Comments Add Comment

१० कालजयी गीत, जसले रत्न समशेर थापालाई चिनायो

१५ जेठ, काठमाडौं । ७० को दशकसँगै नेपाली कला साहित्यको अघिल्लो पुस्ताबारे जानकार निकै कम स्रष्टामध्येमा पर्थे रत्नसमशेर थापा । सन् १९३९ जा जन्मेका थापा नारायणगोपाल, भूपी शेरचन, तारादेवी, अम्बर गुरुङ, हरिभक्त कटुवालका अनन्य मित्र थिए ।

साथै नेपाली संगीतको स्वर्णीम कालका अधिकांश चर्चित गीतका सर्जक पनि । उनी एक कवि, गीतकार र मुक्तककारसँगै नेपाली संगीतको पाँच दशकको प्रत्यक्ष साक्षी थिए ।

विसं. २०११ सालमा ‘गोरेटो त्यो गाउँको’ गीतमा राष्ट्रव्यापी गीतसंगीत गायन प्रतियोगितामा प्रथम भएका थापाले त्यसपछि आजीवन गीत लेखिरहे । प्रेमप्रणयदेखि, चलचित्र र स्वदेशगानका समेत रचनाकार थापाको बिहीबार (जेठ १५) बिहान निधन भएको छ ।

यहाँ उनै रत्नसमशेर थापाले रचना गरेका १० कालजयी गीतको चर्चा गरिएको छ –

१. ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो

नारायण गोपाल र तारादेवीको युगल स्वर रहेको यो गीत रेडियो नेपालमा रेकर्ड भएको थियो । नारायण गोपालको कम्पोज रहेको यो गीत रेडियो नेपालमा सर्वाधिक बज्ने गीतको सूचीमा धेरैपटक परिसकेको छ ।

नेपालमा मात्र नभएर नेपाली कलाकारले विदेश जाँदासमेत यो गीत प्रस्तुत गर्दै आएका छन् । पछिल्लो समय पाकिस्तानमा भएको एक कार्यक्रममा गायिका सञ्जीवनी र आनन्द कार्कीले यो गीत प्रस्तुत गरेका थिए ।

२. स्वर्ग कि रानी, मायाकी खानी नजाऊ तर्केर

नारायणगोपालको कम्पोज र स्वरमा रहेको यो गीत कलकत्तामा रेकर्ड गरिएको थियो । नारायण गोपालको पहिलो एल्बममा लागि रत्नसमशेर थापाले लेखेका पाँच गीतमध्ये यो एक हो । आधुनिक र पप दुवै शैलीको झल्को दिने यो गीत ३० को दशकको सुरुवाति वर्षमा निकै चर्चित रह्यो ।

३. घुम्तीमा नआऊ है, आँखा तिमी जुधाउन

मखमली आवाजका गायक भनेर चिनिने प्रेमध्वज प्रधानले गाएको यो गीत कुनै बेला रेडियो नेपालमा सर्वाधिक बज्ने गीत थियो । यसको कम्पोज प्रधानले नै गरेका हुन् ।

४. फूलैफूलको मौसम तिमीलाई

तारादेवीको स्वरमा रहेको यो गीत प्रेम प्रणयदेखि विभिन्न मांगलिक अवसरमा शुभकामना दिन निकै प्रयोग भएको छ । शुभबहादुर सुनामको संगीत रहेको यो गीतले तारादेवीको सांगीतिक जीवनमा अर्को उचाइ दिलाएको थियो ।

५. जाग–लम्क–चम्क हे नौजवान हो

सुरुमा नारायण गोपालको संगीत र स्वरमा रहेको यो गीत रामकृष्ण ढकाल र राजेशपायल राईले पुनर्गायन गरे । राष्ट्रियता र युवाशक्तिलाई सम्बोधन गरेर लेखिएको यो गीत नेपाल प्रहरीले आफ्ना कार्यक्रममा प्रस्तुत गर्ने गर्छ । यसबाहेक पाश्र्व संगीत बनेर विभिन्न कार्यक्रममा बज्दै आएको छ ।

६. ओभानो सिउँदो मेरो सिन्दुर माग्छ

तारादेवीको स्वर रहेको यो गीत तारादेवीकै संगीतमा रेकर्ड भएको थियो । नारी जीवनमा विवाहको आकांक्षा र त्यसको सेरोफेरोमा रचिएको यो गीत नारी हृदयबाट रचना गरिएकाले रत्नशमशेर थापाले नारीप्रधान गीत पनि उत्तिकै उम्दा लेख्न सक्ने चर्चा चलेको थियो ।

ओभानो सिउँदो मेरो सिन्दुर माग्छ

भन्न किन न हो किन शरम लाग्छ

लौ न नि, भन्न किन हो किन शरम लाग्छ !

७. पंक्षीमा डाँफे राम्रो

वरिष्ठ संगीतकार शिवशंकरको संगीत रहेको यो राष्ट्रिय गीतमा राजु लामा, कुन्ती मोक्तान, आनन्द कार्की ममता दिपबमको संयुक्त स्वर रहेको छ । राष्ट्रिय भावनाले ओतप्रोत यो गीत नेपाल सरकारका विभिन्न औपचारिक कार्यक्रममा समेत धेरैपटक प्रस्तुत भइसकेको छ ।

पंक्षीमा डाँफे राम्रो, फूलमा लालिगुँरास

हामीलाई लाग्छ राम्रो नेपाली धर्ती आकाश !

८. आफ्नै गाउँ फर्की आएँ

भारतका अहिलेका चर्चित युवा गायक सोनु निगमको स्वर रहेको यो गीत चलचित्र ‘सीमाना’का लागि लेखिएको थियो । शक्ति बल्लभको संगीत रहेको यो गीत मुम्बईमा रेकर्ड गरिएको थियो ।

९. आँखैमा रात गली

योगेश वैद्यको स्वरमा रहेको यो गीत नातीकाजीको संगीतमा रेकर्ड भएको थियो । जीवनका अवसादहरूमाथि लेखिएको यो गीत योगेश वैद्यले पछिल्लो समय नेपालयको ‘पलेँटी’ कार्यक्रमा प्रस्तुत गरेका थिए । निकै भावुक अभिव्यक्तिका कारण यो गीतलाई कतिपयले दुःखको गीतसमेत भन्छन् ।

आँखैमा रात गली शीतमा तारा डुबे

बाटैमा आँधि चली, आशाका मुना उडे ।

१०. नआऊ जून कोठामा राति

मानिकरत्नको स्वर रहेको यो गीत नातिकाजीको संगीतमा रेडियो नेपालमा रेकर्ड गरिएको थियो । निकै फरक शब्दशैलीमा रचिएको यो गीतले मानिकरत्नको सांगीतिक जीवनमा अर्को उचाइ थप्न सफल भयो ।

नआऊ जून कोठमा राति मसँग लाडिन

कसैको भइसकेको मन सक्दैन बाँडिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment