Comments Add Comment

कोरोनापछिको नेपाल : आत्मनिर्भर कसरी बनाउने ?

विश्व यतिबेला कोभिड २०१९ को संक्रमणबाट प्रभावित भएको छ । सन् २०१९ को अन्तिम साता चीनको वुहान सहरबाट फैलिएको यो रोगलाई संयुक्त राष्ट्र संघ स्थापनापछिको गम्भीर संकटरुपमा लिएको छ । जुन तथ्यलाई यसका बारेमा भइरहेका विभिन्न अध्ययन अनुसन्धानले पनि प्रमाणित गरिरहेका छन् ।

कोरोनाका कारणले विश्व अर्थतन्त्रमा निकै नै नकारात्मक असर परेको छ भने शक्तिशाली अर्थतन्त्र भएका देशहरू चीन, अमेरिका, जापान, इटाली, फ्रान्स, बेलायतजस्ता मुलुकको अर्थतन्त्रमा निकै नकारात्मक प्रभाव परिरहेको कुरा ती देशको बाह्य तथा आन्तरिक व्यापार पूर्णरुपमा असफल भएका घटनाले प्रमाणित गरिरहेका छन् ।

यसैगरी कोभिड २०१९ को प्रभाव विकासोन्मुख देशहरुमा समेत तीव्र गतिमा परिरहेको छ। यसर्थ यसको प्रभाव विकसित तथा विकासोन्मुख दुवै अर्थतन्त्रमा परिरहेको छ । कोभिड २०१९ को कारणले विश्व अर्थतन्त्र दुई दशक पछाडि धकेलिएको कुरालाई विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले बताइरहेका छन् ।

कोरोना भाइरसको कारणले विकसित र विकासोन्मख देशबीचको आर्थिक खाडल अझ बढी तीव्र गतिमा बढ्ने पूर्वानुमान गरिएको छ। भने विकासोन्मुख देशको आयात तथा नियार्तको अवस्था विकराल परिस्थितिबाट गुज्रिएको छ।

विश्व अर्थतन्त्रमा एक करेाडभन्दा बढी मानिसले अल्पकालीन रुपमा आफ्नो दैनिक रोजगारी गुमाएका छन्। विश्व प्रसिद्ध अन्तराष्ट्रिय उद्योगहरूले आफ्नो उत्पादन क्षमतामा भारी मात्रामा कटौती गरिरहेका छन् । यसैगरी हरेक विकसित र विकासोन्मुख देशले आफ्नो विकास खर्चको रकमलाई रकमान्तर गरी कोभिड २०१९ बाट बच्ने उपायको खोजी गरिरहेका छन् । यस लेखमा यस महामारीले अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा यस लेखमा विश्लेषण गर्ने प्रयास गरिएको छ । जसमा विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको प्रतिवेदनलाई आधार मानिएको छ ।

कोभिड १९ ले अर्थतन्त्रमा निकै नकारात्मक प्रभाव परेको जानकारी हामी सबैलाई छ । विशेषगरी यो महामारी विकसित तथा कम विकसित अर्थतन्त्रमा समान किसिमको प्रभाव परेको छ । विशेषगरी नेपाली अर्थतन्त्रलाई कसरी आत्मनिभर गराउन सकिन्छ भन्ने विषयमा आज छलफल गर्दैछौं । यस महामारीले गर्दा विश्वले पहिलो र दोस्रो विश्वयुद्धमा तथा सन् १९३० को महामन्दीमा भन्दा धेरै आर्थिक क्षति ब्यहोर्नु परेको छ । यसको सकारात्मक प्रभाव पर्यावरणीय क्षेत्रमा परेको छ ।

विश्व अर्थतन्त्रको आकार कस्तो प्रकारको रहन्छ भनेर व्याख्या गर्दा अँग्रेजी अक्षरहरू U,V,Wको प्रयोग गरिन्छ । नेपालको सन्दर्भमा कस्तो आकार होला भन्ने सबालमा अक्षर ‘W’ अनुसारको अवस्था बन्नेगर्छ‍। किनकि यो आकारको हुनेछ भन्ने सवालमा, हाम्रो अर्थतन्त्रले २०७२ सालको भूकम्पको असरलाई केही हदसम्म निराकरण गरी भर्खरै मात्रै उकालो लागेको अवस्थामा पुन: विश्वव्यापी महामारीका कारणले आर्थिक वृद्धिको दर फेरि लगातार घटिरहेको, छ जुन अबको ५/७ वर्षपछि मात्रै पुनरुत्थान हुन सक्ने भएकाले हाम्रो अर्थतन्त्रको आकार ‘W’ अक्षरजस्तो हुनेछ भनिएको हो ।

नेपाली अर्थतन्त्र मिश्रित अर्थव्यवस्था भएको यसमा कोभिड १९ को प्रभाव पनि सोही प्रवृत्तिका देखिन्छन् । हाम्रो अर्थतन्त्रको आकार ५० खर्बको छ यसले कोभिड १९ ले पार्ने प्रभावलाई मात्र नियन्त्रण गर्न सक्ने तर अन्य गतिविधि सञ्चालन गर्न नसक्ने भएकाले हाम्रो समृद्धीको यात्रा रोकिने छ । तलको चार्टमा कोभिड १९ को प्रभाव राखिएको छ :

माथि उल्लेख गरिएका कुराहरूले यो महामारीको असर तथा प्रभाव नेपाली अर्थतन्त्रमा के-कस्तो रुपमा देखा पर्छ भन्नेमा केन्द्रित छ। नेपालले वर्तमान समयमा दैनिक २ अर्ब रुपैयाँको क्षति व्यहोरिरहेको नेपाल राष्ट्र बैङ्कले नै बताइसकेको अवस्था छ । यस्तो समयमा नेपाली अर्थतन्त्रलाई कसरी आत्मनिर्भर कसरी बनाउन सकिन्छ ? यस प्रश्नको जवाफ सरल छ- सकिन्छ । किनकि समस्याले नै समाधानको अनेक मार्ग बोकेर आएको हुन्छ ।

कोभिड १९ ले नेपाली अर्थतन्त्रलाई प्रशस्त सम्भावनाका क्षेत्रहरूका बारेमा अतिमहत्वपूर्ण पाठ सिकाएको छ । पछिल्लो समयमा नेपाली अर्थतन्त्रमा कोरोनिक समस्याका रुपमा बढ्दै गएको उपभोक्तावादी संस्कारलाई यसले दह्रो  झापड प्रहार गर्दै आन्तरिक अर्थतन्त्रलाई मजबुत बनाए मात्र देशमा आर्थिक समृद्धि आउँछ र त्यो नै दीर्घकालीन बन्छ भनेको कुरालाई मध्यनजर गर्दै कसरी नेपाली अर्थतन्त्रलाई कोभिड १९ पछि आत्मनिर्भर बनाउन सकिन्छ, जसका आधारहरू के-के हुन् ? यस विषयमा छलफल गरौं –

नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने आधारहरू

१ कृषिको व्यवसायीकरण : नेपालको विश्व आर्थिक जगतमा आफूलाई कृषि प्रधान मुलुकका रुपमा उभ्याएको छ । जसको आर्थिक विकासको प्रमुख स्रोत नै कृषि प्रणाली हो । कृषि क्षेत्रको विकास, विस्तार, व्यवसायीकरणविना नेपाली अर्थतन्त्रले तीव्र गतिको आर्थिक वृद्धि तथा विकास प्राप्त गर्न नसक्ने कुरालाई नेपाली अर्थविद्हरूले स्वीकार गरिसकेको वर्तमान समयमा कुल जनसंख्याको ६५ प्रतिशतभन्दा बढी जनता प्रत्यक्षरुपमा कृषि पेशामा संग्लन रहेको तथा कुल गार्हस्थ्य उत्पादनमा ३३.१ प्रतिशत योगदान पुर्‍याउने समेत प्रमाणित गरिसकेको छ ।

नेपाली जनजीवनको मुख्य आय स्रोत कृषि नै भएकाले कृषिको विकासविना कोरोनापछिको नेपालीहरूको जीवनस्तर उठाउन सकिँदैन भन्ने तथ्य स्पष्ट नै छ। कृषिको विकासबाट मात्र स्वदेशभित्र बचत र विनियोग बढी हुन सक्ने अवस्थाको सिर्जना भई औद्योगिक विकासको समेत आधार कायम हुने भएकाले कोरोनाबाट प्रभावित भएको अर्थतन्त्रलाई पुनर्जीवन दिनका लागि नेपालमा कृषि विकासलाई बढी प्राथमिकता प्रदान गरिनुपर्छ ।

वि.सं‌. २०१३ बाट नेपालमा योजनाबद्ध कार्यक्रमको सुरुवात गरिएसँगै कृषिको विकासको लागि विभिन्न प्रकारका कार्यक्रमहरू अगाडि बढाउँदै लगिएको पाइन्छ । जसका कारणले २०३७ तथा २०४२ मा नेपालमा देखिएको खाद्य संकट सजिलै समाधान गर्न सकिएको तथ्यलाई भुल्नुहुँदैन । वि.सं. २०१३ सालभन्दा कृषिको विकास तथा विस्तारका एवं सिँचाइ सुविधाका लागि चन्द्रनहर र जुद्धनहरको स्थापना गरिएको थियो ।

नेपालको कुल भू-भागको १८ प्रतिशत जमिनमात्र खाद्यान्न उत्पादनका लागि उपयुक्त रहेको वर्तमान समयमा वैदेशिक रोजगारीप्रतिको बढ्दो मोहका कारण करिब ३ प्रतिशत खेतीयोग्य जमीन बाँझो छ । आगामी दिनमा विगतका गल्ती र सकारात्मक कामबाट पाठ सिकेर सरकार, सहकारिता तथा निजी क्षेत्रले एकल तथा सामूहिक आधुनिक खेती प्रणालीमा लगानी गर्नुको विकल्प छैन ।

यसो गर्न सकेमा नेपाली अर्थतन्त्र सजिलै आत्मनिर्भर बन्न सक्छ । कोरोनापछिको अर्थतन्त्रलाई सरल र सहज तरिकाले आत्मनिर्भर बनाउने माध्यम भनेको कृषि क्षेत्र हो, जसका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारको विकासमा राज्य जिम्मेवार ढंगले प्रस्तुत हुनु आवश्यक छ । हामीले अब परम्परागत कृषि प्रणलीमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै यसका लागि आवश्यक पर्ने दक्ष जनशक्ति अल्पकालीन समयका लागि विदेशबाट भए पनि आयात गर्नुपर्छ ।

२ घरेलु उद्योगको प्रवर्द्धन : नेपाल औद्योगिक नीति २०६७ का अनुसार घरेलु तथा साना उद्योग भन्नाले स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थको प्रयोग गरी परम्परागत कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ स्थापना गरिएका उद्योग बुझिन्छ।

यस प्रकारका उद्योग सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति घरपरिवारबाट नै सहजरुपमा उपलब्ध हुने गर्छन् । कोरोनाका कारण वैदेशिक रोजगारीको अवसर गुमाएर देशमा आउने नागरिकलाई उनीहरूको क्षमताअनुसार घरेलु तथा साना उद्योगको विकास तथा प्रवर्द्धनमा प्रयोग गर्नुपर्छ ।

नेपाली उद्योगको क्षेत्रमा यस्ता उद्योगको उत्पादनका उदाहरणमा गलैँचा, माटो तथा धातुका ढलोट गरिएका सामानहरू, काठ तथा छालाका उत्पादनहरू, स्थानीय कागज, मूर्तिकला आदि । पछिल्लो तथ्यांकअनुसार नेपालमा यस्ता उद्योगहरूको कुल संख्या १९ हजार छ सय ८६ रहेको छ । जसमा ६४ हजार सात सय २५ जना नेपालीहरूले प्रत्यक्ष रोजगारीको अवसर पाइरहेका छन् । यसलाई राज्यको तर्फबाट थप प्रोत्साहन गरिनुपर्छ । यसो गर्न सकिएमा कोभिडका कारणले सिर्जना भएको आन्तरिक बेरोजगारीलाई ५० प्रतिशतले कम गर्न सकिन्छ।

श्रमको उचित मूल्य नपाएर आफ्ना परम्परागत उद्योगमा चाबी लगाएर विदेश पुगेका युवाहरू रोजगारी गुमाएर नेपाल फर्किएको अवसरमा राज्यका तर्फबाट सुरुवाती कर्जा प्रभाव गरेर यो क्षेत्रलाई पुन: जीवन प्रदान गर्न सकिएमा ठूलो संख्यामा रोजगारीका अवसर सिर्जना हुन पुगी देशले आमूल सामाजिक आर्थिक प्रगति गर्नेमा दुईमत छैन ।

३. कर्मचारीको संख्या घटाउने : वर्तमान समय भनेको विज्ञान र प्रविधिको समय भएकाले पनि सरकारले यसको प्रयोगको दरलाई बढाई कर्मचारीको संख्यामा कमी ल्याउनुपर्छ । जसबाट चालु खर्चमा भारी मात्रामा कटौती हुन आउँछ, जसलाई पुँजी निर्माणका क्षेत्रमा प्रयोग गरी देशको विकास गर्न तथा कोभिड १९ बाट थला परेको अर्थतन्त्रलाई पुनर्जीवन दिन सकिन्छ।

सरकारले विकासको गतिलाई तीव्र पार्नका लागि भारी मात्रामा कर्मचारी तथा अनावश्यक कोष, प्रतिष्ठान तथा अन्य थुप्रै क्षेत्रमा दरबन्दीको संख्यालाई प्रविधिको सहायताले विस्थापित गर्नुपर्छ । कोभिड १९ ले अर्थतन्त्रलाई पारेको अल्पकालीन तथा दीर्घकालीन प्रभावलाई कम गर्नका लागि कर्मचारीको संख्या घटाउनु नै सरकारका लागि उपयुक्त राहत प्याकेज हो ।

४ अल्पकालीन तथा दीर्घकालीन कर्जा प्रभाव :  सरकारी, निजी तथा सहकारिताबाट सहुलियतपूर्ण अल्पकालीन तथा दीर्घकालीन ऋण प्रदान गर्न सकिएको अवस्थामा कोभिड १९ का कारणले विदेशमा रोजगारीको अवसर गुमाएर फर्किँदै गरेका १५ लाखभन्दा युवालाई स्थानीयस्तरमा नै रोजगारीका अवसरहरू सिर्जना गर्न सकिने र यसका कारण आन्तरिकरुपमा नै थप आर्थिक गतिविधि सञ्चालन गर्न पनि सकिने हुन्छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा समावेश गरिएको सुरुवाती पुँजी उपलब्धता गराउने काममा वैज्ञानिकता र पारदर्शिता अपनाएको अवस्थामा नेपाली अर्थतन्त्र पाँच वर्षमा आत्मनिर्भर भई कृषिजन्य उत्पादन निर्यात गर्न सफल हुनेछ ।

५ आन्तरिक पर्यटनलाई प्रवर्द्धन : नेपाल प्राकृतिक तथा जैविक विविधताका दृष्टिकोणले भू-स्वर्गका रुपमा चर्चित अर्थात् फेसनको दुनियाँमा विश्वसुन्दरीको चर्चा बाह्य जगतमा सो बराबरकै गतिमा नेपालको जैविक विविधताको चर्चा हुने गरेको विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था तथा एजेन्सीहरूले निकालेको प्रतिवेदनबाट पुष्टि हुन्छ। नेपालको जैविक विविधता विश्वमै एक अनौंठो प्रकृतिको मानिन्छ।

यहाँ विश्वमा लोपोन्मुख सूचीमा दर्ता भएकादेखि अन्यन्त्र कतै नपाइने जीवजन्तु, वनस्पति, पशुपन्छीसमेत पाइने गर्छन् । जैविक विविधताप्रति एकाई क्षेत्रमा रहेका जीवजन्तु, वनस्पति, प्राणी, जीवाणु, वंशाणु र उक्त क्षेत्रको वातावरणीय प्रणाली हो । विश्वको कुल क्षेत्रफलमा नेपालमा नेपालको हिस्सा ०.००३ प्रतिशत रहेको छ जैविक विविधताका हिसाबले नेपालको स्थिति निम्नानुसार छ :

  •  विश्वमा पाइने कुल वनस्पतिहरूको करिब ३ प्रतिशत नेपालमा पाइने,
  •  करिब तीन सय ५० प्रजातिका वनस्पतिहरू नेपालमा मात्र पाइने,
  • नेपालको ९५ प्रतिशत वनस्पतिको नाम मात्र विश्वमा सूचीकृत भएको छ, बाँकी ५ प्रतिशत सूचीकृत हुन बाँकी रहेको अवस्था छ।
  • विश्वमा पाइने १८ हजार १५० जातिका माछामध्ये नेपालमा १८५ जातिका माछा पाइन्छन् । विश्वका करिब ४.५ प्रतिशत चराहरू नेपालमा पाइन्छन् । यी विशेषताहरूलाई प्रयोग गरेर आन्तरिक पर्यटनको आवागमनलाई विस्तार गरी आन्तरिक पर्यटनका माध्यमबाट पनि हामी देशलाई आर्थिकरुपमा सक्षम बनाउन सक्छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment