+
+

‘माइत गएकी थिएँ, म्यानमारमै थुनिएँ’

म्यान्मार सरकारकै खर्चमा नेपाल फर्कने २६ नेपालीको पूर्ण विवरण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २३ गते १६:०२

२३, काठमाडौं । काँडाघारी, काठमाडौंकी ५३ वर्षीया लक्ष्मी जोशी केही महिनाअघि माइत गएकी थिइन् । उनको माइतीघर म्यानमारको रंगुनमा छ । तर, आमाको न्यास्रो लागेर त्यहाँ पुगेकी उनी लकडाउनका कारण घर फर्कन सकिनन् ।

शुक्रबार म्यानमारबाट काठमाडौं आइपुगेको विमानमा रहेका २५ नेपालीहरुमा लक्ष्मी पनि एक हुन् । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका २६ जना नेपालीहरु शुक्रबार नेपाल आइपुगेका छन् ।

म्यानमारको राजधानी याङ्गुनस्थित नेपाली दूतावासका अनुसार नेपाल सरकारको स्वदेश फर्काउनेसम्बन्धी आदेशबमोजिम म्यानमार सरकारकै खर्चमा २६ नेपालीलाई स्वदेश फर्काइएको हो ।

घर फर्कन पाउँदा आफू ढुक्क भएको लक्ष्मीले अनलाइनखबरलाई सुनाइन् । ‘सबै परिवार नेपालै छन्, आफू तीन महिनादेखि उतै अड्किएँ, मन बेस्सरी पोल्यो’ जोशीले भनिन्, ‘अब पारिवारिक मिलन हुन्छ, मन ढुक्क भएको छ ।’

नेपाल फर्कने समन्वयका लागि म्यानमारमा रहेको नेपाली दूतावासले राम्रो सहयोग गरेको लक्ष्मीले बताइन् । फर्कँदा खाना र अन्य सुविधामा म्यानमार सरकारले पनि निकै राम्रो व्यवस्था गरेको उनको भनाइ छ ।

त्रिभुवन विमानस्थलबाट नेपाली सेनाले बसुन्धराको यती पार्टी प्यालेसमा ल्याएर अहिले स्वास्थ्य परीक्षण गरेको उनले बताइन् ।

को-को फर्किए नेपाल ?

नेपाल फर्कने पहिलो सूचिमा परेकाहरुमा बिहेवारी एवं पारिवारिक पुनर्मिलन लागि म्यानमार आएर लकडाउनमा रोकिएकाहरु समेत छन् ।

त्यसैगरी कामको शिलसिलामा म्यानमारमा नेपालीहरु छन् । भिसा अवधि सकिएका, बौद्ध दर्शन पढ्न गएकाहरु नेपाल फर्केका हुन् ।

म्यानमारमा अन्तरािष्ट्रय गैरसरकारी संस्थामा कार्यरत नेपालीहरुलाई पनि स्वदेश पठाइएको दूताबास स्रोतले अनलाइनखबरलाई बतायो ।

म्यानमारबाट नेपाल फर्किएका २६ जनाको नामावली–

दिलबहादर तामाङ, अमर घिमिरे, हरिबहादुर लिम्बू, राजेन सुब्बा, मनबहादुर खत्री, सीतादेवी खत्री, विक्रम भारती, छत्र रावल, विमल गिरी, लक्ष्मी जोशी, हरिमाया खड्का, कमलादेवी तामाङ, डिल्लीराम पौडेल, कमला पौडेल, सुजित शाक्य बज्राचार्य, सुशिला वाग्ले खनाल, पूजा घिमिरे, सञ्जिव पाण्डे, सुक डोल्मा वाइवा, रुद्रबहादुर गुरुङ, सहिल शर्मा पौडेल (सरदासी), जानकी भण्डारी, भीमबहादुर भण्डारी, प्रशान्तकुमार सिंह, रुपम सिंह र डा. सौरभदेव भट्ट ।

दूतावास भन्छ– छुटेका अरु पनि नेपालीहरु छन्

नेपाल फर्कन चाहने नेपालीहरु अरु पनि रहेको, तर उनीहरु रहेको राज्यबाट अनुमति नपाइएको तथा राजधानीबाट टाढा भएका कारणले छुटेको दूताबासले जनाएको छ ।

दूतावास स्रोतका अनुसार रखाइन स्टेटमा रहेका तर तत्काल ल्याउन नसकेका सहितका अन्यलाई अर्को चरणमा नेपाल पठाइने तयारी थालिसकिएको छ । नेपाल फर्किएका सबैजनाको खर्च म्यानमार सरकारले नै व्यहोरेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?