Comments Add Comment

बारीबाट किलोको १२ रुपैयाँमा पनि बिकेन गोलभेँडा

१२ जेठ, काठमाडौं । काभ्रेका किसानले फलाएको तरकारीले बजार नपाउँदा खेतमै कुहिन थालेका छन् । पाँच खालका कृषक गोविन्द रम्तेलले खेतमा गोलभेँडा लगायतको तरकारी कुहिएर र्झन थालेको बताए ।

अघिल्लो वर्ष १८ सय रुपैयाँ प्रतिक्रेट (२५ किलो) प्रतिकिलो ७२ रुपैयाँमा बिक्री गरेको गोलभेडा अहिले ३ सय प्रतिक्रेट अर्थात् औसत १२ रुपैयाँ किलोमा पनि बिक्री नभएको उनले बताए ।

‘अहिले गोलभेडाँ, भिन्डी खुर्सानी र लाम्चो खुर्सानी तथा फर्सीको सिजन हो तर खेतमै कुहिन थालेका छन्,’रम्तेलले दुखेसो पोखे ।

आफू मात्रै नभई यस भेगका सबै किसानको अवस्था उस्तै रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । पाँचखालको तरकारी बिक्रि गर्ने ठाउँ कालिमाटी, बल्खु, बानेश्वर लगायतको ठाउँ हो, तर कतिपय टोल तथा संस्थाहरुले कालीमाटीको तरकारी नकिन्न लिखित निर्देशन जारी गरेको पाइएको उनले बताए ।

बल्कमा तरकारी किन्ने होटल रेष्टुँरा बन्द भएको र भएका मान्छेमा पनि आनावश्यक त्रास छरिएको रम्तेलले गुनासो गरे ।

काठमाडौं उपत्याकालाई मूख्य बजार मानेर खेति गरिएको पाँचखालको तरकारी खेतीले बजार नपाउँदा सबै लागानी खेर जाने अवस्था आइलागेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बताए ।

‘जति पहल गर्दा पनि कालिमाटी, बल्खु जस्ता बजारमा किसानको तरकारीले पहुँच पाएन, नभनेको र नधाएको प्रशासनिक निकाय छैन, तर किसानको कुरा कसैले सुन्दैनन्,’ मेयर खरेलले भने ।

भारतको तरकारीले कालीमाटीमा बजार पाउने तर ४२ किलोमिटर नजिकको पाँचखालको तरकारीले बजार नपाएको भन्दै उनले भारतीय तरकारीमा प्रतिबन्ध लगाउन माग गरे ।
तरकारी खेतीका लागि औषधिमा गरेको लगानी पनि नउठ्ने भनेर किसानले दुखेसो गरेको मेयर खरेलले बताए ।

कुहिएर जान दिनुभन्दा भनेर बानेश्वर लगायतका केही ठाउँमा सहकारीमार्फत तरकारी बिक्रीको प्रयास गरे पनि सफल हुन नसकिएको मेयर खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment