Comments Add Comment

कर्णालीका हिमाली जिल्लामा यार्सा संकलन र विद्यालय खुला गर्ने तयारी

१९ जेठ, सुर्खेत । कर्णाली सरकारले प्रदेशका हिमाली जिल्लाहरुमा यार्सागुम्बा संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय गरेकाे छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु र डाेल्पामा आवश्यक सुरक्षा सावधानी अपनाएर जेठ १५ गतेदेखि यार्सा (जीवनबुटी) संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।

भारतबाट आउने हुम्ला, मुगु र डोल्पाका नागरिकहरुलाई सुर्खेत क्वारेन्टिनमा व्यवस्थापन गर्ने र उनीहरुलाई सम्बन्धित जिल्ला प्रवेश गर्न नदिई यार्सा संकलन र विद्यालय सञ्चालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय सरकारले गरेको छ ।

साथै भारतबाट आएका नागरिकहरुलाई क्वारेन्टिनमा १४ दिन राखेर आवश्यक परीक्षणपश्चात् संक्रमित देखिएका व्यक्तिलाई तीन तहमा व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले संक्रमित तर कुनै लक्षण नेदेखिएका बिरामीलाई जिल्लामा तहमा तोकिएको आइसोलेसनमा राख्ने, लक्षण देखिनुका साथै सम्भावित जोखिम भएका बिरामीलाई जिल्ला अस्पताल र जटिल अवस्थाका संक्रमित व्यक्तिलाई तोकिएको विशिष्टकृत अस्पतालमा व्यवस्थापन गर्ने निर्णय  गरिएको समाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।

संक्रमण नदेखिएका बिरामीलाई थप २१ दिन सेल्फ क्वारेन्टिनमा रहने सर्तमा घर पठाइने छ । संक्रमित बिरामीलाई आइसोलेसन र थप उपचारका लागि अस्पतालमा पुर्‍याउन एम्बुलेन्स र मृतक संक्रमितका शव व्यवस्थापन गर्न शववाहनको व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई आग्रह गर्ने निर्णय भएको छ ।

साथै बैठकले प्रदेशको प्रवेश नाकामा होल्डिङ एरिया व्यवस्थापन गरी आवश्यक अभिलेख व्यवस्था गर्ने, तोकिएको जिल्ला वा स्थानीय तहका क्वारेन्टिनमा पुर्‍याउने व्यवस्था गर्ने जिम्मा आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment