 
																			२३ जेठ, बुटवल । रुकुमको चौरजहारीमा दलित युवक हत्याको विषयमा स्थलगत अध्ययनका लागि गएका दुईजना पत्रकारलाई सल्यानबाट प्रहरीले रोकेकामा राष्ट्रिय दलित पत्रकार संघले विरोध जनाएको छ ।
रुकुम पश्चिममा प्रेमिकासँग विहे गर्न गएका जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएका घटनाको अध्ययनका लागि संघका केन्द्रीय उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइलीको नेतृत्वमा गएको ९ सदस्यीय टोली जाजरकोटतर्फ जाँदै थियो ।
जाजरकोटको सिमाना सल्यानको सल्लीबजार नजिकै बालुवासंग्रही भन्ने ठाउँमा बिहीबार प्रहरीले ‘माथिको आदेश’ भन्दै सोही टोलीमा रहेका संघका केन्द्रीय सदस्य टेकेन्द्र विश्वकर्मा र कर्णाली प्रदेश कमिटी अध्यक्ष खगेन्द्र सुनारलाई रोकेको थियो ।
संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले विज्ञप्ति जारी गरी पत्रकारलाई स्थलगत अध्ययन र समाचार संकलनमा रोक लगाइएको घटनाले स्वतन्त्रपूर्वक हिँड्न पाउने नागरिकको अधिकार कुण्ठित गरेको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको बताएको छ ।
‘रुकुम घटनाको थप सत्यतथ्य बाहिर लयाउने काममा प्रशानसबाट अवरोध हुनुले घटनाको ढाकछोपमा प्रशासन नै सक्रिय भएको हो कि भन्ने आशंका बढाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘गैरकानुनी काम प्रशासनबाटै भएकाले घटना निन्दनीय छ,घटनाको छानबिन र संलग्नलाई कारवाहीको माग गर्दछौं, पत्रकारलाई रोकिएको घटनाको छानबिनको माग गर्दछौं ।’
बिहीबार दिनभर सल्यानमै रोकिएका पत्रकार जाजरकोट जान नपाएपछि सुर्खेत फर्किएका संघका अध्यक्ष पहाडीले जानकारी दिए ।
पत्रकार महासंघको पनि विरोध
घटनाको नेपाल पत्रकार महासंघले पनि विरोध जनाएको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्मा र दैलेख शाखाका सदस्य खगेन्द्र सुनारलाई समाचार संकलनका लागि जाने क्रममा प्रहरीले बाटैमा रोकेर फिर्ता गराइएको भन्दै महासंघले विरोध जनाएको हो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4