Comments Add Comment

संविधान संशोधन विधेयक : मधेसवादी दल प्याकेज संशोधनको पक्षमा

१३ जेठ, काठमाडौं । निशान छाप परिवर्तनका लागि सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन बिधेयक बुधवारको प्रतिनिधिसभा बैठकमा पेश हुने भएको छ । प्रधानमन्त्रीले यसबारेमा छलफल गर्न मंगलबार साँझ सर्वदलीय बैठक समेत बोलाएका छन् ।

सरकारले लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा जारी गरेपछि निशानछापमा पनि सोही नक्सा राख्न गत शुक्रवार कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक सचिवालयमा दर्ता गराएकी थिइन् ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले विधेयक बुधवार संसदमा पेश हुने र सोही दिन पारित हुने सम्भावना रहेको बताए ।

तर, नेपाली कांग्रेसका नेताहरुले भने संसदका बुधबार प्रस्ताव टेबल हुने संसदको कार्यसूची भए पनि आफ्नो दलभित्र यसबारे छलफल हुन बाँकी रहेको बताएका छन् । कांग्रेसका एक सांसदले अनलाइनखबरसँग भने,‘भोलि संसदमा टेबल होला, त्यसपछि पार्टीको संसदीय दलमा छलफल होला ।’

संसदको कार्य व्यवस्था परामर्श समितिमा सभामुखले समेत यसबारेमा छलफल गरेका थिए । सभामुख अग्नि सापकोटाले राष्ट्रियता विषय भएकाले यो विधेयक सर्वसम्मत रुपमा पारित गर्नुपर्ने बताएका थिए ।

राजपा र समाजवादी पार्टीले निशान छापसँगै मधेसवादी दलले यसअघि उठाउँदै आएका विषयमा पनि संविधान संशाोधन गर्न दबाब दिइरहेका छन् । उनीहरुले प्रमुख विपक्षी नेपाली कांग्रेसलाई पनि प्याकेजमै संविधान संशोधनको पक्षमा उभिन आग्रह गरेका छन् । आजको सर्वदलीय बैठकमा पनि यही कुरा उठाइने ती दलले जनाएका छन् ।

तर, सरकारले भने अहिले तत्कालै निशान छाप परिवर्तन गर्नुपर्ने भएकाले यो बाहेक अन्य विषयमा संशोधन हुन नसक्ने बताएको छ ।

संसद सचिवालयले यसअघिको लोगो हटाएर नयाँ नक्सा सहितको लोगो प्रयोगमा ल्याइसकेको छ । योसहित संविधान जारी भएको ५ वर्षमा दुईपटक संशोधन हुनेछ ।

संविधान संशोधनको आफ्नो मुद्दा उठाए पनि मधेसवादी दलहरु पनि अहिले सरकारले जारी गरेको नक्साको विपक्षमा उभिएका छैनन् । त्यसैले संविधानको अनुसूची संशोधन गर्ने प्रस्ताव सर्वसम्मपतिमा पारित हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment