Comments Add Comment

भीआईपी जुवाडेमाथिको अनुसन्धान प्रहरीले तीन दिनमै सक्यो

२२ जेठ, काठमाडौं । सोमबार साँझ कमलादीस्थित होटल गगौंरबाट पक्राउ परेका जुवाडेमाथिको अनुसन्धान प्रहरीले तीन दिनमै सकेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

तर, पक्राउ गरेदेखि नै छाड्न दबावमा रहेको प्रहरीले तीन दिनमै अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहालको नेतृत्वमा गएको टोलीले रामचन्द्र सांघाई, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये जोगाइ होटलका सञ्चालक हुन् । अन्य सबै मुलुकका प्रतिष्ठित व्यपारिक घरानाका व्यक्ति हुन् ।

प्रहरीले कोरोना भाइरसको कारण देखाउँदै मंगलबारै उनीहरुलाई हाजिरी जमानीमा छाड्न खोजेको थियो । कानूनतः अनुसन्धान अधिकृतले मनासिब लागे जिल्ला सरकारी वकिल कार्यालयको राय लिएर अभियुक्तलाई हाजिरी जमानीमा छाड्न मिल्ने व्यवस्था छ ।

तर, सरकारी वकिलले नमानेपछि प्रहरीले उनीहरुलाई हिरासतमै राखेको थियो । उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो भने जुवा खेल्न प्रयोग भएको एक सय ७९ वटा सिक्का पनि बरामद भएको थियो ।

तीन महिना कैद गर्न माग

प्रहरीले बुझाएको प्रतिवेदनमा ८ जनालाई नै तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना गराउन माग गरिएको छ । मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसूरमा पहिलो पटक जुवा खेल्ने व्यक्तिलाई यो कारबाहीको व्यवस्था गरिएको छ ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार प्रहरी प्रधान कार्यालयमा रहेको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) मा उनीहरु यसअघि जुवा सम्बन्धी कसूरमा कारबाहीमा नपरेको देखिएकाले यो दफा प्रयोग गरिएको हो ।

दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ ।

जुवा खेल्नेमात्र नभई अरुले खेलेको ठाउँमा च्याखे थाप्नेहरुलाई पनि जुवा खेलेकै सरह कारबाही हुने कानुनमा उल्लेख गरिएको छ । जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई पनि जुवा खेल्ने सरह नै कारबाहीको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment