Comments Add Comment

एक महिनाकी सुत्केरीको पञ्चाबदेखि कैलालीसम्मको यात्रा

न आराम, न राम्रो खाना

१३ जेठ, कैलाली । दाहिने काखमा एक महिनाको शिशु च्या…च्या…गरिरहेको छ । ६ बर्षकी छोरी बायाँ हातको चोर औला समातेर टोलाइरेकी छे ।

भुईंमा टेक्नै कठिन हुने गरी दुबै खुट्टा लुला भएका छन् । घोडाघोडी नगरपालिका– ६ कि टीका बोहरा थकाइ मेटाउन बेला बेलामा लामो सास फेर्छिन् ।

टीका, उनका श्रीमान वीरबहादुर र दुई छोरी गत शनिबार भारतीय भूमिबाट नेपाल प्रवेश गरेका हुन् । उनीहरुलाई सीमाबाट घोडाघोडी नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ ।

श्रीमान् वीरबहादुर बोहरा बर्षौंदेखि पञ्जाबको लुदियानामा चौकीदारको काम गर्थे । स्वास्थ्य परीक्षण र औषधी उपचार गर्न भन्दै टीका मंसिरमा भारत गएकी थिइन् । वैशाख ३ गते उतै सुत्केरी भइन् । कोरोना संक्रमणले त्रसित भएका उनीहरु अस्पताल जान सकेनन् ।

सुत्केरी भएको एक महिनाभित्रै उनले सायद जीवनभरीको पीडा भोग्नुपर्‍यो । उनले भनिन्, ‘न आराम गर्न पाएँ, नत राम्रो खान पाए । ’

पोषणयुक्त खानेकुराको कमीले भर्खर एक महिनाकी छोरीको भोक मेटिने गरी स्तनपान गराउन नसकेको उनी बताउँछिन् । ‘पेटभरि खान नखाएको ३/४ दिन भयो । यस्तो बेला पोषिलो खाना कहाँ पाउनु’ उनले भन्दै थिइन् शिशु फेरि च्या…च्या..गर्‍यो ।

वीरबहादुरको काम बन्द भएको दुई महिना भइसकेको थियो । त्यतिबेलै श्रीमती सुत्केरी भइन्’ वीरबहादुरले सुनाए ‘त्यहाँ झन् समस्या हुन्छ भनेर हामी घर आयौं ।’

दुई सन्तानलाई घरमा छोडेर ६ बर्षकी छोरीको साहरामा उपचार गर्न भारत गएकी टिका उपचार बिनै फर्किइन् ।

‘बिरामी भएर उपचार गर्न गएकी थिएँ । झन् बिरामी हुन्छु जस्तो भयो’ लामो सास फेर्दै भनिन् ‘शरीर कमजोर भएको छ, हात खुट्टा लुला भएका छन् । ’

कोरोना संक्रमण उच्च भएको बेला उनी सुत्केरी भएकी थिइन् । न त्यो बेला हेरचार गर्ने कोही भए, न त त्यसपछि । छोरी जन्मिएको ११ दिनमा न्वारान गर्नुपर्ने भयो । तर, कसरी गर्ने ? नजिकै रहेकी एक आफन्तले शिशुको नाम राखिदिइन्, अञ्जली । ‘यसैको फूपूले नाम राखिदिनुभयो । हामीले त्यसैलाई न्वारान मान्यौं’ उनले भनिन् ।

भारतको पञ्जाबबाट बसमा उनीहरुसँगै अन्य २०/२२ जना पनि आएका थिए । संकटको बेला उद्धार गरको भन्दै दुई गुणा बढी भाडा तिरेर उनीहरु सीमा क्षेत्रमा आइपुगे । भारतमा हुँदा बसमा आएका उनीहरु त्यसपछि यता भने टिपरमा आए ।

‘५०/६० जनलाई एउटै टिपरमा कोचेर ल्याए सुत्केरीलाई अगाडि राख्नु भन्दा पनि कसैले सुनेन’ वीरबहादुरले गुनासो पोख्दै भने ‘आमा र छोरी दुबैलाई निकै समस्या भयो ।’

एक महिनाको शिशु र ८ बर्षकी छोरी लिएर अनेकौं समस्यासँग जुधेर घर नजिकै पुग्दा उनीहरुको मुहारमा भने मुस्कान छाएको थियो । तर, त्यो भन्दा बढी पीडा र चिन्ता पनि उनीहरुसँग थियो ।

‘भारतबाट आएकाहरुबाटै संक्रमण हुन सक्छ भन्छन्’ वीरबहादुरले भने ‘हामी जोगिएरै आएका छौँ तर, पनि डर छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment