Comments Add Comment

भलिबल कप्तानलाई खेलको न्यास्रो, फिटनेसको चिन्ता

१४ जेठ, काठमाडौं । इम रानाले भलिबल खेल्न थालेको डेढ दशक बितिसक्यो । भलिबलबाटै उनले नाम र पहिचान पाए । नेपाल प्रहरीका जागिरे समेत बने । एक दशक त उनले राष्ट्रिय टिममै बिताइसके ।

तर, इम अहिले भलिबलबाट टाढा छन् । उनले भलिबल छाडेका होइनन् । अहिलेको समय नै यस्तै छ । कोभिड–१९ को महामारीले विश्वभर खेलकुद गतिविधि ठप्प छ । नेपालमा पनि कुनै खेलकुद गतिविधि भएका छैनन् । त्यसमाथि चैतदेखि निरन्तर लकडाउन भएकाले इम पनि घरभित्रै कैद छन् ।

डेढ दशकको अवधिमा उनले कहिल्यै भलिबलबाट यति लामो समय टाढा बस्नु परेको थिएन । अहिले अरु खेलाडीजस्तै उनको दैनिकी फेरिएको छ । सरकारले लकडाउन घोषणा गर्नुभन्दा ३ दिनअघि उनी केही दिनको छुट्टी मिलाएर कास्की जिल्ला रुपाकोट गाउँपालिकास्थित घर पुगेका थिए । उनले सोचेका पनि थिएनन् उती लामो समय घरमै बसिएला भन्ने ।

लकडाउनको अवधी थप्दै गएपछि उनको घर बसाई लम्बियो । अहिले पनि उनी गाउँमै बसिरहेका छन् । लामो समय अभ्यास गर्न नपाउँदा फेरि भलिबलमा फर्किन गाह्रो होला कि भन्ने चिन्ता इमलाई छ ।

उनी घरमा भए पनि आफ्नो परिवारसँगै छैनन् । छोराको परीक्षा सकिएपछि श्रीमती पनि नवरपरासी गएकी थिइन् । उतै लकडाउन भइन् । इम तत्कालै काठमाडौं फर्कन सक्ने अवस्थामा पनि छैनन् ।

‘म त हप्ता १० दिन त होला भनेर खासै योजना नबनाई घर आएँ । यतै लक्ड भइयो,’ रुपाकोट गाउँपालिका वडा नम्बर ६ मा रहेका इमले अनलाइनखबरसँग भने, ‘परिवार अहिले नवलपरासी गएको छ । म यता अड्किएँ । उनीहरु उता अड्किएँ ।’

राष्ट्रिय टिमका कप्तान इम नेपाल पुलिस टिमका पनि कप्तान हुन् । राष्ट्रका लागि खेलिरहेका उनी आफ्नो जागिरमार्फत राष्ट्रसेवक रुपमा खटिइरहेका छन् । लामो समय लकडाउन भएपछि इमले गाउँ नजिकै रहेको प्रहरी चौकीमा हाजिर गरिरहेको बताए ।

सुरक्षाको हिसाबले भने गाउँमै राम्रो रहेको उनको अनुभव छ । गाउँ भित्रिने सबै नाकाहरु बन्द गरिएकोले पनि सुरक्षित महसुस भएको उनले सुनाए ।

लकडाउनको अनुभव कस्तो भइरहेको छ ? भन्ने प्रश्नमा इम भन्छन्, ‘गाह्रो छ हौ । न खेल्न पाइन्छ, न ट्रेनिङ नै गर्न पाइन्छ ।’

घर नजिकै स्थानिय खेलाडीहरुले खेल्ने मैदानमा इम पनि कहिलेकाहीँ जान्छन् । तर भलिबल एउटा मात्रै भएकोले उनी त्यहाँ ट्रेनिङ गर्न पाउँदैनन् । अहिले उनी घरकै काम गरेर शरीरबाट पसिना निकाल्ने काम गरिरहेका छन् ।

टिम कप्तान भएकोले नेपाल भलिबल संघका पदाधिकारी, राष्ट्रिय टिमका खेलाडी र आफ्नै पुलिसका टिमका खेलाडीहरुसँग उनको सम्पर्क भइरहन्छ ।

‘खेलाडी भाइहरुसँग निरन्तर कुरा गरिरहेको छु । संघको अध्यक्ष, महासिचवले पनि फोन गरिरहनुभएको छ । सबै खेलाडीहरुलाई बल खेल्न सम्भव नभए पनि फिटनेसमा ध्यान दिनु भनेर छु,’ इमले भने ।

पुलिस, आर्मी, सशस्त्रमा रहेका सबै खेलाडीहरुलाई सुझाव दिइरहेको उनले बताए । ‘सबै खेलाडीले हेल्थ र फिटनेस कायम राख्नुपर्छ । खेलेर हुन्छ कि काम गरेर हुन्छ, एक्टिभ रहन भनेको छु,’ इमले भने ।

नेपालमा लकडाउन हुनुअघि पुरुष टिमले एभिसी सेन्ट्रल जोन भलिबलका लागि तयारी शरु गरिसकेको थियो । तर प्रतियोगिता सर्ने भएपछि प्रशिक्षण पनि रोकियो । गत चैतमै बंगलादेशमा हुने तय भएको सेन्ट्रल जोन सेप्टेम्बरसम्मका लागि सरेको थियो । तर कोरोनाको संक्रमण बढिरहेकोले त्यसबेला पनि सेन्ट्रल जोन हुने नहुने अन्योल नै छ ।

अब लकडाउन खुल्ने बित्तिकै संघले बोलाउनासाथ प्रशिक्षणमा जानेगरि तयारी अवस्थामा रहेको इमले बताए ।

‘लकडाउन खुलेर क्याम्पमा राखिने भयो भने फिटनेसमा समस्या नहोस भनेर साथीहरुलाई भनिरहेको छ,’ इमले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment