Comments Add Comment

मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु, ८ जना घाइते

१९ जेठ, काठमाडौं । मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा मोरङ रतुवामाई नगरपालिका–६ शान्तिपुरका २२ वर्षीय नेत्र श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार सोमबार करिब १२ बजेको समयमा सोही नगरपालिका–५ धाद्रास्थित खेतमा बाख्रा सार्ने क्रममा अचानक चट्याङ पर्दा उनी घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार नै परेको चट्याङले मोरङको धनपालथान गाउँपालिकाका ८ जना घाइते भएका छन् । आ-आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ पर्दा वडा नम्बर २ का ३८ वर्षीया प्रमिला देवी मण्डल, उनकी १४ वर्षीया छोरी मनीषादेवी र २५ वर्षीय छोरो जितेन मण्डल घाइते भएका छन् ।

यसैगरी घाइते हुनेहरूमा सोही वडाका १९ वर्षीया गीताकुमारी मण्डल, १६ वर्षीया सपना कुमारी मण्डल, १२ वर्षीय अभिषेक मण्डल, वडा नम्बर ७ का ३८ वर्षीय शिव शंखर मण्डल र सोही ठाउँ बस्ने ४० वर्षीय चन्दन बहरदार छन् ।

घाइते सबैको उद्धार गरी उपचारका लागि कोसी अस्पताल विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment