Comments Add Comment

कामविहीन नेपालीलाई स्वदेशमै रोजगारी उपलब्ध गराउँछौं-प्रधानमन्त्री

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै रोजगारी गुमाएका र विदेशमा काम गुमाएर फर्किनेलाई रोजगार उपलब्ध गराउने बताएका छन् । यसका लागि कृषि, साना तथा मझौला उद्योग/व्यवसाय, निर्माण तथा सेवा क्षेत्रमा स्वरोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रतर्फको गन्तव्यमा अघि बढ्ने प्रधानमन्त्रीको भनाइ छ ।

सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिक रुपमा भरथेग गरौँ’ भन्ने मान्यतामा सरकार दृढ रहेको बताए ।

‘यतिबेला विदेशमा रोजगारी गुमेर ठूलो संख्यामा हाम्रा श्रमिकहरु स्वदेश फर्किनु भएको छ । साथै, कोरोना महामारीका कारण नेपालमा कार्यरत विदेशी श्रमिकहरु पनि ठूलो संख्यामा आ-आफ्नो देशमा फर्केको या र्फकने अवस्था रहेको छ,’ प्रधानमन्त्रीले भनेका छन्,’मुलुकमा विद्यमान र यस्ता विभिन्न ढङ्गले सिर्जना भएको रोजगारीको अवसर, विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका र स्वदेशमै रोजगारविहीन नेपालीहरुलाई उपलब्ध गराइनेछ । यसका लागि आवश्यक पर्ने उपयुक्त सीप र तालीमको व्यवस्था सरकारले गर्छ ।’

संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा पारिश्रमिक सहितको जनसहभागिता र प्रविधि सहितको श्रममूलक विकास निर्माणका कार्यहरु स्थानीय तहमा सञ्चालन गरिने प्रधानमन्त्रीले बताएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको रोजगार सेवा केन्द्रलाई श्रम बैंकको रुपमा अघि बढाएर सूचीकृत श्रमिकलाई उपलब्ध रोजगारीमा परिचालन गरिने सम्बोधनमा उल्लेख छ । स्थानीय तहहरुले स्वदेश फर्किएर बेरोजगार रहेका र स्वदेशमै रही रोजगारीको अवसर नपाएकाहरुलाई रोजगार सेवा केन्द्रमा दर्ता हुनका लागि सहजीकरण गर्ने प्रधानमन्त्रीले बताएका छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गर्ने यो प्रणालीमा आबद्ध सबै श्रमिकहरुको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम हाललाई सरकारी कोषबाटै मिलान गरिने सरकारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment