Comments Add Comment

सेनाले चीनबाट ल्यायो १४ टन स्वास्थ्य सामग्री

१५ जेठ, काठमाडौं । नेपाली सेनाले चीनबाट हवाई मार्ग हुँदै दोस्रो खेप स्वास्थ्य सामाग्री ल्याएको छ । २८ हजार पीसीआर किट, पीपीईलगायतका सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

सेनाको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको हवाई जहाज बुधबार चीनको ग्वान्झाओ गएको थियो । नेपाली सेनाले बुधबारको पत्रकार सम्मेलनमा २८ टन स्वास्थ्य सामग्री दोस्रो लटमा ल्याउने बताए पनि १४ टन मात्रै सामग्री आएको छ ।

३० वटा पोर्टेबल एक्सरे मेसिन रहेकाले अहिले हवाईमार्गबाट भने जति सामान ल्याउन नसकिएको सैनिक प्रवक्ता पाण्डेले बताए । बाँकी सामग्री अब स्थलमार्गबाट तातोपानी भन्सार नाका हुँदै ल्याउने उनले बताए ।

यसअघि ६ जेठमा सेनाले १८.९ टन स्वास्थ्य सामग्री पहिलो चरणमा हवाई मार्गबाट ल्याएको थियो ।

ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनलसँग भएको सम्झौता विवादित बनेपछि सरकारले त्यसलाई रद्द गर्दै स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको सेनालाई दिएको थियो । तर सेनाले पनि लामो समय स्वास्थ्य सामाग्री ल्याउन नसकेपछि आलोचना भएको थियो ।
जंगीअड्डाले पहिलो चरणमा हवाई मार्गबाट मे ५ तारिखमा ३७ टन स्वास्थ्य सामग्री ल्याउने बताए पनि आएन । भन्सारको प्रक्रिया र चीनमा सरकारी विदाको कारण समयमा सामान ल्याउन नससकेको उसको दाबी थियो ।

त्यसो त पहिले हवाई मार्गबाट सामान ल्याउने भनिए पनि ढिलाइ भएपछि सेनाको कन्टेनरले स्थलमार्गबाट पहिले ९ टन स्वास्थ्य सामग्री काठमाडौं ल्याएको थियो । तातोपानी नाका हुँदै काठमाडौंसम्म आइपुग्न १० वटा ट्यांकरलाई १३ दिन लागेको थियो ।

अब थप अत्यावश्यक स्वास्थ्य सामग्री स्थलमार्गबाटै ल्याउने सेनाको तयारी छ । सेनाले तीन सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने गरी दुई अर्ब २५ करोढ बढीको सम्झौता ९ वैशाखमा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment