
१३ जेठ, काठमाडौं । रुकुम चौरजहारीको घटनाप्रति दुःख व्यक्त गर्दै साझा पार्टीले निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
पश्चिम रुकुमको चौरजहारीमा गत शनिबार प्रेमिकासँग बिहे गर्न गएका भनिएका जाजरकोटका युवा नवराज विश्वकर्मा र उनका दुई साथीको हत्या भएको थियो । त्यस्तै, ३ जना हालसम्म बेपत्ता छन् । घटनाबारे चौतर्फी आलोचना भइरहेका बेला साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले मंगलबार एक विज्ञप्ति जारी गर्दै घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।
‘घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको त छ । तर घटनालाई सामसुम पार्न राजनीतिक सक्रियता बढेको चर्चा चलिरहँदा छानबिन समिति राजनीतिक प्रभावबाट मुक्त होस् भनी साझा पार्टी खबरदारी गर्दछ,’ मिश्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
संविधानले न्यायपूर्ण, भेदभावरहित र समावेशी समाजको परिकल्पना गरे पनि अवस्था यथावत् रहेको भन्दै साझाले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।
छुवाछुत उन्मुलनका लागि उपयुक्त संयन्त्र निर्मााण गर्न र राष्ट्रियस्तरमै सामाजिक सचेतना कार्यक्रमहरू सुरु गर्न पनि साझाले सरकारलाई सुझाएको छ ।
प्रतिक्रिया 4