Comments Add Comment

रुकुम घटनाको निश्पक्ष छानविन होस् : खनाल

२० जेठ, काठमाडौं । दश दिनअघि रुकुमको चौरजहारीमा नवराज बिकसहित ६ जनाको ज्यान जाने गरी भएको निशंस घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको पूर्वप्रधानमन्त्री एवं नेकपा नेता झलनाथ खनालले बताएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै खनालले सो घटना मानवताविरोधी भएको बताएका छन् । खनालले भनेका छन्, ‘आधुनिक समाज र मानव जातिले सिर्जना गरेका मूल्यहरूलाई समेत चुनौती दिनेगरी भएको उक्त नृशंस घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । म मानवता विरोधि उक्त घटनाको घोर निन्दा र भत्सना गर्दछु ।’

खनालले सरकारसँग घटनाका दोषीमाथि कारवाहीको माग गर्दै भनेका छन्, ‘उक्त घटनाको निष्पक्ष छानबिन गर्न र अपराधमा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गरी पीडितलाई न्याय दिन म नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’

सम्पूर्ण दलित, पीडित समुदायको साथमा राज्य र नेकपा रहेको बताउँदै नेता खनालले भनेका छन्, ‘सम्पूर्ण दलित तथा पीडित समुदायहरु, तपाईहरुलाई हामी विश्वास दिलाउँछौं सरकारसहित सिंगो राज्य तपाईंहरूको साथमा छ । निर्वाचित जनप्रतिनिधिहरू र सिंगो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तपाईंहरूको साथमा छ । विभिन्न राजनैतिक एवं सामाजिक संघ संस्थाहरू समेत तपाईंहरूका साथमा छन् ।’

गृहमन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको छानविन समितिले निश्पक्ष काम गर्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री खनालले भनेका छन्,’यो छानविन न्यायिक होस, निश्पक्ष होस, कुनै पनि प्रभाव र दबावबाट मुक्त रहोस् र अपराधमा संलग्नहरुलाई कडाभन्दा कडा कार्वाही गरियोस् र पीडितहरुलाई न्याय अनुभूति होस् भन्ने कुरामा म फेरि पनि जोड दिन चाहान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment