Comments Add Comment

गण्डकी सरकारको बजेट प्राथमिकता : स्वास्थ्य, पूर्वाधार र रोजगारी सिर्जना

१४ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले स्वास्थ्य, कृषि, रोजगारी र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउने भएको छ ।

स्वास्थ्य संस्थाहरुको अवस्था सुधार गर्न र स्वास्थ्य क्षेत्रलाई विशिष्टीकृत गर्ने कामलाई गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।

‘विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस कोभिड–१९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारको अभियानलाई प्रभावकारी बनाउन आवश्यक स्रोत र साधन सुनिश्चित गरिने छ,’ बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै प्रदेश सरकारका आर्थिक मामिलामन्त्री किरण गुरुङले भने ।

क्वारेन्टिनको गुणस्तर र क्षमता अभिवृद्धि तथा व्यवस्थापन, संक्रमितहरूको प्रभावकारी उपचारका लागि प्रदेश सरकारले विशेष अस्पताल स्थापना गर्ने भएको छ ।

जिल्ला अस्पतालहरूमा शय्या थप गरी सघन उपचार कक्ष स्थापना एवं पर्याप्त पीसीआर परीक्षणको व्यवस्था गर्न आवश्यक बजेट विनियोजन गर्ने अर्थमन्त्री गुरुङले सुनाए ।

कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएकाहरूलाई रोजगारी प्रदान गर्ने सरकारले विशेष कार्यक्रम ल्याउने उनले बताए ।

अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न संक्रामक तथा सरुवा रोग अस्पतालको स्थापना र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्ने प्रदेश सरकारको तयारी छ । प्रदेशभित्र मुटु, मृगौला, क्यान्सर, मातृ तथा बालरोग सम्बन्धी विशिष्टीकृत अस्पताल निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बजेट प्राथमकिता र सिद्धान्तमा उल्लेख गरिएको छ ।

मनाङ र मुस्ताङमा तीन र अन्य ९ जिल्लामा पाँच शय्याको आईसीयूसहितको अस्पताल बनाउन सरकारले बजेट सुनिश्चित गरेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश मातहतका प्रयोगशालाहरुको पूर्वाधार विकास, आवश्यक उपकरण जडान, दक्ष जनशक्तिको व्यवस्थापन तथा क्षमता अभिवृद्धि गर्न बजेट छुट्याउने मन्त्री गुरुङले बताए ।

भौतिक पूर्वाधारमा पुरानैलाई प्राथमिकता

सरकारले चालु आर्थिक वर्षमा सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार छुट्याएको छ । यो वर्ष पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखे पनि धेरै बजेट भौतिक पूर्वाधारमै विनियोजन हुनेछ । यसमा धेरै योजना भने विगतकै निरन्तरता छ ।

प्रदेश गौरवका आयोजना, एक निर्वाचन क्षेत्र एक सडक, स्थानीय तहको केन्द्रलाई जिल्ला र प्रदेश केन्द्र जोड्ने तथा रणनीतिक महत्वका सडक पूर्वाधार निर्माणका कार्यक्रमलाई सरकारले निरन्तरता दिने छ ।

बृहत पोखरा चक्रपथ, प्रदेश बसपार्क र मेट्रो बसपार्कको सम्भाव्यता अध्ययन तथा निर्माण गर्ने कार्यक्रम पनि प्रदेश सरकारको प्राथमिकतामा छ ।

सरकारले १ वर्षभित्र सबै घरधुरीमा बिजुली र खानेपानी पुर्‍याउने लक्ष्य राखे पनि पूरा गर्न सकेको थिएन । अबको आर्थिक वर्षमा त्यसलाई पूरा गर्ने गरी बजेट ल्याउने योजना छ ।

प्रदेश प्रशासनिक भवन, प्रदेश सभा भवन तथा विभिन्न वहुउद्देश्यीय सामुदायिक भवन, जग्गा एकीकरण गरी एकीकृत सहरी विकास कार्यक्रम र पोखरा स्याट्लाइट सिटी (उपसहर) निर्माण गर्ने योजनालाई पनि सरकारले दिने भएको छ ।

प्रभावित क्षेत्रको वर्गीकरण गरी कार्यक्रम

महामारीबाट प्रभावित भएका पर्यटन क्षेत्र, यातायात सेवा, कृषि, लघु, घरेलु, साना तथा ठूला उद्योग व्यवसायहरूको वर्गीकरण गरी जीवन्तता प्रदान गर्ने कार्यक्रम ल्याउने प्रदेश सरकारको योजना छ ।

प्रदेश सरकारको स्वीकृत दरबन्दी भन्दा थप व्ययभार सिर्जना नहुने गरी प्रशासनिक संरचना खडा गर्ने अर्थमन्त्री गुरुङले बताए ।

लोकाहा खोला नवलपुर र पुँडिटार कास्कीमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना गने योजनालाई सरकारले निरन्तरता दिने भएको छ । लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन र स्वरोजगारका अवसर सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकता दिने मन्त्री गुरुङले सुनाए ।

कोरोना महामारीकाा कारण शिथिल हुन गएका पर्यटन क्षेत्रलाई पुनर्उत्थान गर्न ऋणमा पुनर्तालिकीकरण, ब्याजमा अनुदान तथा थप कर्जा प्रवाह गर्न गराउन बैंकिङ तथा वित्तीय संस्थालाई समन्वय र सहजीकरण गर्ने र प्रदेशको स्रोत तथा साधनको आधारमा विशेष कार्यक्रम ल्याउने सरकारले घोषणा गरेको छ ।

वैकल्पिक रोजगारीको व्यवस्था हुने

सरकारले रोजगार गुमाएकालाई सीपअनुसारको वैकल्पिक रोजगारीको व्यवस्था गर्ने भएको छ । कोरोना महामारीका कारण रोजगारी गुमेका श्रमिकहरूको सीप र क्षमताका आधारमा वैकल्पिक रोजगारीको व्यवस्था गर्ने मन्त्री गुरुङले बताए ।

आर्थिक विकास, सामाजिक परिवर्तन तथा उत्पादनका क्षेत्रमा युवाहरूको श्रम र सीप परिचालन गर्ने विभिन्न कार्यक्रमलाई जोड दिने भएको छ ।

कृषि क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्दै उत्पादनमा आत्मनिर्भर हुने कार्यक्रमलाई प्राथमिकता दिइने आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले बताए ।

शिक्षण अस्पताल निर्माण गरिने

गण्डकी प्रदेश सरकारले आफ्नै शिक्षण अस्पताल बनाउने भएको छ । सरकारले चलाउने गण्डकी विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल गर्ने मन्त्री गुरुङले बताए ।

गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानको भौतिक पूर्वाधार विकास तथा सञ्चालन गर्ने कार्यक्रमलाई सरकारले निरन्तरता दिने भएको छ ।
प्रत्येक निर्वाचन क्षेत्रमा एक एक वटा आदर्श विद्यालय र नमूना आवासीय विद्यालयको रुपमा विकास गर्ने कार्यक्रमलाई पनि सरकारले प्राथमिकता दिएको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठान र बहुसाँस्कृतिक ग्रामको स्थापना गर्ने र भौतिक पूर्वाधार विकास गर्ने सरकारले योजना ल्याएको छ ।

खेलकुद क्षेत्रको विकासका निम्ति पूर्वाधार निर्माण, विभिन्न खेलकुद प्रतियोगिताको आयोजना, खेलाडीलाई प्रोत्साहन तथा खेलकुद क्षेत्रको समग्र विकासका लागि नीति, कानून र संरचना निर्माणमा जोड दिने सरकारको योजना छ ।

आगामी वर्ष पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेट विनियोजन गर्ने सरकारले घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षमा प्रदेश लोकसेवा आयोग र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानलाई स्रोत र साधन सम्पन्न बनाई क्रियाशील गराउन सरकारले बजेटको व्यवस्था गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment