Comments Add Comment

नारायणी नदी किनारमा टायल बिछयाउने काम विवादमा

वडा र छिमेकी नगरपालिकाको विरोध

१३ जेठ, चितवन । चितवनको नारायणी नदी किनारलाई सिँगारेर सुन्दर बनाउने चर्चा वर्षौंदेखि चले पनि काम अघि नबढिरहेको बेला यस पटक पैदल हिँड्ने बाटो (वाकिङ पाथ) बनाउने काम सुरु भएको छ ।

नदी किनाराको माथिल्लो भागमा ४२५ मिटर लम्बाइ र २.५ मिटर चौडाइ रहने गरी मोजाइक टायल बिछ्याएर वाकिङ पाथ बनाउन थालिएको छ । तर यो काम सुरु हुँदै गर्दा विवाद बढेको छ ।

भरतपुर महानगरपालिकाको ७७ लाख ३ हजार ७ सय ४९ र उद्योग वाणिज्य संघ चितवनको २० लाख गरी ९७ लाख ३ हजार ७ सय ४९ रुपैयाँको लागतमा टायल बिछ्याउन लागिएको हो ।

तर, ९७ लाख नै किन बनाइयो भन्ने प्रश्नबाट नै यसको विवाद सुरु भएको हो । एक करोडभन्दा बढी लागतको काम गर्दा टेण्डरमा जानुपर्ने भएकाले ३ लाख घटाएर उपभोक्ता समितिमार्फत यो काम गर्न लागिएको हो । उपभोक्ता समितिबाट काम गराउँदा आफूखुसी खरिद र मन लागेको कम्पनीसँग काम गराउन सकिने भएकाले यसो गरिएको चर्चा चल्न थालेको छ ।

महानगरले दिने ७७ लाखमध्ये ५० लाख नगर परिषदबाट छुट्टाएको रकम हो भने २७ लाख ३ हजार ७ सय ४९ रुपैयाँ महानगरको विषेश आकस्मिक कोषबाट खर्च गर्ने गरी दिने निर्णय गरिएको छ ।

मोज्याक टायल लगाउनका लागि महानगरपालिकाका इन्जिनियरले कुनै एक कम्पनीलाई काम जिम्मा लगाउने गरी उसकै स्वीकृत दररेट राखेर इस्टिमेट गरेको पाइएको छ । नवलपरासीको रामग्राम–१६ मा रहेको एसियन कन्क्रिटोले पेश गरेको जिल्ला दररेटका आधारमा इस्टिमेट तयार पारेको देखिन्छ । सो कम्पनीको चितवन बिक्रेता ओम सञ्जीवनी कंक्रिटो कन्सर्नलाई काम दिन मिल्ने गरी विना मितिको लागत स्टिमेट तयार गरेको पाइएको छ ।

तर भरतपुर महानगरका डिभिजनल इन्जिनियर रत्न लामिछानेले इस्टिमेट बनाउँदा कुनै एक कम्पनीलाई हुने गरी नबनाएको दाबी गरे । ठेक्का सेटिङ गर्ने गरी लागत इस्टिमेट बनाइएको गुनासोबारे राखिएको जिज्ञासामा डिइ लामिछानेले भने, ‘गुणस्तरीय काम होस् भनेर जिल्ला दररेटका आधारमा बनाएका हौं ।’

२००८१००८६० एमएमको आयातकार मोजाइक टायल एम–२५ कै हुनुपर्ने किन भन्ने प्रश्नको जवाफ भने महानगरपालिकाका इन्जिनियरहरूले दिन सकेका छैनन् । मोजाइक टायल आयातकार, आई र हेक्सागन आकारका चलनचल्तीमा छन् । उनीहरूले यो कम्पनीको गुणस्तर राम्रो भएको दाबी गरेका छन् । ओम सञ्जिवनीका सञ्चालक निरञ्जन न्यौपानेसँग मात्रै यो उत्पादन रहेको जानकारी महानगरका इन्जिनियरलाई छ ।

उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतमले एक कम्पनीका लागि मात्रै हुने र मिल्ने गरी लागत इस्टिमेट सुविचारिक ढंगले तयार गरिनु बदनियतपूर्ण भएको बताए । उनले भने, ‘नारायणी नदी किनारमा यति हेभी (महंगो) मोजाइक टायल लगाउनुपर्ने कारण के छ ? १० चक्के गाडी कुदाउने त हैन होला, मान्छे नै हिँड्ने हो, जनताको पैसा यो ढंगबाट दुरूपयोग राम्रो भएन ।’

महानगरपालिकाले तयार गरेको इस्टिमेटमा २२ सय ९० स्क्वायर मिटरमा ‘ग्रे’ रंगको मोजाइक टायल लगाउँदाको फाइनल कामको रेट प्रतिस्क्वायर मिटर २६ सय ५४ रुपैयाँ तोकिएको छ भने ५७२ स्क्वाटर मिटरमा लगाउने ‘सिंगल’ रंगको टायलको प्रतिस्क्वायर मिटर ३३ सय २७ रूपैयाँ राखिएको छ । यो चलनचल्तीको मूल्यभन्दा झण्डै दुई गुणाभन्दा बढी महंगो देखिन्छ ।

स्थानीय टायल उत्पादक कम्पनीका प्रतिनिधीहरूले झण्डै १५/१६ सय रुपैयाँ प्रतिस्क्वायर मिटरमा गर्न सकिने कामलाई दोब्बर बढी रकम खर्च गर्न लागिएको बताए । भरतपुरकै एक टायल उत्पादक कम्पनी सञ्चालकले भने, ‘एम–२५ नै तोकेर किन लागत इस्टिमेट तयार गरियो, किन अरुलाई प्रतिस्पर्धा गर्न दिइएन, कोटेसन किन मागिएन ?’ ओम सञ्जिवनीले ल्याएको सामानको ल्याब चेक कसले गर्छ भन्ने प्रश्न पनि उनले गरे ।

ओम सञ्जिवनीलाई कामको जिम्मा

एसियन कंक्रिटो प्रा.लि.को चितवन बिक्रेता ओम सञ्जिवनी कंक्रिटो कन्सर्नले अधिकांश कामको जिम्मा पाएको छ । सोही कम्पनीले फिल्डमा सामानसमेत झारिसकेको छ । दुवैतिर कंक्रिटको सानो वाल लगाएर त्यसको बीचमा लगाइने मोजाइक टायलका लागि सञ्जिवनीले ९२ लाख ५ हजारको दरभाउपत्र गत वैशाख ३१ गते बुझाएको थियो । उपभोक्ता समितिमार्फत काम गर्ने भनिए पनि उद्योग वाणिज्य संघ मातहतको उपभोक्ता समितिले दरभाउपत्र लिएर ठेकेदार छानेको हो ।

जिल्लाका अन्य टायल उत्पादक कम्पनीहरुसँग दरभाउपत्रसमेत नलिई उवासंघले गुपचुप रूपमा न्यौपानेको ओम सञ्जीवनीसँग तीन दरभाउपत्र मागेको थियो । संघमा सञ्जिवनीका सञ्चालक न्यौपानेले नै तीनबाट दरभाउपत्र बुझाएका थिए । उपभोक्ता समितिका सचिव चिरञ्जीवि सुवेदीले दरभाउ पत्र नमागिएको दाबी गरे । उनले भने, ‘दरभाउपत्र मागेनौं, तर सोही क्वालिटीको सामान माग्यौं ।’

उनले कार्यालयमा पेश गरिएका तीनवटा दरभाउ पत्र संघका प्रमुख प्रशासकीय अधिकृत गौरव खतिवडासँग छन् । न्यौपानेले ठेकेदार केशव लामिछानेको संरक्षण निर्माण सेवा प्रा.लि. भरतपुर १२ सँग लेटर प्याड मागेर ९६ लाख १ हजार २ सय राखेर र अर्को डिकेजीएम इन्टरप्राइजेज प्रा.लि. बुटवल–१२ कालिकानगरसँग ९४ लाख ११ हजार ४ सय राखेर दरभाउपत्र बुझाएका थिए । दुई कम्पनीको दरभाउपत्र जेठ १ गतेको मिति राखेर बुझाएको देखिन्छ ।

ठेकेदार लामिछानेको संरक्षण निर्माण सेवा प्रा.लि.मा आफ्नै कर्मचारीको नाम र नम्बर (प्रतिनिधि) राखेर बुझाएको पाइएको छ ।

९२ लाख ५ हजारको दरभाउ पत्र बुझाएका ओमका सञ्जिवनीका सञ्चालक न्यौपानेले ९० लाखमा काम सक्ने र बाँकी ७ लाख उद्योग वाणिज्य संघलाई नै दिने बाचा गरेको उपभोक्ता समितिका एक सदस्यले बताए । उपभोक्ता समितिले ९७ लाखकै बिल महानगरपालिकामा पेश गर्ने उपभोक्ता समितिका एक सदस्यको भनाइ छ ।

उपभोक्ता समितिका संयोजक सहनलाल प्रधानले केही प्रकृया नमिलेको स्वीकार गरे । उनले नमिलेको प्रकृयालाई मिलाएर काम अघि बढाउने बताए । अहिले उपभोक्ता समितिका पदाधिकारीहरु कागजपत्र मिलाउने चटारोमा छन् ।

डीपीआर नबन्दै काम सुरु

नारायणी नदी किनारको ‘ब्युटिफिकेसन’का लागि भन्दै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम भैरहेको छ । यो काम सकिन अझै एक महिनाभन्दा बढी समय लाग्ने निर्माण कम्पनी ग्रिड कन्सल्टेन्सीका प्रतिनिधिले जनाएका छन् । ‘उहाँहरूसँग केही तथ्यांकहरू मागेका छौं, तथ्यांक उपलब्ध गराए चाँडो काम होला, नभए अझै समय लाग्न सक्छ,’ कम्पनीका एक प्रतिनिधिले अनलाइनखबरसँग भने ।

अहिले बन्दैं गरेको वाकिङ पाथलाई पनि डीपीआरभित्र समेटिने जनाइएको छ । तर, डीपीआर नै नबनी त्यसको स्वीकृती र पास नै नभई हतारहतारमा किन काम गरियो भन्ने प्रश्न उद्योग वाणिज्य संघकै पूर्वअध्यक्षहरुले उठाएका छन् । उद्योग वाणिज्य संघको उपभोक्ता समिति र महानगरपालिकाको योजना शाखाबीच गएको वैशाख २८ गते सम्झौता भएको छ । अचम्म त के छ भने वैशाख २८ गते भएको सम्झौतामा वैशाख २६ गतेबाट काम सुरु गर्ने उल्लेख छ ।

काम रोक्न वडा कार्यालयको पत्र, गैंडाकोट नगरपालिका रूष्ट

९७ लाखको परियोजनाको काम गर्दा वडा कार्यालयलाई वाइपास गरेको भन्दै भरतपुर महानगरपालिका वडा नं. १ ले तत्काल काम रोक्न भनेको छ ।

वडा कार्यालयले भरतपुर महानगरपालिकालाई लेखेको पत्रमा भनिएको छ ‘महानगरपालिकको मात्र ७७ लाख रूपैयाँको योजना कार्यान्वयन हुन गइरहेको कुरा सम्बन्धित वडा समितिले जानकारी पाउनु पर्ने की नपर्ने ? यति ठूलो रकमको काम गर्ने ठेकेदार तथा व्यक्ति चयन गर्दा वडा समितिलाई जानकारी गराउनुपर्ने की नपर्ने ?’ जेठ ७ गते महानगरलाई लेखेको पत्रको बोधार्थ उद्योग वाणिज्य संघ चितवनलाई दिएर वडा कार्यालयले काम स्थगन गर्न माग गरेको छ ।

वडा समितिको समन्वय र जानकारीमा उपभोक्ता समिति गठन गर्दा अनिवार्य उपभोक्ताहरुको भेला राख्नुपर्ने भए पनि आफूखूसी उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधानको संयोजकत्वमा ९ सदस्यीय उपभोक्ता समिति गठन गरिएको थियो । उपभोक्ता समितिको पहिलो बैठक बोलाएपछि मात्रै अन्य सदस्यहरुले उपभोक्ता समिति गठन भएको र सो समितिमा आफूहरु पनि रहेको जानकारी पाएका थिए ।

वडा कार्यालयले आपत्ति जनाएपछि उवासंघले वडा सदस्य शुक्रकुमार श्रेष्ठको साथ लिएर पुरानो मिति राखेर उपभोक्ता समिति गठन गरेको पत्र वडा कार्यालयमा पठाएको छ । शुरुमा ९ सदस्यीय समितिलाई पछि ११ सदस्यीय बनाइएको छ ।

यस्तै नवलपुरको गैंडाकोट नगरपालिकाले नारायणगढतर्फको नारायणी नदी किनारमा पार्कका लागि भन्दैं वाकिङपाथ निर्माण गर्न लागेकोमा आपत्ति जनाएको छ । नगरप्रमुख छत्रराज पौडेलले भरतपुर महानगरपालिकालाई जेठ ९ गते पत्र लेखेर निर्माणका बारेमा आधिकारीक जानकारी माग गरेका छन् ।

नगर प्रमुख पौडेलले नारायणी नदी साझा नदी रहेकाले त्यहाँ बन्ने संरचनाका बारेमा जानकारी र समझदारी अनिवार्य सर्त भएको बताए । ‘एकतर्फी रुपमा उहाँहरुले संरचना बनाउन पाउनुहुन्न सोको बारेमा हाम्रो जानकारी र समझदारी लिनुपर्दछ, त्यहाँ बन्ने संरचनाले गैंडाकोटतिर असर गरे त्यसको जिम्मा कसले लिन्छ ?’ नगरप्रमुख पौडेलले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म नारायणी नदी बन्ने परियोजना, डीपीआरका बारेमा कुनै जानकारी छैन, काम रोकिनुपर्दछ, हाम्रो सहमति लिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment