Comments Add Comment

गोरखामा फौजी कीराको प्रकोप

११ जेठ, गोरखा । गोरखामा फौजी कीराको प्रकोप देखिएको छ । मकै बालीमा फौजी कीरा लाग्न थालेपछि किसान चिन्तित बनेका छन् ।

जिल्लाको गोरखा र पालुङटार नगरपालिकासँगै भीमसेन थापा, सिरानचोक, शहीद लखन र गण्डकी गाउँपालिकामा कीराको प्रकोप देखिएको हो ।

गोरखा नगरपालिका–७, मान्द्रेढुंगाका कृषक रूपेशबाबु श्रेष्ठ पहिलोपटक मकैबालीमा फौजी कीरा देखिएको बताउँछन् ।

गोरखा नगरपालिका–७, हिलेपोखरीका अर्का किसान हेमबहादुर पाण्डे फौजी कीराका कारण आफ्नो मिहिनत खेर जाने हो कि भन्ने चिन्तामा छन् । ‘यसपालि दुःख गरेको काम नलाग्ला जस्तो छ,’ उनले भने ।
कोरोना महामारीबीच देखापरेको फौजी कीराको प्रकोपले मकै उत्पादनमा असर परेको भन्दै उनले समाधानका लागि पहल गरिदिन आग्रह गरे ।

हालसम्म जिल्लाको छ स्थानीय तहमा लगाइएको मकै बालीमा फौजी कीरा भेटिएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।

भीमसेन थापा गाउँपालिका–७, पिपलटारमा सबैभन्दा पहिले फौजी कीराको पहिचान भएको कार्यालय प्रमुख मनीता थापाले जानकारी दिइन् ।

हालसम्म भीमसेन थापा गाउँपालिकाको ९ रोपनी, गोरखा नगरपालिकाको १६ सय रोपनी र गण्डकी गाउँपालिकाको ४५ सय रोपनी क्षेत्रफलमा लगाइएको मकैवालीमा फौजी कीराको प्रकोप देखिएको उनले बताइन् । अन्य स्थानीय तहको तथ्याङ्क संकलनको काम भइरहेको उनको भनाइ छ ।

उनका अनुसार जिल्लाको करिव १२ सय हेक्टर क्षेत्रफलमा मकै बाली लगाइएको छ । ४ सय हेक्टरमा फौजी कीराको प्रकोप देखिएको छ । कीरा व्यवस्थापनका लागि पहल भइरहेको उनले जानकारी गराइन् । आवश्यक बिषादी र स्प्रेयर निःशुल्क उपलब्ध गराउने तयारी भइरहेको उनले बताइन् ।

प्रकोपबारे मन्त्रालयस्तरमा समेत छलफल भइरहेको र कीरा रोकथाम तथा नियन्त्रणका लागि अनलाइनको माध्यमबाट तामिल पनि सञ्चालन भइरहेको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment