Comments Add Comment

कोरोना रोकथामका लागि जुम्लामा युवा परिचालन

२३ जेठ, जुम्ला । कोरोना भाइरसको त्रास बढ्दै गएपछि यसको रोकथाम र निन्त्रण गर्नका लागि जुम्लामा स्वयंसेवक युवा परिचालन भएका छन् । कोरोना सङ्क्रमित क्षेत्र विशेषगरी भारतबाट आएका नागरिक जथाभावी गाउँभित्र बस्न थालेपछि उनीहरुलाई क्वारेन्टिनसम्म लैजानका युवा परिचालन भएका हुन् ।

बाहिरबाट को नागरिक आएर उनीहरु कहाँबाट आएका हुन् र क्वारेन्टिनमा बस्ने के गर्दै गरिरहेको भन्ने निगरानी गर्नका लागि पनि युवा दर्ता परिचालन गरिएको चन्दननाथ नगरपालिका-६ का वडाध्यक्ष अजबहादुर रावलले बताए । उनले भने, ‘लकडाउनको समयमा पनि जथाभावी मानिस भेला हुने, पसल खोल्ने गरेकाले जनसेवा युवा क्लबका युवा परिचालन गरिएको हो । बाहिरबाट आएका मानिस सोझै आफ्नो घर जाने गर्ने गरेकाले यसको रोकथाम तथा नियन्त्रण गर्नका लागि पनि युवा प्रयोग गरिएको हो ।’

त्यसैगरी चन्दननाथ नगरपालिका-२ ले पनि स्वयंसेवक परिचालन गरेको छ । आफ्नो वडाको सीमा क्षेत्रका विभिन्न नाकामा स्वयंसेवक परिचालन गरेको वडाध्यक्ष धनरासी भण्डारीले जानकारी दिए । वडाको दक्षिणको कालेखोली, पूर्व धाइफाला र उत्तरको भण्डारीबाडालगायत नाकामा स्वयंसेवक परिचालन गरी कडाइ गरिएको हो ।

प्रत्येक नाकामा दुई/दुई स्वयंसेवक परिचालन गरिएको वडा कार्यालयले जनाएको छ । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ नियन्त्रण गर्न सीमा क्षेत्रमा कडाइ गर्ने भएको वडाध्यक्ष धनरासी भण्डारीको भनाइ छ ।

सीमाबाट अत्यावश्यक काममा मात्र आउजाउ गर्न दिइनेछ । अत्यावश्यक काम परे वडा कार्यालयमा जानकारी गराउनुपर्ने वा सम्बन्धित वडा कार्यालयको सिफारिस लिनुपर्ने पनि व्यवस्था गरिएको छ । नगरभित्रका अन्य वडाका नागरिक पनि आउन नपाइने र अन्य वडामा पनि जान रोक लगाइएको छ ।

हिमा गाउँपालिका-३ का स्थानीय युवाले जोगीबाडा गाउँ प्रवेशमा रोक लगाएका छन् । १९ वैशाखदेखि स्थानीयवासीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि जोखिम बढेको भन्दै उनीहरुले आफ्नो गाउँ प्रवेशमा रोक लगाएका हुन् । युवाले जोगीवाडा गाउँका सर्वसाधरणलाई अन्य गाउँमा जान नदिने र अन्य गाउँकालाई पनि प्रवेश निषेध गरेका छन् । गाउँघरमा लकडाउनको पूर्ण पालन नगर्ने र आवतजावत धेरै भइरहने भएकाले आफ्नो गाउँलाई सङ्क्रमणबाट जोगाउने भन्दै उनीहरुले चार नाका बन्द गरेका छन् ।

वडाको दक्षिणको साँघु, उत्तरको ताल्छे, पूर्वको तलम र पश्चिमको बोयलढुङ्गाका नाका बन्द गरेको स्थानीय युवा सत्यानारायण योगीले जानकारी दिए । विपद्बाट आफू र गाउँवासीलाई बचाउन वडा सदस्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । प्रवेश गर्ने नाकामा मान्छे राखेको छ । कोही प्रवेश गरेको खण्डमा त्यो व्यक्तिले १५ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको योगीले बताए ।

ती व्यक्तिले क्वारेन्टिनमा बस्दाको खाना खर्च स्वयंले व्यवस्थापन गर्नुपर्ने भनिएको छ । गाउँतिर कामको सिजन सुरु भएकाले पनि विभिन्न बहानामा एक गाउँबाट अर्को गाउँमा आवतजावत गर्नेको सङ्ख्या बढेको भन्दै यस्तो कार्य गरेको त्यहाँका स्थानीयवासीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment