Comments Add Comment

रौतहटको क्वारेन्टाइन : बोरा ओछ्याएर सुत्नुपर्छ, खाना घरबाट आउँछ

१४ जेठ, रौतहट । बुधबार थप ३५ जनाको रिपोर्ट पोजेटिभ आएसँगै रौतहटमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १०० नाघेको छ ।

भारतमा यातायात सेवा सुचारु भएसँगै घर फर्किनेसँगै क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढ्दो छ । र, पछिल्लो थपिएका संक्रमित क्वारेन्टाइनमा बस्नेहरु छन् ।

अहिले रौतहटमा १८ पालिकाको ३८ क्वारेन्टाइनमा ३ हजार १७४ जना बसेका छन् । सबैभन्दा धेरै राजपुर नगरपालिकामा छन् । ११ क्वारेन्टाइनमा दुई हजारबढी रहेको राजपुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताए ।

क्वारेन्टाइनमा बस्नेको संख्या बढेसँगै उनीहरुको व्यवस्थापन र खानपानमा समस्या भएको छ । ‘क्वारेन्टाइनमा दिइने खाना निल्नै नसक्ने हुन्छ । त्यसैले घरबाटै खाजा र खाना मगाएर खाने गरेको छु’ राजदेवी नगरपालिकाको नेमधारी वासुदेव क्वारेन्टाइनमा रहेका एक युवकले अनलाइनखबरसँग भनेका छन्, ‘त्रिपाल र प्लास्टिकमाथि तन्ना ओछयाएर भुँईमा सुत्नुपर्छ ।’ उनकाअनुसार कोही विद्यालयको बरण्डा, र कोही चौरीमै नै सुत्ने गरेको छन् ।

विद्यालयमा बनाइएको क्वारेन्टाइनमा खानेपानी र शौचालयको सबै भन्दा बढी समस्या रहेको उनले बताए । १४० जनाका लागि एकमात्र धारा छ भने शौचालय पनि कम छ । सेनेटाइजर र साबुन घरबाटै मगाउनु परेको उनले बताए ।
राजदेवी नगरपालिकाको मात्रै होइन, रौतहटका अधिकांश क्वारेन्टाइनको अवस्था उस्तै छ । घरबाटै खाना पुर्‍याउँदा क्वारेन्टाइन स्थलमा भीड पनि हुन थालेको छ । जुद्ध उच्च माविमा रहेको क्वारेन्टाइनमा खाना र अन्य सामान पुर्‍याउनेहरु क्वारेन्टाइनभित्रै पसेर भेटघाट, कुराकानी गर्ने गरेको पाइएको छ ।

यसले क्वारेन्टाइन स्थलबाट समुदायमा समेत कोरोना संक्रमण फैलिने खतरा बढेको छ ।

क्वारेन्टाइनमा रहेका आफन्तलाई खाना पुर्‍याउन लाइन लागेकाहरू ।

स्थानीय तहहरुले पनि भारतबाट फर्किएकाहरुको व्यवस्थापन गर्न नसक्ने बताउन थालेका छन् ।

राजपुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले भने ‘बैरियाको एउटै क्वारेन्टाइनमा भारतबाट फर्किएका ५१० जना छन् । सबै क्वारेन्टाइनमा बस्नेको संख्या जोडदा दुई हजारसम्म पुग्छ ।’

निमित प्रमुख प्रशासकीय अधिकृत ठाकुरले अघि भनेका छन्, ‘सिमित श्रोत साधन भएको नगरपालिकाले यो चाप थेग्न सक्दैन । हामी नसक्ने अवस्थामा छौं, जिल्ला विपत व्यवस्थापन समिति, प्रदेश र केन्द्रले पनि सहयोग गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment