Comments Add Comment

सैनिक हवाई महानिर्देशनालयमा अनियमितता, उपरथीसहित ९ जना कारबाहीमा

१६ जेठ, काठमाडौं । सैनिक हवाई महानिर्देशनालयमा कार्यरत रहँदा अनियमितता गरेको अभियोगमा नेपाली सेनाका अवकाश प्राप्त प्राविधिक उपरथीसहित ८ जना सैनिक अधिकृत कारबाहीमा परेका छन् ।

अनियमिततामाथि अनुसन्धान सुरु भएपछि मंसिरमा राजीनामा दिएका उपरथी सुधीर श्रेष्ठलाई नसिहतसहित जरिवाना तिराउने फैसला समरी जनरल सैनिक अदालतले गरेको हो । श्रेष्ठसहित ९ जना सैनिक अधिकृतलाई सचेत गराउने अदालतले फैसला सुनाएको छ ।

उनीहरुले जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर सैनिक अदालतको छ ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार श्रेष्ठले महानिर्देशक रहँदा कानूनतः पालना गर्नुपर्ने प्रक्रिया पूरा नगरी ५८ लाख ९५ हजार पाँच सय ९० रुपैयाँ अनियमितता गरेको देखिएको छ । त्यसैले सो रकम असुल उपर गर्न अदालतले आदेश दिएको हो ।

अदालतले यो प्रकरणमा ९ जना सैनिक अधिकारीलाई भने सफाइ दिएको छ । घटनाको छानविनका लागि जंगी अड्डाका एक जना रथीको नेतृत्वमा कोर्ट अफ इन्क्वाइरी बोर्ड गठन भएको थियो । जसले ४ चैतमा रायसहित प्रतिवेदन पेश गरेको थियो ।

दोषी ठहरिएका व्यक्तिले पुनरावेदनका लागि ३५ दिनभित्र विशेष अदालतमा निवेदन दिनसक्ने व्यवस्था पनि छ । सेनाले पारदर्शिता र जवाफदेहीता कायम गर्ने लक्ष्य अनुरुप अनुशासन र आचरण विपरीत काम गर्नेलाई कारबाही गरिँदै आएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment