Comments Add Comment

छरुवा धान प्रविधिमा बढ्यो कैलालीका किसानको लगाव

१२ जेठ, कैलाली । कैलाली लम्कीचुहाका ३० बर्षीय जाहिर अली सिड ड्रिल मेसिनबाट धान छर्न व्यस्त छन् । सुदूरपश्चिम प्रदेशमा अधिकांश किसानहरूले अहिलेसम्म बीउ राख्न पाएका छैनन् । तर, उनले ब्याड नराखी सिधै धान फलाउने योजना बनाएका छन् ।

गत बर्ष ३ कट्ठा क्षेत्रफलमा छरुवा धान लगाएका उनले अहिले ३० बिघा क्षेत्रफलमा यही प्रविधिमार्फत खेती लगाउने योजना बनाएका छन् ।

सिड ड्रिल मेसिनबाट धान छर्दै गरेका उनले भने, ‘धेरै क्षेत्रफलमा ज्यामी लगाएर धान रोप्दा लागत बढ््छ, फाइदा पनि हुँदैन, यो प्रविधिबाट समय र पैसा दुबैको बचत हुन्छ ।’

परम्परागत तरिकाले खेतीले जीविकोपार्जनमै ठिक्क हुने भएकाले नयाँ प्रविधि अपनाएको अली बताउँछन् । ‘बुवा–बाजे पनि किसान हुनुहुन्थ्यो । उहाँहरुले जीविकोपार्जनको लागि मात्रै खेती गर्नुहुन्थ्यो’ उनले भने ‘मैले धान खेतीलाई व्यवसायिक बनाउने योजना बनाएको छु ।’

पछिल्लो समय कैलालीमा उनीजस्तै धेरै किसानले छरुवा धान खेती प्रविधि अपनाउन थालेका छन् । थोरै समय, लागत र जनशक्तिबाट नै धान खेती गर्न सकिने हुँदा यो प्रविधि किसानको रोजाइमा परेको भजनी नगरपालिकाका किसान नाथुराम चौधरीले बताए ।

‘यो तरिकाबाट खेती गर्दा ब्याड राख्नुपर्दैन, बीउ उखेल्न र रोप्न पनि पर्दैन’ उनले भने, ‘एक बिघामा १० हजारदेखि १५ हजार रुपैयाँ बचत हुन्छ ।’

चौधरीले यो प्रविधिबाट कम मल र बीउबाट पनि बढी उत्पादन गर्न सकिने बताए । उनले अहिले ४ बिघा क्षेत्रफलमा यो प्रविधिबाट धान लगाएका छन् ।

कैलालीमा अहिले करिब ४ सय हेक्टर क्षेत्रफलमा छरुवा धान प्रविधिबाट खेती हुँदैछ । छरुवा धान प्रविधिबाट खेती गर्दा समय, पैसा र इन्धनको समेत बचत हुने यो प्रविधि प्रबद्र्धन गरिरहेका सिमिटको सिसा परियोजनाका क्षेत्रीय संयोजक लोकेन्द्र खड्काले बताए ।

‘उचित समयमा झारपात ब्यवस्थापन गरे उत्पादन बढ्छ’ उनले भने ‘अहिले समय, पैसा र इन्धनको अभाव छ । त्यसैले हामीले प्रविधिलाई जोड दिएका हौँ ।’

कैलालीमा ६ बर्ष पहिले नै यो प्रविधि सुरु भएको थियो । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले छरुवा प्रविधि लाभदायक भएको बताए ।

सुदूरपश्चिम प्रदेशमा अहिले १ लाख ८१ हजार हेक्टरमा धान खेती गरिन्छ । कैलालीमा मात्रै ७० हजार बढी हेक्टरमा खेती भइरहेको मन्त्रालयले जनाएको छ ।

‘परम्परागत ढंगबाट खेती गर्दा लागत बढ्छ, श्रम पनि बढी पर्दा फाइदा कम हुन्छ’ मन्त्रालयका प्रवक्ता शर्माले भने, ‘प्राविधिक ढंगबाट खेती गर्ने हो भने थोरै लागतमा उत्पादन पनि बढ्छ मुनाफा पनि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment