Comments Add Comment

कसरी भनुँ म बाहुन !

कलेजताकाको कुरा हो । कोठा साथी थिए कडा ब्राह्मण परिवारका । उनी बाहिर जे देखिन्थे भित्र त्यो थिएनन् । त्यो उनको बाध्यता रहेछ । उनको घर पुगेपछि कारण थाहा पाइयो ।

बुबा कट्टर रहेछन् । छोराको प्रशंसा शुरु गरे यसरी –मलाई मेरा छोराछोरीप्रति गर्व छ । जाँडरक्सी त के, कसैले कुखुरासम्म चाखेका छैनन् । दायाँ बायाँ पनि गर्दैनन् । कान्छो पनि लाइनको छ । यस्तासँग संगत गर्दा तपाई‌ंलाई फाइदै हुन्छ ।

म हो मा हो मिलाउँदै गएँ । तर, उनको कथन इन्द्रका अगाडि स्वर्गको बयान जस्तो फिक्का थियो । उनको छोराको बास्तविक रुप उनले भन्दा बढी मैले देखेको थिएँ । बुढा पालैपालो आफ्ना सन्तानको प्रशंसामा मस्त थिए ।

मूलको पानी र कूलका छोराछोरी भनेका उस्तै हुन् बाबु, जहाँ भएपनि उत्कृष्ट । बैदेशिक रोजगारमा रहेका छोराको प्रसंगमा बुबा झन पुलकित सुनिए । यति ज्ञानी छ कि साहूले खुब पताएको छ । उनले यसो भन्दै गर्दा छिमेकी टोलकी दमाइनी आमै सिरक तङ्ग्न आइपुगिन् । उनले बाजेलाई जदौ गरिन् । छोराको बखानमा ब्यवथान भएकोमा बाजे प्रसन्न थिएनन् । प्याच्च जवाफ फर्काए–ल ल, उतै बस । दमाइनी आमैले सहमतिमा मुन्टो हलाइन् र, आँगनको कुनामा टुक्रुक्क बसिन् । उनी फेरि छोराको कुरामा फर्के ।

साहूले एकदमै माया गर्दोरहेछ । छोरालाई जस्तो माया गर्छ रे । कम्पनीमा आएको बेला एउटै थालमा खान्छ रे । इमान्दार भएपछि मुसलमानले नि माया गर्छन, बाबु ।

मर्दा र पर्दा चाहिने आफ्नै टोलकी आफ्नै धर्मावलम्भी दमाइनी कता पिँढींमा आउलिन् भनेर दूर्दूर गर्ने । उता छोराले अर्कै धर्मावलम्बी साहूको जूठोे खाएकोमा गर्व गर्ने ? यो भन्दा ढोंग अरु के होला ?

यस्ता हजार उदाहरण प्रस्तुत गर्न सकिन्छ ।

म हुर्केको ठाउँ नजिकै थियो बनघुस्री गाउँ । सो ठाउँ जमिन्दारीका लागि प्रख्यात थियो । कुनै जमानाका नेपालकै धनी हरिहर उपाध्यायको दरबार थियो त्यहाँ । टाढा टाढाबाट ठूलाबडा हात्तिमा सवार हुन्थे सो ठाउँमा । धनीमानी, जमिन्दार, राजारजौटाका लागि आकर्षक थियो बनघुस्री । तर, आकर्षणको गुह्य बेग्लै थियो । त्यहाँ थियो बादी समुदाय । यौन प्यास मेटाउनका लागि ठूलाठालू बनघुस्री धाउँथे । भित्र भित्र सबै चल्थ्यो । बाहिरफेर बादी समुदायको पानीपनि चल्दैनथ्यो । जसको ससर्गबाटबिना बाउको बच्चाकी आमा बन्नु परेको छ उसैले समाजका अगाडि अछुतको ब्यबहार गर्दा ती महिलालाई कति पीडा हुँदा हो ?

यस्तै यस्तै अनेक रंगबिरंगी समाज र पात्र देखेर हुर्कियो ।

अंग्रेजीको स्नातकोत्तर तहका लागि थेसीस गर्नु पर्ने भयो । धेरै बिषय केलाइ सकेपछि निष्कर्षमा पुगेँ –जातिय छुवाछुतकै बारेमा अध्ययन गर्ने ।

जातिय छुवाछुतका बारेमा अध्ययन गर्न थाल्दा धर्मग्रन्थको पनि अध्ययन गरियो । कतिपय शास्त्रका प्रसंग त चित खुवाउने खालका छन् ।

विष्णु पुराणमा यस्तो लेखिएको रहेछ । प्राणानर्थांस्तथा दारान् ब्राह्मणर्थे निवेदयेत् । स शूद्रजातिर्भोज्यः स्यादभोज्यः शेष उच्यते ।। जसको अर्थः हुन्छ, “जुन शूद्रले आफ्नो प्राण, धन तथा पत्नीलाई बाहुनको सेवामा अर्पण गरिदिन्छ, त्यस शूद्रको अन्न भोजन गर्न योग्य हुन्छ । बाँकी शूद्रहरुको अन्न भोजन गर्न योग्य हुँदैन ।” छुत हुनका लागि शुद्रले आफ्नो पत्नी, सम्पत्ति र जीवन नै बाहुनलाई दिनुपर्ने ?

हैट बाहुन हुँ पनि कसरी भन्नु ?

अछुतहरुलाई पूजापाठ गर्न पढ्न कस्ले रोकेको थियो र ? यो ओठे प्रश्न यदाकदा सुन्ने गरिन्छ । तर, शास्त्र अध्ययन गर्दै जाादा छुतहरुलाई ब्रह्मण कर्म गर्न रोकेको देखिन्छ । मनुस्मृतिमा लेखिएको छ –वध्यो राजा स वै शुद्रो जपहोमरश्य यः (महिर्षि अत्रि भन्छन्ः राजाले जपहोम आदि ब्राह्मणोचित कर्म गर्ने शुद्रलाई मारिदिनु नै उचित हुन्छ) ।

बिद्रोह अछुतहरुका लागि बर्जित थियो । उच्च जातिका बिरुद्धमा जाइलाग्ने दुस्साहस गरेमात्र पनि प्राण हरण हुन सक्थ्यो । मनु भन्छन्–येन केनचिदङ्गेन हिंस्याच्चेच्छे«ष्ठमन्त्यजः । छेत्तव्यं तत्तदेवास्य तन्मनोरनुशासनम् । अर्थ हुन्छ– शुद्रले श्रेष्ठ जातीलाई आफ्ना हात–खुट्टा आदि जुन अंगले प्रहार गर्छ, राजाले त्यसको त्यही अंग काटिदेओस् ।

पढ्दै जादा थाहा भयो जात त राजा महाराजको तजबिजको कुरा रहेछ । राजा महाराजले इच्छाए कसैको जात च्युत वा बढुवा हुन्थ्यो । पृथ्वी नारायण शाहले कीर्तिपुरमा आक्रमण गर्दा आफूलाई बचाएर गोरखा पुर्‍याउने तल्लो जात भनिएको दुशर जातिलाई अलिक माथिल्लो मानिने पुतवर जातमा बढुवा गरिदिएका रहेछन् । श्री ३ जंग बहादुर राणाले अछुत मानिएका मेचेको पानी चल्ने बनाएका रहेछन् । जंग बहादुरको ‘मुलुकी ऐन’ले नेपाली समाजका सबै जाति जनजातिहरुलाई उचनिचताको सामाजिक मर्यादामा बाँडेको रहेछ । यस अघि लिच्छबी राजा सुपुष्पदेव बर्माले र तत् पश्चात् राजा जयस्थिति मल्लले नेपाली समाजलाई हिन्दु वर्ण व्यवश्थानुसार बिभाजित गरे भनि इतिहासविद् बालकृष्ण शर्माले हाम्रो समाज एक अध्ययन(२००८)मा लेखेका छन् ।

दलितभित्रै छुवाछुत

भान्जामा धर्मशास्त्रप्रतिको रुची देखेर मामा दंग हुनुहुन्थ्यो । शास्त्र र भगवानका अनेक प्रसंगलाई बडो मिठास पाराले ब्याख्या गर्ने मामा (जगन्नाथ पोखरेल, बर्दिया) सँग आफूले ‘पत्ता लगाएका’ प्रसंग सुनाउँदै म जोरी खोज्थे । थेसिस अध्ययनको शुरु शुरुको चरण थियो । उहाँले सुनाएको एउटा किस्सा मेरो अध्ययनका लागि बहुतै उपयोगी साबित भयो । सो किस्सा उल्लेख गर्नु भन्दा पहिला किस्साको सार भन्छु–दलितहरु बाहुनले छोइछिटो गर्‍यो भन्छन्, अनेक कुरा गर्छन् । तर, उनीहरुले एक आपसलाई गर्ने छोइछिटो हामीले उनीहरुलाई गर्नेभन्दा चर्को छ । ती आफैँले आफैँलाई अछुत र छुत भन्ने हामीले चाहीँ तिनको पूजा गर्नुपर्ने ?

अब किस्साको पालो । हाम्रा बुढा मावलीका पाँच भाइ छोरा । पर्वत दुर्लुङका भातचौरो साहुका रुपमा नामी परिवार रे । पाँच भाइ छोराका दर्जनौँ नातिहरु हाम्रा मामा भए । तीनै नाति मध्ये एकजना प्रधानपंच हुनुभएछ । बहुदल आउने बेला दलितहरु जुरमुराएछन् । नाराजुलुश भएछ । बाहुनहरुले हेपेको भन्दै दमनका बिरुद्ध आन्दोलित भएछन् । बहुदल आयो । मामा चुनावमा फेरि उठ्नुभएछ । भोट माग्दै मामा कामी टोल पुग्नुभएछ । कामीहरुले मामालाई घेरेछन् । र, भनेछन्–हामी तपाईँलाई भोट दिन्छम् बाजे तर एउटा सर्त छ । चुनावको मुखमा जस्तो सर्त पनि मान्नुपर्ने उम्मेदवारको धर्म हो । मामाले सोध्नुभएछ– तिमीहरु मेरा दाजुभाइ हौ, तिमीहरुले भनेपछि नमान्ने कुरा हुन्छ । ल भन ।

कामीहरुले भनेछन्–हाम्रो टोलमा भोज लाउँछम । हामी नै सबै कुरा तयार गर्छम । तपाई हामीसँगै बसेर खानुपर्छ ।

केही सरसहयोग, धारापानीको कुरा होला भनेर सहजै हुन्छ भनेका मामाका लागि यो प्रस्ताव अनपेक्षित थियो । हुन्छ भनौँ, भएभरका बाहुन क्षेत्री कूलकुटुम्ब रिसाउने, हुन्न भनौँ कामी टाढिने । चिटचिट पसिना छुट्नु स्वभाविक थियो ।

आइडियावाला मामाले बुद्धि लडाउनुभएछ । र, प्रतिप्रस्ताव गर्नुभएछ –मलाई तिमीहरुसँग बसेर खान के को गाह्रो । यसो गरौँ, भोजमा तल सार्की टोलका लाई पनि बोलाम् । उनीहरु र तिमीहरु मिलेर खाना बनाउने । अनि सबै सँगै बसेर खाने । यहाँ एक दिन त्यहाँ अर्को दिन गर्ने हो भने टोलैपिच्छे भोज गर्नुपर्छ ।

मामाको यो प्रस्ताबले उल्टो कामीहरुको पसिना छुटेछ । कामीहरु मुखामुख गर्न थालेछन् । अन्तिममा अगुवा कामीले भनेछन्–भैगो बाजे भोजसोज, भोट तपाईलाई नै दिन्छम् ।

मामाले यो किस्सा नभन्दासम्म मैले पानी चल्ने र पानी नचल्ने जातबीचको बिभेदमा मात्र केन्द्रीत रहेर अध्ययन गरेको थियो । मेरो अध्ययन फराकिलो हुने भयो । मैले पानी नचल्नेहरुका बीचमा हुने बिभेदका बारेमा पनि अध्ययन थालेँ । बिषय त गम्भीर रहेछ । कामी समुदायले दमाईलाई, दमाईले गाईनेलाई, गाईनेले वादी र कुमाललाई अछुतको रुपमा व्यवहार गर्दोरहेछ । त्यहाँभित्र पनि उँचनिचको घनचक्कर रहेछ । बाहिर बाहुनले हेप्यो भनेर कुर्लने कामी आफैँले चाहीँ सार्कीलगायतलाई अछुत मान्दोरहेछ ।

जात न समाजमा थियो न धर्मशास्त्रमै

वैज्ञानिक अन्वेषण र धर्मशास्त्रबाट थाहा हुन्छ, मानव सभ्यताको शुरुमा जात भन्ने कुरा थिएन । जात नभएपछि जातिय भेद वा छुवाछुत पनि हुने भएन । बैज्ञानिक सोध अनुसारः सिनेजोइक युगको मियोसिन युगमा आजभन्दा करिब २ करोड ४० लाख वर्ष अगाडि ढेकुबाँदरको उत्पत्ति भएको र यही वंशको विकासक्रमबाट आजभन्दा २५ लाख वर्ष अगाडि ल्पिस्टोसिन युगमा आधुनिक मानवको उत्पत्ति भएको थियो (वल्र्ड बुक १९९६ः३०) । कालक्रममा शारिरीक श्रम, आहार विहार र तापक्रमको विविधताका कारण मानिसहरुको कद, वर्ण र संरचनामा फरकपन देखिदैगयो ।

धार्मिक दृष्टीकोणबाट पनि जातभात र छुवाछुत मानव निर्मित पुष्टि हुन्छ । ‘जात’ शब्दले मूलतः हिन्दु वर्ण ब्यवस्थाभित्र पर्ने ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र भित्रको कुनै एउटा वर्णलाई जनाउँदछ । धर्मशास्त्रका अध्येता विद्धान रजनीकान्त शास्त्रीले हिन्दु जातिका उत्थान औंर पतनमा ‘प्राचिन भारतीय आर्यहरुमा कुनै किसिमको जातिभेद थिएन’ भनि लेखेका छन् । एउटै आर्य परिवारमा वेदमन्त्रहरु कंठस्थ गरी देवताहरुको आरधाना गर्नेे सदस्य ब्राह्मण, शस्त्र धारण गरेर शत्रुहरुको सामाना गर्नेे क्षेत्री, पशुहरु र कृषि आदि कामको रेखदेखमा लाग्ने वैश्य तथा स्याहार सुसारजस्ता दासोचित कर्महरु गर्नेेलाई शुद्र भनियो ।

वेदमा जातका बारेमा उल्लेख छ । तर, जातलाई जन्मका आधारमा हेरिएको छैन, नत छुवाछुतकै सन्दर्भ छ । वेदमा मानिसको जात उसको कर्मले निर्धारण गर्ने प्रष्ट उल्लेख गरिएको छ । ऋग्वेदको यो रिचाले यसलाई पुष्टि गर्दछ– कारुरहं ततो भिषगुपलप्रक्षिणी नना । नानाधियो वसूयवोऽनु गा इव तस्थिमेन्द्रायेन्द्रो परि स्रव (ऋक् ।९।१२,१३) । जसको अर्थ हुन्छ, “हे सोम ! म मन्त्रकर्ता ऋषि हुँ, मेरा पिता चिकित्सक हुन् । मेरी आमा पत्थरमा अनाज पिस्नुहुन्छ । …हामीहरु धनोपार्जनको लागि नानाथरीका व्यवसायहरुद्धारा तिम्रो पूजा गर्छौं …. ।” एउटै परिवारका चार भाइ आआफ्नो भूमिका अनुसार ब्रहामण, क्षेत्री, बैश्य र शुद्र हुन्थे । पूजापाठ अध्ययन गर्ने बाहुन हुन्थ्यो । परिवारको सुरक्षामा खटिने क्षेत्री हुन्थ्यो । परिवारका लागि किनमेल गर्ने खेति किसानी गर्ने बैश्य हुन्थ्यो । बाबुआमाको स्याहारसुसारमा खटिने शुद्र हुन्थ्यो । एउटै व्यक्तिले पनि ती सबै भूमिका निर्वाह गर्नु पथ्र्यो । र, जे भूमिका निर्वाह गरेको छ, त्यतिबेला उसको जात त्यही हुन्थ्यो ।

वैदिक कालमा मानिस जन्मकै आधारमा ब्रह्माण हुँदैनथे । कर्मअनुसार जात फेरबदल हुन्थ्यो । ऋषिहरुकै जीबनीबाट यसको पुष्टि हुन्छ । व्यास माझीकी छोरीबाट, वशिष्ठ वेश्याबाट र विश्वामित्र एक क्षेत्रिनीको कोखबाट जन्मेका थिए । उनीहरु गुणयुक्त कर्मले ब्राह्मण स्विकारिए । महाभारतमा लेखिएको छ “गणिकागर्भ संभूतो वशिष्ठश्च महामुनिः । तपसा ब्राहमणो जातः संस्कारतन्त्र कारण्म” अर्थात महामुनी वशिष्ठ वेश्याको गर्भबाट उत्पन्न भएका थिए, तर उनी तपस्याको कारणले ‘ब्राह्मत्व’ प्राप्त गरे ।

काल परिवर्तन भएसँगै मान्यतामा परिवर्तन हुँदै गयो । रामायणकालमा जन्मका आधारमा जात तय हुन थालि सकेको थियो । पुरुषोत्तम रामले शुद्र भएर पनि तपस्या गरेको भन्दै शंवुकको गर्दन काटिदिएका थिए । छुवाछुत वा वर्ण व्यवश्थाको सन्र्दभमा धर्मशास्त्र आफैं विभाजित छन् ।

शक्ति संर्घषको उपज छुवाछुत

वेदमा उल्लेख भएको परिभाष अनुसार जातभात चलेको भए मानिस कर्ममा विश्वास गथ्र्यो । तर समाज सोहीरुपमा अघि बढेन । कालान्तरमा जात जन्मसिद्ध हुँदै गयो । मानव सभ्यता लडाइ र संघर्षबाट गुज्रिएको छ । जो जित्थ्यो उही कूलिन ठहरिन्थ्यो । हरुवा पक्ष अछुत दरिन्थ्यो । मनुस्मृतिमा भनिएको छ : ध्वजाह्तो भक्त–दासो गृहजः क्रीत–दत्रिमौ । पैत्रिको दंड–दासश्च सप्तैते दासयोनयः (मनु,८।४१५) । जसको मतलव, युद्धमा कैद भएको, पेट पाल्नका लागि दासत्व स्विकार गर्ने, घरकी दासीको छोरो, किनेर लिएको मान्छे, दानमा पाइएको, जसका पिता आदि पनि दास हुन्, र राजदण्डबाट बच्न निमित्त दास बनेको–यी सात प्रकारका मनुष्य दास(शुद्र) योनिका हुन् ।

भि.टी. राजशेखरले उनको पुस्तक दलित; द बल्याक अनटचेवल्स् अफ इण्डियामा लेखेका छन्ः आदिवासी जो लडे, हारे र गाउ परिधि बाहिर वन्दी बनाइए अछुत कहलाए । जो जंगल र पाहाडतर्फ कुलेलाम ठोके, ति जनजाति भए (४३) ।

विभेदले निम्त्याएको राष्ट्रिय विग्रह

कृषि बैज्ञानिक मदन राई हाम्रो समाजको सोच परिवर्तन नभएसम्म देश विकास नहुने ठोकुवा गर्छन । अमेरिका, बेलायत, फ्रान्सलगायतका बिकसित देशमा धेरै बर्ष बिताएका राईले हाम्रो दुरगतिको कारण हाम्रो संस्कारलाई मान्छन् । हामी यति विभक्त छौँ कि हाम्रो साझा लक्ष्य निर्माण हुनै सक्दैन । पुरुष र महिलाबीचको बिभेद, माथिल्लो जात र तल्लो जातबीचको बिभेद, कुर्सीमा बसेर काम गर्ने र श्रम गर्ने बीचको विभेदजस्ता अनेकौँ विभेदमा समाज देखिने गरि विभक्त छ । र, सो विभेदलाई समाजले देखिने गरि अपनाएको छ ।

चिन्तक विश्वभक्त दूलाल आहुती नेपाली समाजमा विभेद घरघरमा रहेको बताउँछन् । उपाध्याय बाहुन र जैशी बाहुनका बीचमा विभेद, जैशी र क्षेत्रीका बीचको विभेद, ल्याइते र ब्याइतेबीचको विभेद, कन्या र बिबाहितबीचको विभेद, छोरीले छोएको खाने, बुहारीले छोएको खान नहुने, बैष्णवले अरुले छोएको खानै नहुने । अर्थात हाम्रो दिलदिमागमा विभेदले जरा गाडेर बसेको छ । विभेदका कारण देश, समाज, गाउँ त के परिवारसमेत एकताबद्ध छैन । यस्तो समाजको नियति के होला ?

यो प्रश्न महात्मा गान्धीका लागि अंह्म थियो । भारतीय स्वतन्त्रन्ता संग्रामको नेतृत्व गरेका उनी मानिस मानिसबीचको होचोनिचो कसरी अन्त्य गर्ने भन्नेबारेमा पनि चिन्तित थिए । उनले जातीजातीबीचको अन्तरघुलनलाई विभेद अन्त्य गर्ने अचूक उपाय मानेका थिए । अन्तरघुलन अन्तरजातीय बिबाहबाटमात्र सम्भव हुने गान्धीको निचोड थियो । तर गान्धीजस्तो महात्मा समाज कहाँ छ र ? अझैँपनि विवाहलाई लिएर मारामुर्गी भइरहेछ ।

(पत्रकार पौडेल जातीय र वर्गीय विभेदबारेका शोधार्थी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment