+
+
Shares

‘स्वयंपाक्य’ सिद्धबाबालाई इन्डक्सन चुल्हो ! कारागारभित्र बेग्लै सुविधा

बाबाजीले जेलभित्रै सिकाए मन र बासना नियन्त्रण गर्ने योग विद्या

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते १०:०१
सिद्धबाबा भनिने कृष्णबहादुर गिरी । फाइल फोटो

२१ जेठ, बिराटनगर । आफ्नै अनुयायीमाथि जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा कृष्णदास भनिने विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरीको बसोबास अहिले बराहक्षेत्रको साटो क्षेत्रीय कारागार झुम्कामा छ । तर, उनको कारागार बसाइ अन्य कैदीबन्दीको भन्दा विशिष्ट छ ।

गत फागुन २० देखि झुम्का कारागारमा रहेका सिद्धबाबालाई कारागार प्रसासनले सामान्य कैदी बन्दी भन्दा छुट्टै सुविधा दिएको छ । कारागारमा एक हजार ६ सय कैदी बन्दी छन् । तीमध्ये सिद्धबाबालाई बस्नका लागि छुट्टै कोठा दिइएको छ । खाना पकाउनका लागि इन्डक्सन चुल्हो कारागार प्रशासनले नै व्यवस्था गरेको छ ।

कृष्णदास बसेको कोठामा यसअघि आफैँलाई गोली हानेको आरोपमा पक्राउ परेका आचार्य श्रीनिवास बसेका थिए । २०७४ चैत २५ गते आफैंलाई गोली हानेको आरोपमा पक्राउ परेका श्रीनिवास करिब तीन महिना मुद्दाको पुर्पक्षका लागि झुम्का कारागारमा बसेका थिए ।

धर्मगुरु कृष्णदास आफैँ खाना पकाएर खाने स्वयंपाक्य भएकाले बेग्लै व्यवस्था गरिएको कारागार प्रशासनले बताएको छ । झुम्काका जेलर अनिल खनालका अनुसार पहिलेदेखि नै खाली रहेकाले छुट्टै कोठा प्रयोग गर्न दिइएको हो ।

महिला अनुयायीले बलात्कार आरोपमा जाहेरी दिएपछि हिरासतको अवधि बिराट नर्सिङहोमको भीआईपी रुममा बिताएका गिरीलाई १४ पुस २०७६ मा जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा मुद्दाको पुर्पक्ष गर्ने गरी छाड्ने आदेश दिएको थियो । विवादास्पद आदेश भएपछि उप्रेतीको सरुवा भएको थियो ।

जिल्लाको आदेशलाई उल्टाउँदै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले ९ माघमा थुनामै राखेर पुर्पक्ष गर्न र अस्पताल बस्नुपर्ने अवस्थामा तीनजना चिकित्सकको समितिले सिफारिस गर्नुपर्ने आदेश दिएको थियो ।

तर, उच्च अदालतमा मुद्दा सुनुवाइ भइरहेका बेला गिरी विराटनगरको रानी हुँदै भारत गएका थिए । नाकामा बडीगार्डलाई छाडेर भारत प्रवेश गरेका गिरी २० फागुन २०७६ मा सुनसरी अदालतमा हाजिर भएर झुम्का कारागार चलान भएका हुन् ।

बाबाजीको आश्रममा कोरोना संक्रमितको उपचार

गिरीको सुनसरीको वराहक्षेत्र नगरपालिका–२ चतराधाममा जगतगुरु रामानन्दाचार्य सेवापीठ छ । सो पीठको भवनलाई प्रदेश नं १ सरकारले कोभिड १९ उपचार केन्द्र स्थापना गराउने निर्णय गरेको छ । आश्रममा संक्रमितको आयुर्वेद पद्दतिबाट उपचार गरिने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

यसैवीच झुम्का जेलर खनालका अनुसार गिरीले कारागारभित्रै १० दिनको योग शिविर चलाएका थिए । बलात्कार आरोपी गिरीले चलाएको शिविरमा कैदी बन्दीहरु सहभागी थिए । त्यहाँ उनले आफ्नो मन र बासनालाई कसरी नियन्त्रणमा राख्ने भन्ने योग साधना सिकाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?