Comments Add Comment

काठमाडौंमै उत्पादित तरकारीले बजार पाएन, बारीमै सड्ने चिन्ता

२१ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाभित्रै किसानले उत्पादन गरेको तरकारी बिक्री नहुँदा बारीमै सड्ने स्थितिमा पुगेको छ ।

कतिपय जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले तरकारी ढुवानीमा समेत रोक लगाउँदा काठमाडौंमै उत्पादन भएको तरकारी बिक्री नभएको हो ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका दहचोकमा करिब तीन हजार रोपनी क्षेत्रफलमा किसानले उत्पादन गरेको तरकारीले बजार पाएको छैन ।

सामूहिक खेती गर्ने समूहमध्येका आरम्भ एग्रो प्रालिका प्रमुख अरविन्द सुवेदीले तीन दिनअघि पोखरा पठाइएको तरकारीको गाडी त्यसै फर्किएको बताए । ‘त्यसपछि हामीले उपत्यकाबाहिर तरकारी पठाउन सकेका छैनौं’ सुवेदीले अनलाइनखबरसँग भने ।

उनीहरुले उत्पादन गरेको ७० देखि ८० टन तरकारी केही चन्द्रागिरि नगरपालिका क्षेत्रमा र केही काठमाडौं उपत्यकाबाहिर बिक्री गर्ने गरेका छन् । सामान्य अवस्थामा यहाँको तरकारी काठमाडौंकै कालीमाटी र बल्खु बजार, उपत्यकाबाहिर महोत्तरीको बर्दिवाससम्म तरकारी बिक्री गर्ने गरिएको थियो ।

त्यस्तै,  हेटौंडा, पर्वत, बागलुङ, बुटवल र भैहवासम्म पनि तरकारी बिक्री हुन्थ्यो । तर अहिले तरकारी र गोलभेँडा बोकेको गाडीलाई एक जिल्लाबाट अर्को जिल्ला जान कडाइ गरेपछि उत्पादित तरकारी बिक्रीमा समस्या भएको हो ।

बेमौसमी तरकारी उत्पादन गर्न लागत बढी पर्ने भए पनि मुलुकभरि बेमौसममा खपत हुने कुल तरकारीमा ठूलो हिस्सा आफूहरूको रहेको सुवेदी बताउँछन् । तर अहिले किसानहरूलाई सहजीकरण गर्नुपर्नेमा सरकारले झनै ढुवानीमा कडाइ गरेर समस्या सिर्जना गराएको उनको आरोप छ ।

सुवेदी बेमौसममा गोलभेडा प्रतिकेजी ३० रुपैयाँभन्दा कममा बेचेर फाइदा गर्न नसकिने भए पनि अहिले कममा बेच्नुपरेको बताउँछन् । अब केहीदिन लकडाउन लम्बिने हो भने बारीमा नै तरकारी कुहिने अवस्था रहेको उनी बताउँछन् ।

यहाँका किसानहरूले उत्पादन गरेको तरकारी होलसेलमा किनेर बजारसम्म पुर्‍याउनका लागि ७/८ जनाको समूहलाई जिम्मा दिइएको छ । उनीहरूले नै आफ्नो सम्पर्क सूत्रबाट विभिन्न ठाउँमा तरकारी बिक्री गर्ने गरेका छन् ।

सुवेदी भन्छन्  ‘अरूलाई जस्तो हामीलाई बिचौलियाहरूको समस्या छैन । हामीले बिक्रीको लागि आफैँ सम्पर्क सूत्र बनाएका छौं । तर, अहिले लकडाउनका कारण ढुवानीमा समस्या भएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment