको छ ।

विकिपेडिया साइट सञ्चालन गर्ने विकिमेडिया फाउन्डेसनले कतिपय स्वयंसेवीहरूको ‘विषाक्त व्यवहार’विरुद्ध लड्नका लागि नयाँ आचारसंहिताको पक्षमा निर्णय गरेको हो । उक्त नयाँ नियमलाई चालू वर्ष सन् २०२० को अन्त्यसम्ममा अन्तिम रूप दिएर लागू गरिनेछ ।

स्मरणरहोस् विश्वभरका लाखौं स्वयंसेवी इन्टरनेट प्रयोगकर्ताहरूले लेखन तथा सम्पादन गरेर विकिपेडिया तयार भएको छ ।

विकिपेडियामा इन्टरनेटमा सूचनाको सबैभन्दा विश्वसनीय स्रोतका रूपमा स्थापित भए पनि लैंगिक असन्तुलन तथा दुव्र्यवहारजस्ता विषयले लामो समयदेखि आलोचना व्यहोर्नुपरेको छ । वासिङ्टन विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार, विकिपेडियामा कार्यरत विभिन्न महिला तथा यौनिक अल्पसंख्यक सम्पादकहरू आफ्नो सुरक्षाप्रति त्रसित रहने गरेका छन् । महिला सम्पादकहरूले आफ्नो कार्यलाई विभिन्न पुरुष सम्पादकहरूले चुनौती दिने तथा नकारात्मक प्रतिक्रिया दिने गरेको बताएका छन् ।

तिनै महिला तथा यौनिक अल्पसंख्यक समुदायका स्वयंसेवी लेखक सम्पादकहरूले आफूहरूमाथि अन्य स्वयंसेवी सम्पादकहरूले दुव्र्यवहार गरेको गुनसो गरेसँगै विकिपेडियाले नयाँ आचारसंहिता बनाउने निर्णय गरेको हो ।

सन् २०१९ मा न्युयोर्क टाइम्समा प्रकाशित एक आलेखले पनि विकिपेडियाका यौनिक अल्पसंख्यक सम्पादकहरूले विभेद तथा हिंसाको सामना गरिरहेको देखाएको थियो । एकजना सम्पादकले त आफूमाथि हत्याको धम्कीसमेत दिइएको बताएका थिए ।

विकिपेडिया फेसबुक तथा ट्विटरजस्तो औपचारिक सोसल मिडिया होइन । तर यसका सम्पादकहरूले एक अर्कासँग अन्तक्र्रिया गरी विभिन्न पेजमा लेखिएका सामग्रीहरू परिवर्तन गर्न वा सम्पादन गर्न सक्दछन् ।

विकिपेडियाको यही सुविधाका कारण महिला तथा यौनिक अल्पसंख्यक लेखक/सम्पादकहरूले दुव्र्यवहार तथा उत्पीडनको सामना गर्नु परिरहेको छ । किनकि, उनीहरूले पेजमा लेखेका सामग्रीहरू तत्कालै अन्य सम्पादकले हटाइदिने वा परिवर्तन गरिदिने गर्दछन् । यसबाट लेख्ने र हटाउने लामो सिलसिला नै चल्ने गर्दछ ।

विकिमेडिया फाउन्डेसनले मानवीय मर्यादालाई कायम राख्नु विकिपेडियाको मूल मानक रहेको बताएको छ ।

विकिमेडिया फाउन्डेसनका सीईओ क्याथ्रिन माहेरले भनेकी छन्, ‘सबैजनाले आफ्नो मर्यादाको अनूभुति गर्ने, आफ्नो योगदानको कदर गरिएको अनुभूति गर्ने तथा आफ्नो अवधारणाको पनि अर्थ छ भन्ने महसुस गर्ने खालको सुरक्षित र समावेशी संस्कृति निर्माणका लागि हामीहरू सबैले मिलेर काम गर्नुपर्दछ । विकिपेडियाको उद्देश्य विश्वव्यापी ज्ञान हो र उल्लेखित कदमहरू उद्देश्य प्राप्तिका लागि अनिवार्य छन् ।

विकिपेडियाको नयाँ नियम सबै स्वयंसेवीहरूका लागि बाध्यकारी हुनेछ र नियम उल्लंघन गर्ने स्वयंसेवीलाई विकिपेडियामा योगदान गर्नमा बन्देज लाग्न सक्नेछ ।

साथै नयाँ आचारसंहिता लागू हुनु अगाडि भएका यस्ता दुव्र्यवहारजन्य लेखनका घटनाको समेत समीक्षा गर्नसक्ने नियमसमेत विकिपेडियाले तय गरेको छ ।

नयाँ आचारसंहिता दुई चरणमा लागू हुनेछ ।

पहिलो चरणमा व्यक्तिगत र भर्चुअल इभेन्टहरूका साथै च्याट रुम्स र अन्य विकिमेडिया प्रोजेक्टका प्राविधिक विषयहरू सम्बन्धी नयाँ नीति तय गरिनेछ । आगामी अगष्ट ३० मा उक्त नियम स्वीकृत हुने बताइएको छ ।

त्यस्तै, नियम उल्लंघन गर्नेमाथि गरिने कारबाहीसम्बन्धी आचारसंहिता दोस्रो चरणमा पारित हुनेछ । विकिमेडिया फाउन्डेसनले यो वर्षको अन्त्यसम्ममा उक्त दोस्रो चरणको आचारसंहिता पारित गरी लागू गर्ने योजना बनाएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment