Comments Add Comment

चौरजहारी घटना : ३ को शव भेटियो, वडाध्यक्षसहित १२ पक्राउ

मृतकलाई शहीद घोषणा गर्न समाजवादी पार्टीको माग

१२ जेठ, काठमाडौं । रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता ३ युवाको शव फेला परेको छ ।  बेपत्ता ४ युवाको अवस्था भने अझै अज्ञात छ ।

प्रहरीका अनुसार, जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवक नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए । सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ का नवराज विक, भेरी नगरपालिका–४ कै गणेश बुढा र चौरजहारी नगरपालिका–१ टीकाराम सुनारको शव फेला परेको छ । सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन् ।

घटनामा संलग्न चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए । घटनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेद्कारी गालीगलौज गर्दै ढुङ्गामुढा गरेको दाबी गरे ।

जाजरकोट जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दोषीमाथि कारवाहीको माग गर्दै धर्ना दिइरहेका छन् । जिल्ला अस्पतालमा राखिएको शव परिवारले बुझ्न मानेका छैनन् । रुकुम पश्चिम जातीय छुवाछुत जिल्ला घोषणा भइसकेको छ ।

शहीद घोषणा गर्न समाजवादी पार्टीको माग

यसैबीच, अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर रुकुम पश्चिममा हत्या गरिएका जाजरकोटका दलित युवकलाई सांस्कृतिक शहीद घोषणा गर्न समाजवादी पार्टी प्रदेश ५ समितिले माग गरेको छ ।

समाजवादी पार्टीका प्रदेश ५ अध्यक्ष अशोककुमार यादवले सोमबार एक विज्ञप्ति जारी गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति र घटनामा संलग्नलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।

उनले घटनाको छानबिन गर्न र मृतक युवकलाई सांस्कृतिक रुपान्तरण अभियानका शहीद घोषणा गर्न माग गरेका छन् ।

यो पनि पढ्नुहोस चौरजहारी घटनाबारे छानबिन गर्न जनार्दन शर्माको माग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment