२१औं शताब्दीमा पनि नेपालमा जातीय विभेद तथा छुवाछूतको अवस्था कस्तो छ भन्ने कुराको अँध्यारो पाटोको दृष्टान्त हो, रुकुम घटना। जातीय छुवाछूत प्रथाको कुरुपता हामी जन्मेहुर्केको घरआँगन, छरछिमेकमा देख्दै, भोग्दै र गर्दै आएको छौँ। धेरै टाढा जानु परेन बालीघर प्रथाले पनि अवस्थालाई चिनाउने प्रयास गर्छ। पहिल्यै सहमति भएअनुसारको अन्नबाली लिन आउँदा होस् वा वर्षको विभिन्न चाडपर्वमा “विष्ट” कहाँ आउने चलन । हरेकपटक मैले मेरो घरको आँगनमा दलितमाथि मेरो घरपरिवारबाट छुवाछूत भए-गरेको देखेको छु । आज यस धर्तीमा नभए पनि अक्षरको साँवा अक्षर नचिनेका मेरा हजुरआमा र आमाबाट जान अन्जानमा भए गरेको त्यो जातीय छुवाछूतको घटनाहरूको मैले सिङ्गो दलित समुदायसँग माफ माग्नैपर्छ ।
अलिकतिमाथि उक्लेर समाजलाई हेरियो भने बाहिर ठीकैजस्तो छ । तर, भित्रभित्रै अवस्था अझै गम्भीर छ। शिक्षित भनिने र यो छुवाछूत प्रथा गलत हो भन्ने बुझेका गैरदलितहरू पनि यसविरुद्ध समाजमा खुलेर बोल्ने अवस्था वास्तवमा छैन।
त्यही कु-संस्कारको निरन्तरता आजको मेरो पुस्तासम्म आइपुगेको छ । जुन शिक्षादीक्षाबाट हामीहरू दीक्षित भएका छौं । जो विश्व ज्ञान र प्रविधिलाई राम्रोसँग बुझेका छन् उनीहरूमा समेत यो प्रवृत्ति देखिनु केवल दलित समुदायको लागि मात्रै होइन सिङ्गो देशको निम्ति दुर्भाग्यको कुरा हो । समाज र देश परिवर्तन गर्छु भनेर हिँड्नेहरूबाट कुनै न कुनै कोणबाट यस्ता घटनाहरूको दोषीउपर संरक्षण र ढाकछोप गर्ने प्रवृत्ति झनै विडम्बनापूर्ण छ ।
मनुस्मृतिको वर्णव्यवस्थाले सिर्जित व्यवस्था र त्यसबाट विकसित जातीय विभेद तथा छुवाछूत प्रथा कथित उच्च जातले कथित तल्लो जातकालाई विभेद गर्ने भन्ने कुरा केवल दलितमाथि बाहुनले मात्रै गर्छ भन्ने होइन । भनिन्छ, स्वयं दलित समुदायभित्र पनि सानो र ठूलो जात भन्ने व्यवस्था छ। दलित समुदाय, व्यक्ति अपवादबाहेक सिङ्गो गैरदलित समुदायबाट उत्पीडनमा छन् । चाहे खसआर्य होस् या आदिवासी जनजाती हुन् । त्यसको दृष्टान्त माथि आफ्नै घरको पेश गरिसकेको छु।
शताब्दीऔंदेखि खासगरी नेपाल र भारतमा यो कु-प्रथा चल्दै आएको देखिन्छ । आखिर किन त ? आखिर देशको कुल जनसंख्याको १३.६% अर्थात् करिब ३६ लाख जनसंख्यातालाई विभेद र उत्पीडनमा राखेर हामीले कस्तो समृद्ध नेपालको आशा र अपेक्षा गरेका छौं ?
वि.सं २०२० को कानुनले जातीय विभेद तथा छुवाछूतलाई गैरकानुनी घोषणा गर्यो। तर, ५७ वर्षको यो अवधिमा पनि किन यो प्रथा उस्तै रह्यो ? वि.सं. २०६३मा अब व्यावहारिक रुपमा नै दण्डनीयभन्दै जातीय छुवाछूत मुक्त राष्ट्र नेपाल घोषणा गर्यो । तर, समाजमा भने एकपछि अर्को गर्दै जातीय छुवाछूत प्रथाकै कारण विभत्स हत्या काण्डहरू घट्दै आएको छ ।
गैरदलित युवतीसँगको प्रेम सम्बन्धकै कारण सेते सार्की मारिए, अजित मिजार मारिए । दलित युवतीसँगको प्रेमसम्बन्ध परिवार र समाजले विवाहको सम्बन्धमा स्वीकार नगर्ने भएपछि ईश्वर भट्टराई र अस्मिता सार्कीले एउटै पासो लगाए। कास्कीमा दलित भएकै कारणले अन्त्येष्टि संस्कार गर्न सार्वजनिक भवन प्रयोग गर्न पाएनन् । गुल्मीमा गैरदलितको घरमा दलित बालक पस्दा पैसा जरिवाना तिराइयो ।
रुपन्देहीमा दलित युवती र गैरदलित युवा रातमा सँगै हिँडेको देखेर युवतीको परिवारले युवाको घरमा लगिदिए । तर, युवती दलित भएका कारणले युवती त्यहाँबाट पनि निकालिइन् । पछि युवतीले आत्महत्या गरिन्।
रुकुममा भएको नरसंहारले त सिङ्गो देशलाई नाङ्गो बनाइदिएको छ। प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गराउन खोज्दा प्रेमी नवराज विकमात्रै होइन उनका अन्य गैरदलित साथीहरूले ज्यान गुमाए।
उक्त घटना त यसै विडम्बनापूर्ण छ। त्योभन्दा विडम्बना सामाजिक सञ्जालमा प्रवाहित विचार प्रवृत्तिको छ । यस्तो दर्दनाक पाशविक घट्नालाई पनि उमेर नपुगी, लकडाउनको समय, त्यत्रो उन्नाइस उन्नाइस जनाको समूह लिएर किन जाने जस्ता ? तर्क गरेर नवराज विकलाई नै दोषी देखाउने जस्तो तर्क गर्नु भनेको कुनै न कुनै रुपमा यस्तो अमानवीय प्रथालाई थप प्रश्रय दिने र अपराधीहरूको मनोबल बढाउने कु-चेष्टा हो । घटना त घट्यो, अब सरकारले दोषी उपर कानुनले व्यवस्था गरेअनुसार कारबाही गर्ला । तर, सम्बन्धित घटनासँगै सामाजिक सञ्जालमा प्रवाहित विचारहरू हेर्दा लाग्छ नेपालमा जातीय छुवाछूतको अन्त्य सम्भव छैन। किनकि त्यहाँ विचार पोख्नेहरू अशिक्षित होइनन्। कम्तीमा आजका शिक्षित भनिने जमातलाई त्यो तर्क गर्ने आँट नहुनुपर्ने हो।
१९ त के १९ सय जना लिएर प्रेमिका लिन गएको भए पनि त्यो सही नै हुने थियो। वैवाहिक उमेरको हदको कुरा कानुनले बोल्थ्यो, न कि गाउँलेको भिड उठेर । जातीय छुवाछूतलाई नमान्ने मल्ल थरकी नारीले आफू आफ्नो जातीय समाजको बहिस्करणमा पर्छु भन्ने नबुझी प्रेम गरेकी पक्कै थिइनन् होला । नवराजलाई साथ दिने दलित-गैरदलित युवाहरूले नवराजको प्रेमलाई साथ मात्रै दिएनन्, समाजको कु-संस्कार र कुरीतिविरुद्ध लड्ने साहस पनि गरे भलै हारे र भेरी नदीमा बगिए/बगाइए।
जातीय विभेद दलितसमुदाय शिक्षित भएर अन्त्य हुने होइन रहेछ। गैरदलित समुदाय शिक्षित हुँदैमा पनि नहुने रहेछ भन्ने कुरा यी घटनाहरूबाट स्पष्ट हुन्छ । मुख्य कुरा जातीय छुवाछूत तथा विभेद अमानवीय हो र गैरकानुनी हो भन्ने कुराको चेतना गैरदलित समुदायमा हुनु जरुरी छ र आफू कथित ठूलो जात भन्ने अहंकारी मानसिकता अन्त्य हुनुपर्छ।
हरेक राजनीतिक दलले जातीय छुवाछूत अन्त्यको लागि चेतनाको प्रशिक्षण कार्यक्रम किन सञ्चालन नगर्ने ? हरेक धर्मगुरुहरूले जातीय विभेदविरुद्ध चेतनाको अभियान हरेक मठमन्दिर, पूजापाठ, गुम्बा, चर्च र मस्जिद हुने तथा भागवतपुराणजस्ता कार्यक्रमहरूको माध्यमबाट किन नगर्ने ?
जातीय विभेद तथा छुवाछूत प्रथाको स्रोत के हो भन्ने कुरा निर्क्यौल गरेर त्यसको विद्रोह गर्ने हिम्मतचाहिँ स्वयं दलित समुदायले गर्नुपर्ने देखियो। आफूलाई विभेदमा राख्ने संस्कारविरुद्ध भद्र विद्रोह गरेर भारतमा अम्बेडकरले दिएको संदेशको अनुशरण किन नगर्ने ? यसको निम्ति सिङ्गो दलित समुदायलाई संगठित बनाएर जागरुक बनाउने काम अब विश्व भक्ति दुलाल “आहुती” र डा.मित्र परियारहरूले नेतृत्व किन नगर्ने ? अग्रगामी विचार बोक्ने गैरदलित समुदाय, बुद्धिजीवी, लेखक, पत्रकारहरूले जेहाद किन नछेड्ने ?
यो कुनै जातीय समुदायको मात्रै समस्या होइन सिङ्गो देशको समस्या हो । मानव सभ्यतालाई लज्जित गर्ने गराउने कलङ्क हो। यसलाई हटाउन राज्यले कडा कानुनको व्यवस्था किन नगर्ने ? गोरु काट्दा तुरुन्त पक्रेर कारबाही गर्ने राज्य प्रशासन र न्यायालयले मान्छे काट्दा किन ढिलासुस्ती गर्छ र पीडितले न्याय पाउँदैन?
(स्याङ्गजा, हाल दक्षिण कोरिया)
प्रतिक्रिया 4