Comments Add Comment

मौद्रिक नीतिको गृहकार्यमा राष्ट्र बैंक, असार अन्तिम साता आउने

२१ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ । असार अन्तिम सातासम्ममा सार्वजनिक गर्ने गरी मौद्रिक नीति ल्याउन राष्ट्रबैंकले तयारी गरेको हो ।

सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरी मौद्रिक नीतिको गृहकार्य शुरु गरिएको राष्ट्र बैंकका प्रवक्ता तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टले बताए । कोरोना महामारीकाबीच आउन लागेको मौद्रिक नीतिले सबै क्षेत्रको सुझावहरु समेट्ने कोसिस गर्ने उनको भनाइ छ । भट्टका अनुसार जेठ महिनादेखि नै सुझाव संकलनको काम सुरु हुने छ ।

नेपाल सरकारको आर्थिक सल्लाहकारका रुपमा समेत रहेको राष्ट्र बैंकले हरेक वर्ष सरोकारवालाहरुको सुझावसमेत लिएर मौद्रिक नीति तर्जुमा गर्ने गरेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन तथा सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने गरी केन्द्रीय बैंकले बनाउने मौद्रिक नीतिमा सर्वसाधारणको सुझाव समेटिन्छ ।

वेबसाइटबाट सुझाव दिन आह्वान गर्नुका साथै निजी क्षेत्र, बैंकिङ, बीमा, सहकारी लगायतका सबै सरोकारवालाहरुसँग राष्ट्र बैंकले सुझाव लिने गरेको छ ।

११ महिनाको तथ्यांक समावेश गर्नुपर्ने भएका कारण असार १५ गते भन्दा पछाडि मौद्रिक नीति आउने प्रवक्ता भट्टले बताए । बैंकिङ क्षेत्रमा निकै हलचल ल्याएको बिग मर्जरको विषय भने आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा नपर्ने देखिएको छ ।

निजी क्षेत्रले भने मौद्रिक नीतिबाट केही सहुलियतको अपेक्षा राखेको छ । बजेटले उद्योगी-व्यवसायीका मागहरु संवोधन गर्न नसकेको भन्दै निजी क्षेत्र मौद्रिक नीतिले संवोधन गर्ने आशमा बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment