Comments Add Comment

सीमा नाकामा मृत्यु भएका युवकलाई शहीद घोषणा गर्न माग

१६ वैशाख, जनकपुरधाम । सरकारी लापरवाहीका कारण धनुषाको शहीद नगरपालिका ९ का वीरेन्द्र यादवको सीमा नाकामै ज्यान गुमाउनुपरेको भन्दै स्थानीय तथा परिवारजनले उनलाई शहीद घोषणा गर्न माग गरेका छन् । साथै उनीहरुले परिवारलाई राहत पनि दिन माग गरेका छन् ।

भारतबाट आउने क्रममा ३० बर्षीय यादवको गत बुधबार बिहान जटही नाकामै मृत्यु भएको थियो । लामो समयदेखि खाना खान नपाएका उनको बेहोस भएर मृत्यु भएको परिवारजनको भनाइ छ ।

भोकले थलिएपछि उनले सीमा नाकाबाट आफूलाई उद्धार गर्न परिवारजनलाई फोन गरेर बोलाएका थिए । उनका भाई धीरेन्द्रसहितका केही व्यक्ति एम्बुलेन्स लिएर गए पनि उनलाई समयमा ल्याउन नदिँदा मृत्यु भएको भन्दै उनीहरुले परिवारजनलाई राहत र शहीद घोषणाको माग गरेका हुन् ।

पूर्व सांसद शिवधारी यादव नेतृत्वको स्थानीय एवं परिवारजनले शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

वीरेन्द्रकै परिश्रमबाट परिवार चल्दै आएको र उनको मृत्युपछि परिवार समस्यामा परेकाले उनीहरुको भरणपोषणको जिम्मा लिन पनि सरकारसँग आग्रह गरिएको छ ।

प्रधानमन्त्री, मुख्यमन्त्री समेतलाई बोधार्थ दिइएको ज्ञापनमा माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

नगरपालिकाद्वारा १ लाखको सहयोग

वीरेन्द्रको मृत्यु भएपछि शहीद नगरपालिकाले उनको परिवारजनलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नगरपालिकाका प्रमुख उदय बरबरियाले मृतक यादवको परिवारलाई १ लाख रुपैयाँ सहयोग गर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment