Comments Add Comment

नेपालमा पनि क्लोज डोर फुटबलको चर्चा, तर सम्भावना न्यून

१२ जेठ, काठमाडौं । एक साताअघि जर्मनीमा फुटबल फर्कियो । तर, सामान्य अवस्थामा होइन । कोरोनाको सन्त्रासका बीच उच्च सतर्कतासाथ बिना दर्शक ‘क्लोज डोर’ मा फुटबल खेलाइएको थियो ।

विश्वभर खेलकुद गतिविधि ठप्प रहेका बेला जर्मनीमा खेलाइएको उक्त फुटबलले निकै चर्चा पायो । नेपाली खेलाडीहरुका पनि कान ठाडा भए । यस्तै प्रकारले नेपालमा पनि फुटबल गतिविधि गर्न सकिएला त भन्ने चर्चा खेलाडीहरुबीच सुरु भएको छ ।

जर्मनीमा खेलाइएको म्याच असामान्य प्रकृतिको थियो । कोरोनाले गर्दा फुटबलमा अनौठो दृष्य देख्न पाइयो । न त्यहाँ दर्शक थिए, न खेलाडीले गोल गर्दाको सेलेब्रेसन थियो । खेलअघि ह्याण्डसेक भएन । वैकल्पिक खेलाडी पनि सामाजिक दूरी कायम गर्दै मास्क लगाएर बाहिर बसेका थिए ।

कोरोनाकै बीच एसियाली राष्ट्र दक्षिण कोरियामा पनि के लिग फुटबल फेरि शुरु भएको छ । एसियाकै ताजिकिस्तान, तुर्कमेनिस्तानमा फुटबल शुरु भएर स्थगित भयो । युरोपको बेलारुसमा क्लोज डोरमै फुटबल भइरहेको छ ।

अहिले युरोपको टप फाइभ लिगमध्ये ला लिगा, प्रिमियर लिग, सिरी ए पनि क्लोज डोरमा फुटबल गर्ने तयारीमा लागेका छन् । फ्रेन्च लिग भने रद्द भइसकेको छ र पीएसजीलाई च्याम्पियन घोषणा गरिएको छ ।

दुई महिनाभन्दा धेरै समय भइसक्यो विश्व खेलकुद यसरी सुस्ताएको । नेपाली खेलकुद गतिविधि पनि ठप्प नै छ । चैत पहिलो सातादेखि नेपालमा कुनै खेलकुद भएका छैनन् ।

पोखरामा चैत १ गते आहा रारा गोल्डकप सकिएयता मोफसलका गोल्डकप स्थगित छन् । यस्तै अखिल नेपाल फुटबल संघ एन्फाले गराएको बी डिभिजन लिग पनि चैत पहिलो सातादेखि स्थगित छ ।

एन्फा कम्प्लेक्समा भएको उक्त लिगमा थोरै दर्शक भएकोले निरन्तरता दिने एन्फाले जनाएको थियो । तर राखेपले पत्र पठाउँदै तत्काल रोक्न भन्यो । सी डिभिजन लिग शुरु हुनै पाएन । चैत ३ देखि हुने तय भएको महिला राष्ट्रिय लिग अनिश्चित बन्यो ।

एन्फाले नै ए डिभिजनका शीर्ष ६ क्लब र एन्फा प्रेसिडेन्ट कपका शीर्ष ४ गरी १० टिमको राष्ट्रिय लिग २०७७ बैशाख–जेठमा गर्ने तयारी गरिरहेको थियो । मिति तय नहुँदै यो लिग अनिश्चित बनेको छ । मोफसलका दर्जन बढी गोल्डकपहरु यसरी नै स्थगित भएका छन् ।

मुख्यगरी यी चार प्रतियोगिता अनि चैतसम्म तय भएको गोल्डकप कोरोनाका कारण प्रभावित बनेको छ । यस्तै प्रदेश लिगहरु पनि बाँकी नै छन् । अहिले एन्फाले क्लोज डोर फुटबलबारे छलफल थालेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले पनि यस विषयमा एन्फासंग छलफल गरे पनि कोरोना संक्रमण बढ्दै जाँदा योजनाले मुर्त रुप लिन नसकेको बताएका छन् ।

एन्फा प्रवक्ता किरण राई कोरोना संक्रमण बढेकाले तत्काल फुटबल गतिविधि सञ्चालन हुने सम्भावना टरेको बताउँछन् ।

‘मुख्य कुरा कोरोना संक्रमणको रुपले धेरै कुरा निर्धारण गर्छ । अलि अघि नै लकडाउन खुकुलो भएको थियो । तर कोरोना संक्रमण अत्यधिक बढ्न थालेपछि सरकारले लकडाउन टाइट ग¥यो । त्यसैले हाम्रो फुटबल पनि फर्किने विषय टरेको छ ।’

यद्यपि क्लोज डोरमै भए पनि फुटबल गतिविधि अघि बढाउनुपर्ने माग रहेको उनले बताए । त्यसको निम्ति सावधानी, शारीरिक दूरी वा अनुशासन पालना गर्न खेलाडीहरु तयार रहेको राईको भनाइ छ ।

‘बर्खा सिजन आउन लागिसक्यो । जेठ र असारमा यदि क्लोज डोरमा गर्ने अनुमति सरकारले दियो र हामीले त्यो अनुसारको व्यवस्थापन गर्न सक्यौँ भने यस बारेमा सोच्नुपर्छ ।’

रोकिएको बी डिभिजन लिग र सी डिभिजन लिगलाई पहिले सम्पन्न गर्नुपर्ने उनले बताए । त्यपछि प्रदेश लिग, प्रेसिडेन्ट कप र राष्ट्रिय लिगबारे सोच्न सकिने उनको भनाइ छ ।

मोफलसमा भने टिकेटिङको व्यवस्था हुने भएकोले तत्काल क्लोज डोरको फुटबल सम्भव नहुने राई बताउँछन् ।

यी सबै सम्भावनाको कुरा भए पनि साँच्चै फुटबल कहिले फर्केला भन्ने उत्तर अहिले कोहीसँग छैन । राईले असारसम्म ग्रिन सिग्नल नपाए फुटबल अझ पर धकेलिने बताए ।

‘जेठ–असार भित्रमा हुन सकेन भने साउनमा पनि केही हुने स्थिती छैन । भदौ–असोजतिर मात्रै प्रतियोगिताको काम हुन्छ,’ उनले भने ।

अहिले यो बीचमा सफ्टवेयर लगायत विभिन्न नीतिगत कामहरु गर्ने राईले बताए ।

फुटबल शुरु गर्ने अवस्था आए शुरुमा खेलाडीलाई एकै ठाउमा जम्मा गरेर सुरक्षित बस्ने वातावरण तयार पार्नुपर्ने हुन्छ ।

राई भन्छन्, ‘सबै हिसावले म्यानेज गर्नुपर्ने हुन्छ । क्लबहरु तयार हुनुपर्‍यो । खेलाडीको फिटनेस र ट्रेनिङको लागि समय दिनपर्‍यो । यो एकदमै कठिन छ ।’

केही दिनअघि एन्फाको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले विदेशमा जस्तै हेल्थ चेक गरेर फुटबल खेलाउनेबारे एन्फासँग छलफल भए पनि त्यसले मुर्त रुप पाउन नसकेको बताएका थिए । उनले अब सबै अवस्था सामान्य भएपछि मात्र खेल हुन सक्ने उल्लेख गरे ।

‘खेलाडी, खेल पदाधिकारी, खेल पत्रकार सबै सुरक्षित हुने र खेल कार्यक्रम पनि चलायमान हुने स्थिति छिटो भन्दा छिटो ल्याउन पर्छ भन्ने मलाई लागेको छ,’ उनले भनेका थिए ।

उक्त कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले यो लकडाउनका बेला दर्शकबिना खेल शुरु गर्ने प्रयास सकारात्मक भएको बताएका थिए ।

राखेपको स्वामित्वमा रहेको दशरथ रंगशालामा भने यो लकडाउनका बीच स्तरोन्नतीको काम भएको छ । अहिले रंगशालाको स्वरुप १३ औं साग हुँदाजस्तै छ ।

लकडाउनकै बेला पनि सामाजिक दूरी कायम गर्दै काम गरिएको थियो । पछिल्लो समय रंगशालालाई क्वारेन्टिनको रुपमा प्रयोग गर्ने चर्चा समेत चलेको थियो ।

बिहीबार एन्फाले ए डिभिजन लिगको प्राविधिक रिपोर्ट सार्वजनिक गर्ने कार्यक्रममा अध्यक्ष कर्मा छिरिङ शेर्पाले यसलाई क्वारेन्टिन बनाउन नहुने मत राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment