Comments Add Comment

बजेटले निर्मातालाई राहत दिन सकेनः आकाश अधिकारी

नेपाल सरकारले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको बजेटले चलचित्र क्षेत्रलाई खासै छुन सकेन । केही बुँदामा सरकारले चलचित्र क्षेत्रलाई सम्बोधन गर्ने प्रयास गरेपनि त्यो यो अवस्थामा पर्याप्त छैन ।

कोभिड–१९ का कारण एकातिर निर्माण भएका चलचित्र रिलिज हुन सकेका छैनन् भने अर्कोतिर बन्द रहेका हल लक डाउनपछि खोलेर तत्काल चलाउन सक्ने अवस्था छैन । यस्तो अवस्थामा चलचित्र क्षेत्र नै कसरी अगाडि बढ्छ भन्ने बिषय जटिल रुपमा अगाडि आएको छ ।

चलचित्र निर्माता संघले यी सबै बिषयलाई समेटेर सरकारलाई १७ बुँदे माग पेश गरेको थियो । तर, सरकारले नयाँ बजेटमा जम्मा ३ वटा बुँदालाई मात्र सम्बोधन गरेको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए ।

यो पनि पढ्नुहोस बजेटमा हल संचालकको असन्तुष्टी, भन्छन्–‘आन्दोलनको विकल्प छैन’

आकाश भन्छन्–‘बजेटमा सरकारले भविष्यमा चलचित्र क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा त छुन खोजेको छ, तर तत्काल राहत कसरी दिने भन्ने बिषयमा केही पनि कुरा उल्लेख छैन ।’

आकाशले कम्तीमा पनि २ बर्ष सरकारले चलचित्र क्षेत्रलाई हेरिदिनुपर्ने बताउँछन् । उनले भने–‘हामीलाई फेरि पहिलेकै अवस्थामा फर्किन २ बर्ष लाग्छ । सरकारले २ बर्ष हामीलाई हेरिदियो भने यसपछि हामी पहिलेकै अवस्थामा जसरी चलेका थियौं, त्यसरी नै चल्न सक्ने हुन्थ्यौ । तर, सरकारले सिंगो चलचित्र क्षेत्रलाई नै वेवास्ता गरेको छ ।’

हल संचालकहरुको जस्तै निर्माता संघका अध्यक्ष अधिकारीले पनि सामाजिक दुरी कायम गरेर चलचित्र चलाउँदा निर्माता र प्रदर्शक दुबै बाच्न कठिन हुने बताए । उनले भने–‘भोली सरकारले सामाजिक दुरी कायम गरेर हल खोल्नुहोस् भनेको अवस्थामा हामी कसरी चलचित्र रिलिज गर्न सक्छौ । २ करोड लगानी गरेको निर्माताले ३३ प्रतिशत अकुपेन्सीमा चलचित्र चलाएर लगानी कहिले उठाउन सक्ला ?’

आकाशले, चलचित्र निर्माणका क्रममा निर्माताले वुझाउने बजेटको २० प्रतिशत सरकारले सहयोग गर्नुपर्ने माग आफूहरुले गरेको बताए । यस्तै, हल संचालक र निर्माताले लिएको ऋणको कर वुझाउने अवधी बढाइदिन पनि आग्रह गरेको तर यस बिषयमा कुनै सम्बोधन नभएको बताए ।
हल संचालक जस्तै निर्माताहरु पनि नयाँ बजेटबाट असन्तुष्ट देखिएका छन् । यसले, चलचित्र निर्माण र रिलिजका लागि समस्या पर्ने संभावना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment