+
+
Shares

विश्व बैङ्कद्वारा नेपाललाई १२ अर्ब ऋण सहयोग स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते १२:५१

२१ जेठ, काठमाडौं । विश्व बैङ्कले नेपालका लागि १० करोड अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) ऋण सहायता स्वीकृत गरेको छ। कोभिड १९ को प्रभाव न्यूनीकरण तथा विद्युतीय क्षेत्रको सुधारमा यो रकम खर्च गरिने भएको छ।

विश्व बैङ्कले बुधबार दिएको जानकारीअनुसार बुधबार नेपालले पाउने ऋण सहायता स्वीकृत भएको हो। बैङ्कको कार्यकारी निर्देशक बोर्डको बैठकबाट ऋण सहायता स्वीकृत भएको विश्व बैङ्कले उल्लेख गरेको छ। यो रकम डेभलपमेन्ट पोलिसी क्रेडिट (डीपीसी) अन्तर्गत प्राप्त भएको हो ।

खासगरी नेपाल विद्युत प्राधिकरणको वित्तीय क्षमता अभिवृद्धिमा विश्व बैङ्कले लगानी गर्ने भएको छ । विद्युत् क्षेत्रमा थप आर्थिक सम्भाव्यताको खोजी गर्न गर्नुपर्ने नीतिगत, नियमन र संस्थागत सुधारमा विश्व बैङ्कको सहायता उपयोग हुने बैङ्कले जनाएको छ ।

प्राधिकरणको पुर्नसंरचना गरी संघीयताअनुसार बलियो संस्थामा रुपान्तरण गर्न र त्यहाँबाट विद्युत क्षेत्रको अधिकतम सम्भावनाको खोजी गर्ने समेत बैङ्कले उल्लेख गरेको छ ।

विश्व बैङ्कका कन्ट्रीम्यानेजर फरिस हदद जर्भोसले संकट अगाडि र पछाडिसमेत निरन्तर लाभ प्राप्त गर्न विद्युत् क्षेत्रमा सुधारको आवश्यकता रहेको भन्दै यसले लगानीका प्राथमिकता निश्चित गर्न समेत सहयोग पुग्ने बताए।

भरपर्दो किफायती र दीगोले विद्युतीकरणसम्बन्धी नेपाल सरकारको प्रतिबद्धतालाई विश्व बैङ्कले सहयोग गरेको उनले बताए । यो नेपालको गरिबी निवारण र समृद्धितर्फको यात्रामा समेत सहयोगी हुने उनको विश्वास छ।

पछिल्ला दिनमा नेपालले विद्युत उत्पादन र गुणस्तर सुधारमा ठूलो फड्को मारेको छ। नेपालको ८८ प्रतिशत जनसंख्याको पहुँचमा विद्युत् सेवा पुगिसकेको छ ।

प्राधिकरणको प्रभावकारी व्यवस्थापन र सरकारको साथले पछिल्लो समय प्राधिकरणको घाटासमेत परिपूर्ति हुने नेपालको विद्युत् क्षेत्रको ठूलो फड्को भएको विश्व बैङ्कले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?