Comments Add Comment

पोखराका व्यवसायीको चेतावनी : लकडाउन खुकुलो गर, नत्र अवज्ञा गर्छौं

२१ जेठ, पोखरा । पोखरा उद्योग वाणिज्य संघले लकडाउन खुकुलो गरी व्यापार, व्यवसाय सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।

लकडाउनका कारण आर्थिक गतिविधि ठप्प हुँदा व्यवसाय नै बन्द गर्नुपर्ने स्थिति आएकाले लकडाउन खुकुलो पार्न माग गरेको हो ।

पोखरा उद्योग वाणिज्य संघले बुधबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दामु अधिकारीले भने, ‘कोरोनाको कारण धेरै मान्छे मरेका छैनन् । अब हामीले लकडाउन खुकुलो गरेर आर्थिक गतिविधि सञ्चालन गर्नुपर्छ ।’

अधिकारीले लकडाउन खुकुलो नभए आफूहरु अवज्ञा गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् । ‘एकतिर कर, ऋणको मार छ । अर्कातिर उद्योग, व्यवसायमा आश्रित श्रमिक वर्गको आयित्व पनि हामीसँग छ । अब पनि लकडाउन खुकुलो नभए हामी अवज्ञा गर्न बाध्य हुनेछौं,’ उनले भने ।

लकडाउन लम्बिँदै गर्दा व्यापार व्यवसायीमात्रै नभई मजदुर वर्गको पनि जीवनयापनमा कठिनाइ भएकाले लकडाउन खुकुलो हुनुपर्ने अधिकारीको तर्क छ । ‘दूर्दिन पाखा लगाऔं र सुदिन आएपछि तिरौंला भनेर ऋण माग्यौं, पुनर्कर्जाको माग पनि गर्‍यौं ।

हाम्रा मागहरु सुनिएजस्तो व्यवहारमा कार्यान्वयन भएनन्,’ उनले भने, ‘कारोना कहिलेसम्म रहन्छ ? लकडाउन कहिलेसम्म लागु हुन्छ ? भन्ने अनिश्चिततामा निजी क्षेत्र झन् प्रताडित बन्यौं । अब लकडाउन खुकुलो हुनुपर्छ ।’

लकडाउन साधनमात्रै भएको तर, साध्य नभएको प्रमाणित भइसकेको अधिकारीले सुनाए । ‘अब हामी हरेक प्रकारका व्यापार व्यवसाय खुल्ला गर्छौं । त्यसका लागि अपनाउनुपर्ने सम्पूर्ण सुरक्षाविधि अपनाउँछौं,’ उनले भने । सम्पूर्ण व्यापार व्यवसाय खुल्ला गर्न गण्डकी प्रदेश सरकारमार्फत संघीय सरकारसँग अनुरोध पनि गरिसकेको उनले जानकारी दिए ।

‘समय तालिका मिलाएर व्यवसाय खोल्नुपर्ने पक्षमा छौं । सरकारले समय तालिका तोकिदिए त्यहीअनुसार चल्छौं । नत्र लकडाउन अवज्ञा गर्न बाध्य नपारियोस्,’ उनले चेतावनी दिए, ‘लकडाउन अवज्ञा गर्दा भइभपरी आउने समस्याबारे पनि हामी जिम्मेवारी हुने छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment