Comments Add Comment

रुसले इन्फ्लुएन्जाको औषधि कोरोना उपचारमा प्रयोग गर्ने

२१ जेठ, काठमाडौं । रुसले जुन महिनादेखि नै इन्फ्लुएन्जाको औषधि एभिफाभिरलाई कोभिड–१९ का बिरामीको उपचारका लागि प्रयोग गर्ने भएको छ ।

रुसले कोभिड–१९ को उपचारको लागि पहिलोपटक कुनै औषधि प्रयोग गर्न स्वीकृति दिएको हो ।

आगामी सातादेखि रुसमा यो औषधि बिरामीहरुलाई दिन शुरु गरिनेछ । यो औषधिले अहिले रुसको स्वास्थ्य सेवा प्रणालीमा देखिएको दबाब कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

जुन ११ देखि यो औषधि बिरामीहरुलाई दिन शुरु गरिने रुसको सार्वभौम सम्पत्ति कोषका प्रमुखले बताएका छन् । उनले एक महिनामा औषधि निर्माता कम्पनीले ६० हजार मानिसको उपचारका लागि पुग्ने औषधि निर्माण गर्ने विश्वास व्यक्त गरेका छन् ।

अहिलेसम्म कोभिड–१९ को लागि कुनै औषधि वा खोप पत्ता लागेको छैन । अहिले यसको खोप निर्माणको लागि पनि निकै तीव्र गतिमा काम भइरहेको छ । अन्य केही औषधिको प्रयोग पनि कोभिड–१९ को उपचारको लागि भइरहेको छ ।

अमेरिकी औषधि निर्माता गिलेडले निर्माण गरेको रेमडेसिभिरको पनि प्रयोग कोभिड–१९ को उपचारको लागि प्रयोग भइरहेको छ । रुसले अहिले अनुमति दिएको एभिफभिरलाई सन् १९९० को दशकमा पहिलोपटक निर्माण गरिएको थियो ।

रुसी अधिकारीले दिएको जानकारी अनुसार स्वीकृति दिनुभन्दा अघि ३३० जना मानिसमा गरिएको परीक्षणमा यो औषधि प्रभावकारी रहेको पाइएको थियो । यो औषधि लिएका अधिकांश संक्रमित चार दिनमै निको भएर घर फर्किएका थिए ।

थोरै मानिसमा गरिएको परीक्षण सफल भए पनि धेरै मानिसहरुको लागि यसले कस्तो असर पार्छ भन्ने आगामी दिनमा देखिनेछ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment