Comments Add Comment

बजेट औपनिवेशिक योजनाको निरन्तरता : राजेन्द्र महतो

१८ जेठ, काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आगामीे आर्थिक बर्ष २०७७/७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उनले ‘आफू मालिक र अरू भिखारी’ प्रवृत्ति बोकेको औपनिवेशिक प्रकृतिको बजेट आएको टिप्पणी गरेका हुन् । बजेटले आम नेपाली जनतालाई उत्साहित बनाउन नसकेको नेता महतोले बताए ।

‘थप निराशातर्फ उन्मुख भएको बजेटको के टिप्पणी गर्ने ? राज्यधारीहरूको पक्षपोषण गर्नका लागि ल्याइएको बजेट । राज्यको चरित्र जस्तो छ त्यस्तै बजेट।

राज्यविहीनहरूलाई अझ सीमान्तकृत गर्ने, अझ कमजोर गर्ने प्रकारको बजेट आउने गर्छ । यो पनि राज्यको चरित्रअनुसार नै आउने हो । औपनिवेशिक योजनाको निरन्तरताबाहेक केही पनि भन्न सकिँदैन यसलाई’ उनले भने ।

केन्द्रीकृत बजेटले संघीयतालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाए । उनले संघीय सरकारले आफू दाता प्रदेश तथा संघलाई बक्सिस दिएको मानसिकताले बजेट बनाएको टिप्पणी गरे । ‘शासनमा सबै सहभागिता पाएको ? मालिक प्रवृत्तिको अनुभूति भएको छ सबैलाई । राज्यले जनताप्रति वफादारी गरेको छ ?’

महतोले अघि थपे, ‘राज्यको चरित्र जस्तो छ । त्यस्तै गतिविधि हुन्छ। उसको नियत जस्तो छ त्यस्तै नियम बनाउँछ, कानुन बनाउँछ , संविधान बनाउँछ , बजेट बनाउँछ, शासन गर्छ, व्यवहार गर्छ । यही नेपालमा भइरहेको छ । यहाँ बहुसंख्यक जनता, आदिवासी जनजाति, मधेसी, थारु, दलितको संख्या पीडित भएर बस्नुपर्ने अनि यहाँका अल्पसंख्यक शासक भएर हामीलाई दान दिनुपर्ने ? यो बजेट भनेको त्यही हो ? के कमेण्ट गर्ने ? के विश्लेषण गर्ने ?’

कोरोना महामारीका कारण भयावह बन्दै गएको परिस्थितिमा जनताको स्वास्थ्यको प्रत्याभूति गर्ने तथा तत्काल र दीर्घकालीन रुपमा सरकारले जनताप्रति निर्वाह गर्नुपर्ने कार्यक्रमहरू बजेटमा आउन नसकेको महतोले टिप्पणी गरे । उनले मान्छे भोकले मरिरहेका बेला सरकारले कोही भोकै मर्दैन भनेर कागजमा मात्रै नारा लगाइरहेको भन्दै आक्रोश पोखे ।

‘अलिकति पनि नैतिकता नभएको सरकार । जनता दिनदहाडै मरिरहेको छ । यहाँ भाषण भइरहेको छ । कोही मर्न दिँदैनौ रे ?’ उनले भने। नेता महतोले एकल जातीय आधारमा गरिएको शासन र नश्लीय चिन्तन एवं सोच परिर्वतन नभएसम्म जनताले सुख नपाउने धारणा राखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment