Comments Add Comment

विकास आयोजनाको प्रगति विवरण हेर्ने अधिकार प्रधानमन्त्रीलाई मात्रै !

१४ जेठ, काठमाडौं । अधिकारहरु आफूमा केन्द्रित गरेको भनेर प्रधानमन्त्री केपी शर्माको आलोचना भइरहेको बेला सबै विकास आयोजनाहरुको प्रगति विवरण प्रधानमन्त्रीले हेर्ने र निर्देशन दिने व्यवस्थासहितको विधेयक आएको छ ।

राष्ट्रिय सभामा मंगलबार पेश भएको ‘अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा विकास आयोजनाको अनुगमन र मुल्यांकन गर्न र आवश्यक निर्देशन दिन प्रधानमन्त्रीको अध्यक्षतामा सर्वोच्च निकाय (समिति) गठन गरिने उल्लेख छ ।

उक्त सर्वोच्च निकाय (राष्ट्रिय विकास समस्या समाधान समिति) लाई संघीय सरकार अन्तर्गतका विकास योजनाहरूको समीक्षा गर्ने, आवश्यक निर्देशन दिने, अन्तरमन्त्रालय र नीतिगत समस्या समाधान गर्ने, लक्ष्यअनुसार काम भए/नभएको सम्बन्धमा छानबिन गराउने लगायत अधिकार रहनेछन् ।

प्रधानमन्त्री नेतृत्वको समितिले आफैँ आयोजनाहरुको अनुगमन गर्नेछ भने अनुगमन तथा मूल्यांकनको जिम्मेवारी पाएका निकायहरुले तेस्रो पक्षलाई समेत अनुगमनको जिम्मा दिनुपर्नेछ

प्रधानमन्त्रीको अध्यक्षतामा रहने समितिमा संघीय सरकारका मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरु, मुख्य सचिव र अर्थ मन्त्रालयका सचिव सदस्यका रुपमा रहनेछन् । राष्ट्रिय योजना आयोगका सचिवले सदस्य सचिवको जिम्मेवारी पाउनेछन् ।

यसैगरी, संघीय सरकारका सम्बन्धित मन्त्रीको अध्यक्षतामा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति गठन गर्ने व्यवस्था छ ।

मन्त्रालयस्तरीय समितिलाई आफ्नो मन्त्रालयअन्तर्गतको योजना कार्यान्वयनको समीक्षा गर्ने अधिकार दिइनेछ । र मन्त्रालयस्तरीय समितिले द्वैमासिक, चौमासिक र वार्षिक रुपमा प्रधानमन्त्री अध्यक्ष रहने समितिलाई प्रगति विवरण उपलब्ध गराउनुपर्ने हुन्छ ।

प्रदेश सरकार र स्थानीय तहले समेत कानुन बनाएर आफू मातहतका विकास आयोजनाको अनुगमन गर्न सक्नेछन् ।

तर, प्रदेश सरकारले अनुगमन प्रतिवेदन प्रधानमन्त्री नेतृत्वको समितिमा र स्थानीय तहले प्रदेश सरकारको सम्बन्धित मन्त्रालयमा पठाउनुपर्ने हुन्छ । स्थानीय तहबाट प्राप्त प्रतिवेदन प्रदेशले केन्द्रमा पठाउनुपर्ने हुन्छ ।

अर्थात्, प्रधानमन्त्री नेतृत्वको समितिले आफैँ आयोजनाहरुको अनुगमन गर्नेछ, मन्त्रालयस्तरबाट भएको, प्रदेश सरकारबाट र स्थानीय तहबाट भएको विकास आयोजनाको अनुगमन प्रतिवेदन अध्ययन गर्नेछ । र आवश्यक निर्देशन दिन सक्ने व्यवस्था विधेयकमा समेटिएको छ ।

तेस्रो पक्षबाट अनुगमन, मूल्यांकनको पनि मूल्यांकन

अनुगमन तथा मूल्यांकनको जिम्मेवारी पाएका निकायहरुले तेस्रो पक्षलाई समेत अनुगमनको जिम्मा दिन सक्ने प्रस्तावित व्यवस्था छ ।

तेस्रो पक्ष भन्नाले, ‘आयोजनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वार्थ नजोडिएको व्यक्ति वा समूह’ भनिएको छ ।

विधेयकमा अनुगमन गर्ने निकायले प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । तयार प्रतिवेदन सम्बन्धित मन्त्रालय वा निकायको वेबसाइटमा राख्नुपर्ने व्यवस्थालाई अनिवार्य गरिएको छ ।

यसैगरी, विकास आयोजनाको अनुगमन तथा मूल्यांकनको पनि मूल्यांकन गर्ने व्यवस्था प्रस्तावित विधेयकमा छ ।

मूल्यांकन प्रभावकारी नहुने र मूल्यांकनमा समेत अनियमितता हुने गरेको भन्दै कतिपयले मूल्यांकनको पनि मूल्यांकन हुनुपर्ने आवाज उठाउँदै आएका छन् । यो विषयलाई प्रस्तावित विधेयकले समेटेको छ ।

प्रधानमन्त्री कार्यालयले कुनै पनि निकायले गरेको अनुगमन तथा मूल्यांकनको पुनः अनुगमन तथा मूल्यांकन गराउन सक्ने व्यवस्था विधेयकको दफा ८ को उपदफा १ मा उल्लेख छ ।

संघीय मन्त्रालय र प्रदेश सरकारले आफू भन्दा तल्लो निकायले गरेको अनुगमन र मूल्यांकन अपुरो लागेमा पुनः अनुगमन तथा मूल्यांकन गराउन सक्नेछ ।

विकासलाई पारदर्शी बनाउन विधेयक : कानुनमन्त्री तुम्बाहाङ्फे

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट विधेयक पेश गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफे विकासलाई पारदर्शी बनाउन विधेयक ल्याइएको बताइन् ।

आयोजनाहरुको नियमित अनुगमन तथा मूल्यांकन गर्ने र सार्वजनिक निकायका प्रमुखको जिम्मेवारी तोकेर जवाफदेहिता कायम गर्ने उद्देश्यले विधेयक आएको कानुनमन्त्री तुम्बाहाङफेको भनाइ छ ।

विकास आयोजनालाई परदर्शी रुपमा समयमै सम्पन्न गर्नका निम्ति अनुगमन तथा मूल्यांनका लागि छुट्टै निकाय गठनको प्रस्ताव गरिएको उनले बताइन् ।

विधेयकमा विकास आयोजनाको अनुगमन तथा मूल्यांकनका लागि प्रधानमन्त्रीको नेतृत्वमा सर्वोच्च निकाय रहने गरी छुट्टै निकाय गठनको प्रस्ताव गरिएको छ ।

संघीय मन्त्रीको नेतृत्वमा सम्बन्धित आयोजनाका लागि समिति गठन गर्न सक्ने, प्रदेश र स्थानीय तहले पनि अनुगमन निकाय गठन गरेर अनुगमन गर्न सक्ने लगायतका व्यवस्था पनि समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment