Comments Add Comment

रुकुम घटनामा ११ दिनपछि बोल्यो नेकपा

दोषीलाई कारवाही र पीडित परिवारलाई राहत दिन माग

२१ जेठ, काठमाडौं । रुकुममा अन्तरजातीय प्रेम सम्बन्धको विवादमा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ११ दिनपछि आफ्नो धारणा सार्वजनिक गरेको छ ।

घटनाको विरोधमा पार्टीकै नेता र सांसदहरुले निन्दा गर्ने र कार्यकर्ता तथा भातृ संगठनहरुले सडक प्रदर्शन नै गरिरहे पनि नेकपाले संस्थागत रुपमा बोलेको थिएन ।

बुधबार नेकपा महासचिव बिष्णु पौडेलले विज्ञप्ति जारी गरी रुकुम घटनाको निन्दा गर्दै घटनाको निष्पक्ष छानविन, दोषीमाथि कडा कारवाही र पीडितलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेकपाको एकल बर्चश्व रहेको रुकुमको चौरजहारी नगरपालिकामा भएको सो हत्याकाण्डमा नेकपाबाटै निर्वाचित वडाध्यक्षसहित केही व्यक्ति विरुद्ध किटानी जाहेरी परेको छ ।

महासचिव पौडेलले जारी गरेको विज्ञप्तिमा रुकुम पश्चिममा भएको घटनाले पार्टीलाई गम्भीर र चिन्तित तुल्याएको उल्लेख छ । ‘उक्त बिभत्स, त्रासदीपूर्ण र आपराधिक कुकृत्यको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘संवैधानिक र कानुनी हिसाबले यति अग्रगामी परिवर्तन र उपलब्धिहरू हुँदाहुँदै पनि व्यवहारमा अझै पनि दलित समुदायमाथि विभेद र हिंसाका घटना देखापर्नु गम्भीर चिन्ताको विषय हो । यसले हामीलाई राजनीतिक रूपमा प्राप्त उपलब्धिहरूलाई हेरेर सन्तुष्ट नहुन र सामाजिक–सांस्कृतिक रूपान्तरणका लागि गम्भीर, सार्थक र योजनाबद्ध प्रयास गर्न घचघच्याइरहेको छ ।’

महासचिव पौडेलले उत्पीडित दलित समुदायमाथि हुँदै आएको छुवाछुतको कुप्रथालाई जरैदेखि उन्मूलन गर्ने अभियानमा सामेल हुन सबैमा आह्वान गरेका छन् । उनले छुवाछुतको जस्तो अपराधमा संलग्न हुने कुनै पनि व्यक्ति पार्टीमा रहन नसक्ने नेकपाले आचारसंहिता जारी गरिसकेको जनाउँदैे कुप्रथा अन्त्यका लागि सामूहिक अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment