Comments Add Comment

वीरगञ्जको कोरोना परीक्षण ल्याब बन्द

फाइल तस्वीर

१८ जेठ, वीरगञ्ज । प्रदेश २ मा पछिल्लो २४ घण्टामा आइतबार ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषामा २१ जना, सर्लाहीमा १०, रौतहटमा २९ जना र पर्सामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ६ सय नाघिसकेको छ । ९८ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।

प्रदेशमा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको समयमा वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशाला बन्द हुन पुगेको छ । आवश्यक सामान नहुँदा शनिबार साँझदेखि पीसीआर मेसिन सञ्चालनमा आउन नसकेको कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. निरा पाठकले जानकारी दिइन् । तीन दिन अगाडिदेखि आवश्यक सामग्री माग गरिए पनि उपलब्ध हुन नसकेपछि ल्याब बन्द हुन पुगेकाे उनको भनाइ छ ।

प्रदेश सरकारले प्रादेशिक प्रयोगशाला जनकपुर र राजविराजमा रियलटाइम पीसीआर मेसिन जडान गरेको छ । तर प्रभावकारी ढंगले परीक्षण हुन सकिरहेको छैन । जनकपुरमा जडान गरिएको मेसिनको गुणस्तर र क्षमता परीक्षणकै क्रममा छ । जनकपुरको मेसिनले पहिलो लटमा २५ जना र दोस्रो लटमा ४७ जनाको स्वाब परीक्षण गरिसकेको ल्याबले जनाएको छ । तर रिपोर्ट रिकन्फर्म गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने गरिएको सामाजिक विकास मन्त्रालयका सचिव राम प्रसाद घिमिरे बताउँछन् । ‘परीक्षण प्रकृया अन्तिम चरण छ, दुई दिनभित्रै जनकपुरस्थित पीसीआर मेसिनले पूर्ण क्षमतासहित स्वाब परीक्षण गर्छ,’ घिमिरेले भने ।

आइतबार कहाँ कति थपिए संक्रमित ?

धनुषाको गणेशमान चारनाथ नगरपालिका– ४ स्थित दुखनीदेवी नर्सिङ्ग होमको क्वारेन्टिनमा रहेका २१ वर्षीय पुरुष, जनकपुर उपमहानगरपालिकास्थित गोपाल धर्मशालाको क्वारेन्टिनमा रहेका १९ वर्षका २ जना तथा २०, २१, २३, २४, र २७ वर्षका ३ जना पुरुषहरु, मुखियापट्टी मुसहरनीया गाउँपालिकास्थित तुल्सीयाही प्राथमिक विद्यालयको क्वारेन्टिनमा रहेका २४, २५, २६, २७, २८, ३०, ४५, ४६ र ३५ वर्षका ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अधिकांश संक्रमितहरु भारतको गुजरातबाट आएको जिल्ला जनस्वास्थ्य कार्यालय धनुसाले जनाएको छ । गणेशमान चारनाथ नगरपालिकाका संक्रमितको स्वाब जेठ ११ गते, गोपाल धर्मशालाका संक्रमितको जेठ १५ गते र मुखियापट्टीका संक्रमितहरुको १० गते स्वाब संकलन गरिएको थियो ।

सर्लाहीको हरिपुर नगरपालिका स्थित क्वारेन्टिनमा एक जना उमेर स्पष्ट हुन नसकेका पुरुषसहित १५, २४, ३४, ५० र ४० वर्ष उमेरका २ जना गरी कुल ७ जना पुरुषहरुमा, ब्रम्हपुरी गाउँपालिकास्थित रामबिलास प्राविको क्वारेन्टिनमा बसेका वर्ष २५, २८ र ४८ वर्षका ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । हरिपुरमा जेठ १३ गते र ब्रम्हपुरीमा जेठ १५ गते स्वाब संकलन गरिएको थियो । उनीहरु भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।

रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित गंगा पिपरा माविको क्वारेन्टिनमा रहेका १७, २२, २३, २९, ३५, ४० र २५ वर्षका २ जना गरी कुल ८ जना पुरुषहरु, इशनाथ नगरपालिका–७ स्थित घिउरा मावि क्वारेन्टिनमा रहेका २० वर्षका २ जनासहित १७, १९, २१, २२, २४, २७, ३६, ४५ र ५० वर्षका पुरुषहरु, सोही नगरपालिका वडा नम्वर ८ को जोकाहा मदरसा क्वारेन्टिनमा रहेका ४, ९ र १२ वर्षीय बालक तथा ३० वर्षका २ जना पुरुषसहित १८, २२, ४५ र ५२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्ते एक जना ५२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएकाे छ । रौतहटका संक्रमितहरु पनि भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएका थिए ।

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका २५ वर्षीया महिला तथा २२ वर्षीय दुई जना पुरुषहरु सहित २५ र ३६ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै जना भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएको बुझिएको छ ।

आइसोलेसनमा कहाँ कति छन् ?

प्रदेश २ अन्तर्गत सप्तरीको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसनमा २५, सिराहा जिल्ला महेन्द्र गेनाई अस्पतालको आइसोलसनमा २५ , धनुषाको प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा २ महिलासहित २८, महोत्तरीको जलेश्वर अस्पतालको आइसोलेसनमा १ जना महिलासहित २४ र सर्लाहीको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसनमा १ जना महिलासहित ४१ जना उपचाररत छन् ।

यसैगरी रौतहटको चपुर अस्पतालमा ७ पुरुष, गौर नर्सिङ्ग इन्टिच्युटको आइसोलेसनमा ३ महिला सहित ३१ जना, रौतहटकै राजपुर फरहदवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ४२ जना पुरुष, देवाही गोनाही पोलिटेक्निक इन्स्टिच्युट धरहरीमा २२ जना पुरुष, गरुडा नगरपालिकास्थित नेपाल प्रहरी विद्यालयमा ३ महिलासहित ७५ जना, कलैया अस्पतालको आइसोलेसनमा २ जना महिला सहित ५० जना, वीरगञ्जको नारायणी अस्पताल अन्तर्गत रहेको गण्डक काेभि८ अस्पतालमा २ जना महिला सहित २० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

यसैगरी सिराहा अस्पताल सिराहामा ४ जना र महोत्तरीको जलेश्वर कोभिड विषेश अस्पतालमा ८ जना गरी कुल १२ जना कोरोनाका शंकास्पद संक्रमितलाई आइसोलेसनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment