Comments Add Comment

संक्रमितलाई आइसोलेसन लैजान खोज्दा किन भयो विवाद ?

१७ जेठ, रौतहट । इशनाथ नगपारलिका–७ को जोकहामा रहेको अनवारुल इस्लामिक मदरसाको क्वारेन्टिनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमितलाई जिल्लाकै गरुडा विर्तामा रहेको प्रहरी विद्यालयमा बनाइएको आइसोलेसनमा पठाउन नगरपालिकाको टोली पुग्दा स्थानीयले विरोध गरे ।

विरोध गर्नेहरुको समूहमा महिला बढी थिए । क्वारेन्टिनमा बसेकाहरु पनि विरोधमा उत्रिए । सक्रमितलाई अन्यत्र लैजान नहुने, नगरपालिकाभित्रै उपचार गराउनुपर्ने भन्दै प्रदर्शनमा उत्रिएका उनीहरुले स्वास्थ्यकर्मीहरुमाथि ढुंगामुढा गर्न थाले । उनीहरुले प्रहरीको गाडीमा पनि तोडफोड गरेपछि स्थितिलाई झडप नियन्त्रणमा लिन प्रहरीले झण्डै एक दर्जन हवाई फायर गरेको थियो ।

यो मुस्लिम समुदायको बाहुल्य क्षेत्र हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इसराजुल खानका अनुसार त्यहाँ तीन क्वारेन्टिनमा ३१७ जनालाई राखिएको छ ।

स्थानीयमा कोरोनाबारे जानकारी नहुनुका साथै केही व्यक्तिले अनावश्यक भ्रम फैलाएका कारण पनि स्थानीयबासीले विरोध गरेको प्रहरीको विश्लेषण छ । रौतहटका डीएसपी भरत श्रेष्ठले भन्छन्, ‘संक्रमित व्यक्तिहरुलाई आइसोलेसनमा लैजान खोज्दा कुरा नबुझेर संक्रमितकी आमा आफैं धर्ना बसेकी हुन् ।’

आफ्नो छोरालाई कहाँ लग्न लाग्यो भनेर आतिएको परिवारजनले प्रहरीलाई छर्कन खुर्सानीकाे धूलो पानीमा घोलेर बाल्टिनमा हालेर ल्याएको पाइएको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत नन्द किशोर गुप्ताकाअनुसार पछिल्लो समय क्वारेन्टिन स्थलमा समस्या बढेको छ । भारतमा पनि क्वारेन्टिन बसेर आएकाहरु फेरि क्वारेन्टिन बसेको र लामो समय उनीहरुको परीक्षण गर्न नसकेको उनले बताए । इशनाथका १५ भन्दा बढी क्वारेन्टिनमा १६०० भन्दाबढी मानिसहरु क्वारेन्टिनमा छन् । उनले भने, थोरैको मात्र नमुना संकलन हुन्छ, यसले समस्या भएको छ । यदि परीक्षणको गति बढाउन पाए समस्या हुन्थ्यो ।’

हुन पनि इशनाथ मात्र होइन, जिल्लाका अरु स्थानीय तहमा पनि समस्या बढेको छ । अधिकांश स्थानीय तहको क्वारेन्टिनमा न्यूनमत मापदण्ड पनि पुगेको छैन । खानपान, सरसफाई, शौचालयको राम्रो व्यवस्था नहुँदा त्यहाँ बस्नेहरु असन्तुष्ट छन् ।

कतै अफवाहका कारण क्वारेन्टिन स्थल निर्माण गर्न खोज्दा स्थानीयबासीले विरोध गरेका छन्

बिहीबार कटहरीया नगरपालिका–१ को भसेडवा माविमा क्वारेन्टिन स्थल बनाउन खोज्दा स्थानीयवासीले विरोध गरे । आवश्यक सामग्रीसहित पुगेका जनप्रतिनिधि र स्थानीयबीच भएको विवादले उग्र रुप लिँदा झडप नै भयो ।

बस्तीसँग जोडिएको विद्यालयमा क्वारेन्टिन बनाउन नहुने भन्दै आएका स्थानीयले ढुङ्गामुढा गर्दा प्रहरी सहायक निरिक्षक हिरालाल साहको टाउको टोट लागेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गर्नु परेको थियो ।

राजपुर–९ बैरियामा रहेको क्वारेन्टिनमा रहेका १५९ जनाको पीसीआर नेगेटिभ आएपछि घर पठाउने विषयमा नगरपालिका र प्रहरीबीच समन्वय नहुँदा तनाव भयो । राजपुरको १९ वटा क्वारेन्टिनमा ३ हजार २ सय जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment