Comments Add Comment

सम्झौता अमान्य भन्दै नेपाल मेडिकल कलेजका चिकित्सक आन्दोलनमै

२२ जेठ,  काठमाडौं । नेपाल मेडिकल कलेज (एनएमसी) मा आन्दोलनरत चिकित्सकले स्वास्थ्य मन्त्रालयमा बुधबार राति भएको ५ बुँदे सम्झौता मान्य नहुने बताएका छन् ।

चिकित्सक कुटिएको विषयमा विरोध जनाउँदै आएका नेपाल मेडिकल कलेजमा चिकित्साशास्त्र अध्ययन गरिरहेका उनीहरुले ८ दिन देखि जारी आन्दोलन निरन्तर रहेको जनाएका छन् ।

नेपाल मेडिकल कलेज संघर्ष समितिका संयोजक डा. गुञ्जन खड्काले सो सम्झौतामा एनएमसीका आन्दोलनरत चिकित्सकको सहमति नरहेको बताए । स्वास्थ्य मन्त्रालयमा भएको छलफलबाट आफूहरु बाहिरिसकेपछि सहमति गरिएको भन्दै उनले ५ बुँदे सम्झौताको कुनै पनि बुँदा मान्य नभएको दावी गरे ।

‘उहाँहरुले ल्याएका प्रस्ताव हामीलाई मान्य भएन र हामी ६ बजेतिर बाहिरियौं तर अरु साथीहरुले राति सम्झौंता गर्नुभएको रहेछ’  उनले भने,  ‘त्यो सम्झौताको कुनै पनि बुँदा हाम्रा लागि मान्य छैन । हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहन्छ ।’

आन्दोलनरत चिकित्सकले मेडिकल कलेजको ओपिडी र प्रशासन तर्फको सेवा बन्द गराएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार राति ९ बजे भएको पाँच बुँदे सम्झौतामा आन्दोलनरत चिकित्सकहरुको तर्फबाट भनी रेजिडेन्ट एशोसिएसन अफ केयुबाट डा. तोसीमा कार्की,  रेसिडेन्ट एशोसिएसन आफ न्याम्सको तर्फबाट डा. प्रकाश, नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसन र नेपाल मेडिकल काउन्सिलको तर्फबाट डा. कालुसिंह खत्रीले हस्ताक्षर गरेका छन्‍ ।

स्वास्थ्य मन्त्रालयका तर्फबाट सहसचिव रघुराम विष्टले हस्ताक्षर गरेका थिए । सम्झौताको पाँचौं नम्बर बुँदामा डाक्टरहरुका विभिन्न संस्थाद्वारा संयुक्त रुपमा गरिएको आन्दोलन हाललाई स्थगित गर्ने भन्ने उल्लेख छ । तर नेपाल मेडिकल कलेजका चिकित्सकहरुले भने यो सम्झौता अस्वीकार गरेका हुन् ।

गत १४ जेठमा काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा विरामीका आफन्तले ड्युटीमा रहेका चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार गरेपछि चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment