Comments Add Comment

बेलायतमा अत्यावश्यक बाहेकका खुद्रा पसल पनि खुल्ने

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन

१३ जेठ, काठमाडौं । बेलायतमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने भएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले प्रेस ब्रिफिङमा १५ जुनदेखि अत्यावश्यक बाहेकका खुद्रा पसल पनि खोल्न दिइने बताएका हुन् ।

यद्यपि सबै पसलहरुले सरसफाइमा भने विशेष ध्यान दिनुपर्ने छ । साथै व्यक्ति–व्यक्तिबीचको दुरी पनि कायम राख्नुपर्ने छ ।

बेलायत सरकारले कोरोना महामारीका कारण गरिएको लकडाउन खुकुलो बनाउने सम्बन्धी नयाँ दिशानिर्देश जारी गरेको छ ।

प्रधानमन्त्री जोन्सनका अनुसार आउटडोर मार्केट र कारका शोरुमहरु १ जुनदेखि खोल्न सकिने छ । १ जुनदेखि नै इङ्गल्याण्डमा बालबालिकाका स्कुलहरु पनि खोलिने छ ।

यसअघि गत आइतबार प्रधानमन्त्री जोन्सले देश अब कोरोना महामारीसँग जुध्न दोस्रो चरणको सुरुवातका लागि तयार रहेको बताएका थिए ।

बेलायतको स्वास्थ्य विभागका अनुसार बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १२१ जनाले ज्यान गुमाएका छन् । यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउने व्यक्तिहरुको संख्या अब ३६ हजार ९ सय १४ पुगेको छ ।

कोरोना संक्रमणको हिसाबमा बेलायत विश्वका देशहरुको सूचीमा चौथो स्थानमा छ । बेलायतभन्दा अगाडि अमेरिका, ब्राजिल र रुस छन् । मृत्युको हिसाबमा भने अमेरिकापछि दोस्रो स्थानमा बेलायत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment